विभाजनउन्मुख जसपा

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी विभाजनको औपचारिक तयारीमा लागेको छ । जसपाको जगमा मधेसमा राजनीति गरेका अनेक समूहको गठजोड थियो । त्यसैगरी पहिचानवादी राजनीति गरेको समूह अशोक राई नेतृत्वको संघीय समाजवादी र माओवादीबाट अलग भएर राजनीतिको गन्तव्य पहिल्याउन हिँडेका बाबुराम भट्टराई समूह पनि सामेल थियो । गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी र त्यसका हाँगाबिँगा, मधेस आन्दोलनको अगुवाइ गरेको मधेसी जनअधिकार फोरम र त्यसका हाँगाबिँगा पनि यसमा सामेल छन् । उपेन्द्र यादवको नेतृत्वमा बनेको मधेसी जनअधिकार फोरम एउटा आन्दोलनका रूपमा विकास हुँदै जाँदा यसमा वामपन्थी र गैरवामपन्थी छ्यासमिस भएर सामेल भएका थिए । नेकपाका विभिन्न हाँगाबिँगासँग साइनो जोडिनेहरू र नेपाली कांग्रेससँग विभिन्न समयमा जोडिएर राजनीति गरेकादेखि पञ्चायती व्यवस्थामा अवसर लिएकाहरू पनि मधेसी पहिचानका सन्दर्भमा भएको आन्दोलन र आर्जित शक्तिको आकर्षणले यता जोडिएका थिए । उपेन्द्र यादवको शक्तिको वर्चस्व कमजोर बनाउन यी समूह भित्री र बाहिरी खेलको सिकार बन्दै अनेक उपसमूहमा विभाजित हुने, मिल्ने र फेरि छुट्टिने गर्दै आइरहेका थिए । 

जसपा विभाजनको तयारी जसरी भइरहेको छ, त्यो मधेसी पहिचानको आन्दोलनमा सामेल भिन्न स्वार्थ समूहको एकता र विभाजनको शृंखलाकै एउटा कडी हो

पहिलो संविधानसभामा मधेसको सशक्त उपस्थितिका कारण बनेको फोरम र आन्दोलनलाई बिस्तारै विभाजनले कमजोर बनाउँदै लग्यो । यद्यपि ०७४ मा भएका निर्वाचनमा खासगरी प्रदेश नम्बर २ मा यी समूहको वर्चस्व कायम रह्यो । संघीय संसद् र प्रदेश सभा निर्वाचनमा मुख्यतः दुई समूहका रूपमा उपस्थिति जनाएका उपेन्द्र यादव र महन्थ–महतो समूहको राजनीतिक पृष्ठभूमि, दल सञ्चालनको तरिका, जनमतमा रहेको जातीय आधार र दिल्लीसँगको सम्बन्धजस्ता विषयले यिनीहरू सँगै भएर पनि मिल्न नसक्ने चरित्रका हुन् भन्ने गरिन्छ । बाबुराम भट्टराईको समूह सामेल भएपछि सो अन्तर्संघर्षमा थप जटिलता देखा परेको थियो । एक वर्षअघि दल विभाजनसम्बन्धी अध्यादेशमार्फत मधेसी दललाई विभाजित गर्न प्रधानमन्त्री केपी ओली आफैँ कस्सिएपछि अस्तित्वरक्षाको दबाबमा यी समूह मिलेर जान तयार भएका थिए । तर, त्यो प्रयास लामो समय टिकेन । यतिवेला उपेन्द्र–बाबुराम समूह प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध पाँचदलीय गठबन्धनमा सामेल भएर सडकमा छ भने महन्थ–महतो समूह ओलीसँग सहकार्य गरेर केही दिनका लागि सत्तारुढ पनि भएको थियो । मधेसमा वर्चस्व कायम राख्न र काठमाडौंसँग गठजोड गरेर सत्ताभोग गर्न प्रतिस्पर्धा गरिरहेका जस्ता देखिने यो दलका भिन्न स्वार्थ समूह एकताका लागि भन्दा विभाजनका कारण बढी प्रभावशाली थिए र छन् । अहिले विभाजनको तयारी जसरी भइरहेको छ, त्यो मधेसी पहिचानको आन्दोलनमा सामेल भिन्न स्वार्थ समूहको एकता र विभाजनको शृंखलाकै एउटा कडी मात्र बन्नेछ ।

नेपालमा दलहरूको निर्माण र विनिर्माण प्रक्रिया दलहरूको गठनसँगै सुरु भएको हो । नेपाली कांग्रेसले मात्र अहिलेसम्म अनेक विभाजनका शृंखलाका बाबजुद मूलधारलाई बचाएर ल्याउन सकेको छ । नेकपामा आएका विभाजनका शृंखलालाई एमाले बनेपछि एक हदसम्म कमजोर बनाएको थियो । तर, त्यसमा पनि विभाजनका अनेक तरंगहरू आइरहेका छन् । हालै नेकपाको विभाजन र अहिले एमालेभित्र देखिएको समूहगत अस्तित्व र संघर्षले पनि यो समूह अझै विश्वसनीय ढंगले एकीकृत रहने सम्भावना कमजोर देखाउँछन् । अन्य दलहरू त अझै पनि संस्कार, संस्कृति, विचार, पद्धति र इतिहासले दल नै बनिसकेका जस्ता लाग्दैनन् । दलीय संसदीय पद्धतिका लागि विचार र संगठनको लामो इतिहास भएका दलहरू हुनु आवश्यक हुन्छ । जसपाको विभाजन र एमालेमा देखिएको विग्रहले नेपालको लोकतन्त्रको विकासमा अझै पनि चुनौती रहेकोतिरै संकेत गर्छन् ।

सुझावित समाचार