डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन पहिलोपटक समर्थकका साथ सार्वजनिक भएका छन् । एक बाल समर्थकसँग फोटो खिच्दै एरिक्सनले आफू पूर्ण रूपले फिट भएको र मैदानमा फर्कन आतुर रहेको जनाएका छन् ।
चालू युरोकपको समूह चरणअन्तर्गत फिनल्यान्डसँगको प्रतिस्पर्धामा एरिक्सन अचेत भई मैदानमा लडेका थिए । मैदानमा चिकित्सकहरूको अथक प्रयासपछि उनले पुनर्जीवन पाएका थिए । उनलाई चिकित्सकहरूले होसमा ल्याउन करिब १५ मिनेट सिपिआर गरेका थिए ।
एरिक्सनले सास फेर्नुअघिसम्म डेनिस खेलाडी तथा समर्थक जीवित नरहेको संकेत गर्दै मैदानमै आँसु झार्न सुरु भएका थिए । तर, एरिक्सनले हिम्मत हारेनन् र मृत्युमाथि जित निकाले । उनलाई तत्कालै अस्पतालमा लगिएको थियो । दुई दिनपछि अस्पतालकै शय्याबाट एरिक्सनले स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका थिए ।
लगभग तीन साता एरिक्सनले कुनै पनि फोटो वा कमेन्ट्स सामाजिक सञ्जालमा राखेनन् । आइतबार मात्रै एरिक्सन पहिलोपटक सार्वजनिक भएका हुन् । उत्तरी डेनमार्कको स्ट्यान्ड बिचमा एक बालकसँग हसिलो अनुहारसहित देखिएका छन् । यो फोटोले उनका साथीहरू पनि अति नै खुसी भएको प्रतिक्रियाहरू आइरहेका छन् ।
डेनिस खेलाडीहरूले युरोकपमा प्रत्येक खेल एरिक्सनप्रति समर्पित गर्दै आइरहेका छन् । एरिक्सनकै कारण डेनमार्क सन् १९९२ पछि दोस्रोपटक उपाधितर्फ उन्मुख भएको प्रशंसकहरूको भनाइ छ । निकै उतारचढाव यात्रा तय गरेको डेनमार्क युरोकप २०२० को सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा डेनमार्कले इंग्ल्यान्डको सामना गर्नेछ । डेनमार्कले क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २–१ ले हराएको थियो ।