मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको भित्री भागमा तेल थिग्रिएर बसेको लेदो सफाइ गर्ने क्रममा रबरको टुक्रा अड्किएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)को मोतीहारी डिपोबाट पाइपको भित्री भागको गोलाइबराबरको रबर पम्पिङ गरी पठाएर सफाइ गर्ने क्रममा नेपालतर्फ पर्साको परवानीपुर खण्डमा बिछ्याइएको पाइपलाइनमा आएर रबर अड्किएको हो ।
आयल निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगञ्जका प्रमुख प्रदीप यादवका अनुसार नेपालतर्फ वीरगञ्जबाट २४ किलोमिटर वर परवानीपुर खण्डमा ओछ्याइएको पाइपमा रबरको दुईवटा टुक्रा अड्किएको हो । ‘पाइपमा सधैँभरि डिजेल बसिरहेको हुन्छ । जसकारण पाइपको भित्री भागमा हलुका लेदोजस्तो बस्न पुग्छ । यसलाई सफा गर्न पाइपको भित्री भागको गोलाइबराबरको रबर मोतीहारीबाट पम्पिङ गरी अमलेखगञ्जसम्म पठाइएको थियो,’ यादवले भने, ‘हावाको चापका कारण पाइपको बीचतिर आएपछि रबर टुक्रियो र त्यसमध्ये दुई टुक्रा परवानीपुर खण्डमा ओछ्याइएको पाइपमा अड्किएको छ । अरू रबर भने अमलेखगञ्जमा निस्किसकेको छ ।’
उनका अनुसार प्रत्येक १२–१२ मिटरको पाइप जोडेर मोतीहारीदेखि अमलेखगञ्जसम्म ६९ किलोमिटर लामो पाइपलाइन बिछ्याइएको छ । परवानीपुर खण्डमा दुईवटा पाइपलाई ननरिटनिङ भल्व (एनआरभी)ले जडान गरिएको छ । त्यही भल्वमा आएर सफाइका लागि प्रयोग गरिएको रबरको दुई टुक्रा अड्किएको यादवले बताए । ‘रबरको टुक्रा अड्किए पनि डिजेल आयातमा खासै केही समस्या छैन । निरन्तर ढुवानी भइरहेको छ,’ उनले भने ।
एनआरभी भल्वमा रबरको टुक्रा अड्किएकोबारे मोतीहारी र अमलेखगञ्जको कम्प्युटर सिस्टमबाट पत्ता लागेको थियो । पाइपको सबै विवरण हेर्न मिल्ने गरी पाइपसँगै एउटा सेन्सर जडान भएको छ । त्यस्तै, अलग्गै सानो प्लास्टिकको पाइपमा अप्टिकल फाइबर पनि बिछ्याइएको छ । यसैका आधारमा कम्प्युटरबाट रबरको टुक्रा कहाँ अड्किएको भन्ने पत्ता लगाएको यादवले जानकारी दिए ।
अहिले रबरको टुक्रा निकाल्नका लागि मर्मत सुरु गरिएको यादवले जानकारी दिए । गत बिहीबारबाट सुरु भएको मर्मतको काम २० दिनमा सकिने गरी आइओसी र निगमका प्राविधिकहरू खटिएका छन् । ‘एनआरभी भल्वको दायाँ–बायाँ ६ मिटर पाइप काटेर रबर निकाल्ने गरी मर्मत कार्य अघि बढाइएको छ,’ यादवले भने । उनका अनुसार एनआरभी हाल बायाँ तीन मिटर पर प्वाल पारेर त्यसको माथिबाट अर्को पाइप हाल्ने काम भइरहेको छ । यो काम सकिएपछि एनआरभी भल्वको दायाँ तीन मिटर पर पनि अर्को प्वाल पारेर माथिबाट पाइप हालिनेछ ।
त्यसपछि मुख्य पाइपलाइनबाट तेल बग्न छाडेर प्वाल पारेर माथिबाट हालिएको ६ मिटर लामो पाइप हुँदै डिजेल बग्नेछ । ‘यसरी डाइभर्सन गरिएको पाइपबाट तेल जान थालेपछि एनआरभी भल्वको दायाँ–बायाँको गरी कुल ६ मिटर पाइप काटिनेछ । त्यसपछि भल्वसमेत खोलेर रबर निकाल्ने र पुनः जडान गरिनेछ,’ यादवले भने । एनआरभी भल्वबाट रबर निकालेपछि यसअघि काटिएका पाइप जोड्ने र डाइभर्सनका लागि प्रयोग गरिएको पाइप झिकेर पुरानै प्रणालीबाट तेल पठाइने उनले बताए ।
इन्धन आपूर्ति नरोकी पाइपलाइन काटेर मर्मत गर्ने प्रणाली निगमका लागि नौलो हो । करिब दुई वर्षअघिबाट सुरु भएको पाइप सफाइ गर्ने क्रममा पहिलोपटक रबरको टुक्रा अड्किएपछि आइओसीको प्राविधिक सहयोगमा मर्मत भइरहेको यादवले बताए ।
यसअघि सोही ठाउँमा बिछ्याइएको अप्टिकल फाइबरसमेत सडक मर्मतका क्रममा डोजरले चुँडाइदिएको थियो । त्यसपछि करिब दुई सय मिटर लामो अप्टिकल फाइबर जोडेर पाइपलाइनको सूचना निगम र आइओसीको आइटी प्राविधिककहाँ आदान–प्रदान गर्न योग्य बनाइएको अमलेखगञ्जमा कार्यरत इन्जिनियर प्रमेश थापाले जानकारी दिए । ‘अहिले अप्टिकल फाइबरबाट पाइपलाइनबारे पूर्ण सूचना लिन सकिन्छ,’ थापाले भने । अप्टिकल फाइबरले पाइपलाइनमा कुनै क्षति भए–नभएको, तेल कुन मात्रामा आएको, कहीँ लिकेज भएकोलगायतका विषयमा जानकारी दिने उनले बताए ।