युरोकपकै कारण युरोपमा पुनः कोरोना संक्रमण फैलन सक्ने चेतावनी

शुक्रबार, १८ असार, २०७८
डिजिटल संस्करण

युरोकप च्याम्पियनसिप २०२० फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेल शुक्रबारदेखि सुरु हुँदै छ । १६औँ संस्करणको युरोकप अन्तिम चरणमा छ । एकातिर क्वार्टरफाइनलमा पुगेका टोलीहरू सेमिफाइनल पुग्ने रणनीति बनाइरहेका छन् । अर्कोतिर आयोजकलाई भने नयाँ समस्यासँग कसरी लड्ने भन्ने चिन्ता छ । अहिलेको नयाँ समस्या भनेकै कोरोना भाइरस संक्रमण नै हो । 

युरोकपमा सहभागिता जनाउन स्कटल्यान्डबाट लन्डन यात्रा गरेका १३ सय समर्थक कोरोना संक्रमित भएको समाचारसँगै आयोजकलाई चिन्ता थपिएको छ । पब्लिक हेल्थ स्कटल्यान्डले वेम्बलीबाट फर्केकामध्ये १३ सय स्कटिसमा कोरोना पजिटिभ देखिएको जनाएको छ । उनीहरू १८ जुनमा स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेल हेर्न वेम्बली रंगशाला पुगेका थिए । उनीहरूको रिपोर्ट बिहीबार मात्रै आएको हो । इंग्ल्यान्डका चार सयजनामा पनि कोरोना संक्रमण देखिएको छ ।

स्कटल्यान्ड र इंग्ल्यान्डका समर्थकमा कोरोना भेटिएपछि आयोजक युइएफएले थप सतर्कताका विधि अपनाउने भएको छ । अहिलेसम्म औसतमा प्रत्येक रंगशालामा ३० हजार समर्थक उपस्थित भएका छन् । यो नीतिमा परिवर्तन हुने सक्ने विश्लेषकहरूको भनाइ छ । 

युरोकपकै कारण युरोपमा पुनः कोरोना भाइरस फैलिन सक्ने एजेन्सीहरूले चेतावनी दिएका छन् । विश्व स्वास्थ्य संगठन, फिफा तथा युइएफएले प्रोटोकल अपनाएर मात्र समर्थकलाई रंगशालामा प्रवेश दिने भनेका थिए ।

समूह तथा प्रिक्वार्टरफाइनलसम्मका खेलमा प्रोटोकल खासै अपनाइएको देखिँदैन । अनिवार्य मास्क तथा सामाजिक दूरी समर्थकले पालना गरेका छैनन् । यी दुई पक्ष नै नअपनाएका कारण युरोकपमा संक्रमित संख्या बढ्न सक्ने एजेन्सीहरूको भनाइ छ । युइएफएका अनुसार धेरैजसो २० देखि ३९ वर्षका समर्थक संक्रमित भएका छन् । संक्रमितमध्ये ९० प्रतिशत यो उमेरका रहेको जनाइएको छ । 

चेक रिपब्लिकविरुद्ध स्कटल्यान्ड र स्कटल्यान्डविरुद्ध क्रोएसियाको खेल हेर्न पुगेका दर्शकहरू पनि संक्रमित भएको पब्लिक हेल्थ स्कटल्यान्डले जनाएको छ । ‘हामीसँग भएको तथ्यांकअनुसार ग्लास्गोमा हेर्न पुगेका समर्थक पनि संक्रमित भएको समाचार छ,’ पब्लिक हेल्थले भनेको छ, ‘यी दुई खेलका क्रमशः ३८ र ३७ संक्रमित भएका छन् ।’

समग्रमा अहिलेसम्म ३२ हजार पाँच सय ३९ जना संक्रमित भएको युइएफएले जनाएको छ । समर्थक मात्र होइन, ग्लास्गो रंगशालामा खटिएका फिफाका पाँच अधिकारी पनि संक्रमित भएका छन् । 

‘हामी युरोकपलाई सफलतापूर्वक सन्चालन गर्न तयारी गरिरहेका छौँ, थप संक्रमित हुन नदिन विशेष रणनीति अपनाइएको छ,’ युइएफएले भनेको छ, ‘हामीले कन्ट्याक्ट ट्रेसिङ सीमा बढाइरहेका छौँ, ११–२८ जुनसम्मका सबै रेकर्ड परिक्षण हुनेछ ।’

See More On

सुझावित समाचार