एमालेमा आइरहेको परिवर्तन

सोमबार, २१ असार, २०७८
डिजिटल संस्करण

एमालेमा बिस्तारबिस्तारै चरणबद्ध रूपमा अनेक परिवर्तन हुँदै आएका छन् । २०२६ पछि चिनियाँ सांस्कृतिक क्रान्ति र नक्सलवादी आन्दोलनको उग्र वामपन्थी विचार सर्लक्कै अनुसरण गरेर व्यक्तिहत्यामार्फत सशस्त्र विद्रोहका लागि जमिन तयार पार्ने सामान्य कारबाहीबाट यसको शक्ति उठेको हो । छिटफुट कारबाहीपछि दुई–तीन वर्ष नपुग्दै यसको हिंसात्मक क्षमता गुम्यो । त्यसपछि त्यसैको जगमा उठेको कोअर्डिनेसन केन्द्र र पछि बनेको मालेमार्फत यसले वामपन्थी झुकावसहित कठोर रूपमा भूमिगत संगठनलाई अघि बढायो ।

बाहिरी घेरामा शान्तिपूर्ण जनसंघर्ष र जनसंगठनको जालो निर्माण गरेकैले ०४६ सम्ममा यसले वामपन्थी युवा तथा विद्यार्थी र सहरिया निम्न पुँजीपति वर्गमा प्रभाव विस्तार गर्यो । ग्रामीण भेगमा गरिब किसानको एउटा हिस्सामा पनि संगठन विस्तार भयो । संगठन र शक्तिमा आएको विस्तार र विश्व कम्युनिस्ट आन्दोलनमा आएको धक्कापछि तत्कालीन माले वामपन्थी संसदीय शक्तिका रूपमा रुपान्तरित भयो ।

मदन भण्डारीले अघि सारेको बहुदलीय जनवादले सो झुकावलाई सैद्धान्तिक लेपन दियो । यससँगै यसले कांग्रेसको उपल्लो वर्गमा आधारित उदारवादी लोकतान्त्रिक शक्तिको वामपन्थी विकल्प दिने अपेक्षा विस्तार भयो । ०५१ को अल्पमतको सरकार माले र पछि एमालेको वामपन्थी पहिचानको उच्च अवस्था थियो । त्यसपछि यो क्रमशः मध्यमार्गी दलका रूपमा अर्थात् मध्यवामपन्थी दलमा रुपान्तरण भयो । संविधानसभा र गणतन्त्रको नारा आउँदै र त्यसले प्रभाव विस्तार गर्दै जाने तथा वामपन्थी भूमिकामा माओवादीले शक्ति आर्जन गर्ने क्रममा यो पार्टीले वामपन्थबाट मध्यमार्गी र क्रमशः मध्य दक्षिणपन्थी मार्गमा झुकाव राख्न पुग्यो । संविधान निर्माणका क्रममा आइपुग्दासम्म यसले वामपन्थी कित्ता बिर्सिसकेको थियो ।

पार्टी केन्द्रमा अध्यक्षनिकट युवा नेताले प्रस्तुत गरेको प्रस्ताव र त्यसप्रति अध्यक्ष ओलीले देखाएको सकारात्मक संकेतले एमाले औपचारिक रूपमा दक्षिणपन्थमा पतन हुन लागेको सन्देश दिएको छ

पछिल्लो समय लगातार ४० महिनाजति एमालेको नेतृत्वमा सरकार छ । आमसञ्चार माध्यममा आइरहेका समाचार र एमालेका नेताहरूको अभिव्यक्तिलाई आधार बनाउने हो भने अहिले एमालेको मुख्य चालक शक्ति र चालक विचार माक्र्सवादी झन्डा बोकेरै दक्षिणपन्थी धारमा हिँडिरहेको संकेत दिन्छ । आसेपासेलाई पोस्ने ‘रेन्ट सिकर’हरूको पुँजीवादको पक्षपोषण, संघीयता र समानुपातिक समावेशी प्रतिनिधित्वमाथिको निरन्तर प्रहार र बेवास्ता, भारतसँग गोप्य रूपमा भइरहेको हिमचिम, पशुपतिमा फेरिएको जलहरी तथा ठोरीको रामजन्मभूमिको नारा दक्षिणपन्थतिर तीव्र यात्रामा रहेको संकेत हुन् ।

पछिल्लोपटक केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्षनिकट एक युवानेताले औपचारिक रूपमा धर्म निरपेक्षता र संघीयताप्रति असहमति जनाउँदै राखेको प्रस्तावले विचार परिवर्तनको एउटा चक्र पूरा हुन लागेको सन्देश प्रवाहित भएको छ । त्यहाँ लामो समय जेल या भूमिगत जीवन बिताएका, वर्गशत्रुको रगतले हात रंग्याएका, केही कालसम्म गणतन्त्रलाई मूल मन्त्र बनाएका र जनवादी क्रान्ति गर्नैका लागि भूमिगत या खुला राजनीतिमा लागेर त्याग गरेकाहरूको कमी छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको संरक्षणमा रहेका ‘युवा लेफ्टीनेन्ट’हरू एकपछि अर्को गरी दलितप्रतिको विभेदलाई जायज ठहर्याउने, संघीयताको विरोध गर्ने र खारेजीको माग गर्ने, अध्यक्षको व्यक्ति पूजा गर्ने, महिलाले संविधानअनुसार प्रतिनिधित्वको माग गर्दा आलोचना गर्ने, नागरिकतासम्बन्धी कानुनमा महिलाविरोधी प्रावधानको पक्षमा लाग्ने र ०६३ को आन्दोलनका उपलब्धि, गणतन्त्र र ०७२ को संविधानका मुख्य विशेषताको विपक्षमा जनमत बनाउने काममा लागेका छन् ।

पछिल्लोपटक पार्टी केन्द्रमा प्रस्तुत प्रस्ताव र त्यसप्रति अध्यक्ष ओलीले देखाएको सकारात्मक संकेतले एमाले औपचारिक रूपमा दक्षिणपन्थमा पतन हुन लागेको सन्देश दिएको छ । नेपालको वर्तमान संविधान र लोकतन्त्रका लागि यो अवश्य पनि अपशकुन हो ।

सुझावित समाचार