देउवाका अवसर

बुधबार, ३० असार, २०७८
डिजिटल संस्करण

अन्ततः अनेक दाउपेच, षड्यन्त्र र अवरोध पन्छाउँदै कांग्रेस सभापति तथा प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवा पाँचौँपटक देशका प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ४२ महिनाअघि मात्र आफ्नै नेतृत्वमा भएको निर्वाचनमा संयुक्त कम्युनिस्ट गठबन्धनसँग उनको दल नराम्रोसँग पराजित भएको थियो । आफ्नो हातमा आएको बहुमत जनताको समर्थन जोगाउन नसकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रित्वको पतन भएपछि देउवालाई अचानक यो अवसर हात लागेको हो । राजनीतिमा आइरहने अवसर र गुमिरहने मौकाका अनेक मोडमध्येकै एउटा बिरलाकोटी अवसर देउवाले प्राप्त गरेका हुन् । केपी ओली नेतृत्वको सरकारले दल, संसद् र संविधान मिच्दै अघि बढ्दा उत्पन्न प्रतिक्रियाका आधारमा प्रधानमन्त्री बन्न पुगेका देउवा आफैँ यो पदका लागि उत्तम र प्रतीक्षित विकल्प भने थिएनन् । ओलीको सर्वसत्तावादविरुद्ध आमजनताले गरेको प्रतिरोधको प्रतिनिधिका रूपमा देउवाको सत्तारोहण नेपाली राजनीतिको दीर्घरोगको अस्थायी उपचार भने अवश्य हो । 

नसोचेको समयमा आइलागेको अवसरका कारण प्रधानमन्त्री बनेका देउवा नयाँ सुरुवात गर्ने ठाउँमा पुगेका छन् र आजैदेखि उनको परीक्षा सुरु भएको छ

प्रधानमन्त्री बन्दै गरेका देउवा नेपाली राजनीतिका धेरैपटक परीक्षित नेता हुन् । वास्तवमा उनको इतिहास त्यति गर्विलो भने छैन । नेपाली राजनीतिलाई उनको प्रधानमन्त्रित्वले विगतमा अनेक चोटपटक दिएको छ । ०५१ देखि ०५९ सम्म भिन्नभिन्न समयमा दुईपटक प्रधानमन्त्री भएका देउवा संसदीय विकृतिका नायक बनेका थिए भन्ने यथार्थ नेपाली जनताले बिर्सेका छैनन् । उनले कमैया मुक्तिको घोषणा गर्नुबाहेक अन्य सम्झनलायक कुनै खास काम पनि गरेका थिएनन् । संसद्मा भित्र्याइएको विकृति र प्रतिनिधिसभा विघटन गरेर सिर्जना गरेको शून्यताले उनकै समयमा तत्कालीन राजा ज्ञानेन्द्रले संसदीय व्यवस्थामाथि धावा बोलेका थिए । पछिल्लोपटक केपी ओलीको कुशासन र अधिनायकवादी शासनसँग शक्ति साझेदारी गरेर अप्रत्यक्ष रूपमा सत्ताको लाभ लिएको आरोप पनि उनीमाथि नलागेको होइन ।

यी सबै कमजोरीका बाबजुद केपी ओलीले संसद् विघटन गरेर अध्यादेशका भरमा शासन चलाउन र देशलाई निरंकुशतातिर लान गरेको प्रयासका विपक्षमा पछिल्लोपटक आन्दोलनको अग्रभागमा बसेर उनले गरेको प्रयासले उनको राजनीतिक अनुहारमा लागेको दाग केही हदसम्म पखालेको छ । उनी नसोचेको समयमा आइलागेको अवसरका कारण प्रधानमन्त्री बनेका छन् र ताजा सुरुवात गर्ने ठाउँमा पुगेका छन् । विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा उनी ६ महिनाभित्रै नयाँ निर्वाचन गराउने कामचलाउ भूमिकामा पुग्नेछन् । विश्वासको मत प्राप्त गरेको अवस्थामा भने उनले आगामी २० महिना सरकार सञ्चालन गर्नेछन् । उनलाई यही समय आफ्नो विगतको दाग पखालेर निर्वाचनमा जाने मौका छ । 

देउवाबाट आमजनताले कुनै चमत्कारको आशा गरेका छैनन् । बरु उनले कुनै खराब र गलत काम नगरिदिए मात्र पुग्छ भनिरहेका छन् । यहीबीचमा पनि उनले केही आशा जगाउने राष्ट्रि«य महŒवका योजना थालनी गर्न सक्छन् । प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउने गरी नीतिगत र कानुनी व्यवस्था गर्न सक्छन् । संघीयतालाई बलियो बनाउन ओलीले गरेको अवरोध हटाउन सक्छन् । समावेशी र समानुपातिक प्रतिनिधित्वका सिद्धान्तलाई व्यवहारमा लागू गराउन सक्छन् । ओलीले शासकीय क्षेत्रमा थुपारेका फोहोर सफा गर्ने गरी यसअघिका निर्णय र नियुक्ति खारेज गर्न सक्छन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको थालनी गर्न सक्छन् । यस्ता काम गर्न सक्दा मात्रै पनि उनको छवि सुध्रिनेछ । सत्ताबाट बाहिरिँदा कस्तो अनुहार लिएर निस्किने भन्ने उनको रोजाइको विषय हो । उनका कमजोरीमा छुट दिन कोही पनि तयार छैनन्, आजैदेखि उनको परीक्षा सुरु भएको छ । 
 

सुझावित समाचार