कोरोना महामारीको संक्रमण हुनबाट रोक्न र केही गरी संक्रमित भइहालेमा गम्भीर बिरामी र मृत्यु हुनबाट रोक्नसमेत एक मात्र विकल्प त्यसविरुद्धको खोप नै रहेको प्रमाणित भइसकेको छ । २०१९ को डिसेम्बरमा पत्ता लागेको यो महामारीविरुद्धको खोप वैज्ञानिकहरूले एक वर्ष नपुग्दै विकास गरेका छन् । जस–जसले सुरुमा खोप खरिद गर्न सके र आफ्ना नागरिकलाई धेरै संख्यामा लगाए, त्यहाँ कोरोना संक्रमणको दर निकै घटेको छ । आर्थिक, सामाजिक गतिविधि बढेका छन् । मानिसको जीवन सहज हुन थालेको छ । तर, अहिलेसम्म उत्पादित खोपको मुख्य हिस्सा अमेरिका, बेलायत र युरोपेली देश, जापान, अस्ट्रेलिया र इजरायलजस्ता विकसित देशको पहुँचमा बढी रहेको छ ।
नयाँ भेरियन्टको विकास हुँदै जाँदा तेस्रो लहर आउने अनुमान गर्न थालिएको समयमा आउन थालेको चिनियाँ खोपले थोरै भए पनि आशा जगाएको छ
आफैँ उत्पादक भएकाले चीनले संख्याको दृष्टिले सबैभन्दा बढी आफ्नो जनसंख्याको ४० प्रतिशतभन्दा बढीलाई खोप लगाएको छ । भारत पनि खोप उत्पादक हो र त्यहाँ पनि खोप लगाउनेको संख्या बढ्दै गएको छ । विपन्न देशका लागि भने यस्तो खोपको व्यवस्था गर्नु निकै मुस्किल बनेको छ । नेपालले अहिलेसम्म भारतबाट किनेको १० लाख डोजबाहेक चीन र भारतबाट अनुदानमा पाएको र विश्व स्वास्थ्य संगठनमार्फत पाइएको समेत गरी २६ लाख नागरिकलाई खोप लगाएको छ । जसमध्ये जम्मा सात लाखले दोस्रो डोज लगाउन पाएका छन् । गरिब देशमध्ये नेपाल खोप लगाउने संख्याका दृष्टिले नराम्रो स्थानमा नरहेको भए पनि कोरोना महामारी नियन्त्रण गर्न र नागरिकलाई सुरक्षित राख्न अझै कम्तीमा पनि चार करोड डोजजति खोप ल्याउनु र लगाउनु आवश्यक छ ।
बालबालिकाको समेत सुरक्षाका लागि खोप व्यवस्था गर्नुपर्ने भएकाले खोप त्यसभन्दा बढी संख्यामा आवश्यक पर्छ । आरम्भमा भारत र पश्चिमा देशमा बढी निर्भर रहेर खोप बन्दोबस्त गर्न अनुदान र खरिदका लागि प्रयास गरेको तर चीनसँग खरिद गर्न आलटाल गरिरहेको सरकार पछिल्लो समय चीनबाट ४० लाख मात्रा खोप ल्याउने समझदारीमा पुगेको छ । पहिलो खेप खोप आगामी २५ असारसम्ममा नेपाल आइसक्नेछ । चिनियाँ खोप निर्माता कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप ल्याउन भएको समझदारीले नेपालमा पहिलो डोज भेरोसेल लगाएर अर्काे मात्रा लगाउन नपाएकाहरूले दोस्रो डोज लगाउने र अरूले पहिलो डोज लगाउन पाउनेछन् । यसले नेपालमा संक्रमण दर घटाउन मद्दत गर्नेछ ।
अहिलेसम्मको अनुसन्धानले दुई वर्षमाथिका सबै उमेर समूहका मानिसलाई खोप लगाउन सुरक्षित हुने प्रमाणित भइसकेको छ । यता नेपालमा संक्रमण दर अहिले पनि उच्च छ । परीक्षण गरिएकाहरूमा २५ प्रतिशतको हाराहारी संक्रमण पुष्टि हुनुले संक्रमणको दर भारतलगायत देशमा भन्दा उच्च रहेको देखाउँछ । नयाँ भेरियन्टको विकास हुँदै जाँदा तेस्रो लहर आउने अनुमान गर्न थालिएको समयमा आउन थालेको चिनियाँ खोपले थोरै नै भए पनि आशा जगाएको छ । सरकारले थप प्रयास गर्ने हो भने यसै वर्षभित्र सबैका लागि खोप उपलब्ध हुन सक्ने सम्भावना अझै छ । अहिले बढेको आशा जगाइराख्न पनि खोपको निरन्तर उपलब्धता आवश्यक छ ।