माथिल्लो तामाकोसी : निराशा र आशा

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

१५ वर्षपहिले नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोसी  जलविद्युत् कम्पनी स्थापना गरी कार्य आरम्भ गरेको राष्ट्रिय गौरवको माथिल्लो तामकोसी जलविद्युत् आयोजना उत्पादन आरम्भ गर्ने अन्तिम चरणमा पुगेको छ । यही महिनाभित्र आयोजनाका दुईवटा युनिटबाट उत्पादित बिजुली न्यु खिम्ती स्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । बाँकी युनिटबाट पनि छिटै उत्पादन थालेपछि नेपालको जलविद्युत् उत्पादनका क्षेत्रमा एउटा महत्वपूर्ण फड्को मारिनेछ । यसअघि मर्स्याङ्दी, मध्यमर्स्याङ्दी र कालीगण्डकी आयोजनाले नेपालको विद्युत् उत्पादनका क्षेत्रमा एउटा घुम्ती पार गर्ने काम गरेका थिए । तामाकोसीको महत्व केमा पनि छ भने ४५६ मेगावाट अधिकतम क्षमता भएको रन अफ दि रिभरमा आधारित यो विद्युत् परियोजना नेपालको अहिलेसम्म सम्पन्न हुने सबैभन्दा ठूलो आयोजना हो । यसको निर्माण कार्य र व्यवस्थापनको सम्पूर्ण नेतृत्व नेपाली प्राविधिक र व्यवस्थापकले गरेका हुन् ।

माथिल्लो तामाकोसी आयोजना किन ढिलो भयो र किन दुई सय ४० प्रतिशतसम्म लागत थपियो जस्ता प्रश्नको जवाफ समयमै खोज्न सकियो भने आगामी आयोजनाहरूले यस्तो ढिलासुस्ती व्यहोर्नु पर्नेछैन
 

सुरुमा ३० अर्ब लगानी हुने अनुमान गरेर काम आरम्भ भएको आयोजनामा अहिले ८० अर्ब लगानी पुगेको छ । यसको महत्वपूर्ण पक्ष के छ भने यो सबै लगानी नेपाली कम्पनी र सर्वसाधारणको बचतबाट जम्मा गरिएको हो । यसले दिने सन्देश के हो भने नेपाल अब ठुल्ठूला विद्युत् आयोजना निर्माण गर्न प्राविधिक, व्यवस्थापकीय र आर्थिक लगानी सबै दृष्टिले सक्षम छ । यससँगै नेपाल अब हिउँद र वर्षा दुवै याममा विद्युत्को माग पूरा गर्न आत्मनिर्भर हुनेछ । वर्षायाममा विद्युत् निकासीका लागि पनि अतिरिक्त उत्पादन गर्न सकिनेछ । यसैगरी आन्तरिक बजारमा, खासगरी उद्योग र घरायसी उपभोगका क्षेत्रमा विद्युत् खपतको माग बढाउन थप प्रोत्साहनका कार्यक्रम ल्याउन सकेको खण्डमा विद्युत् नेपालको आयातको भार घटाउन र उत्पादकत्वसमेत बढाएर कुल गार्हस्थ उत्पादनमा योगदान गर्न सक्ने एउटा साधन बन्नेछ । तामाकोसी आयोजनाको परिकल्पनादेखि निर्माण सम्पन्न गर्न योगदान गर्नेहरू सबै यसका लागि धन्यवादका पात्र छन् ।

यही आयोजनाले उत्पन्न गराउने निराशालाग्दो पाटो पनि छ । पाँच वर्षमा सकिने एउटा आयोजना सम्पन्न गर्न दश–दश वर्ष लागेको छ । २४० प्रतिशतभन्दा बढी लागत थप भएको छ । यसबीच आएका भूकम्प र नाकाबन्दीले असर गरेको भनिए पनि अनावश्यक रूपमा नलम्बिएको भए यो आयोजना भूकम्पआसपासमै सकिनुपर्ने थियो । यसको अर्थ हो, हामी आयोजनाको छनोट, विस्तृत डिजाइन र कार्यान्वयनमा लाने क्रममा या त अवास्तविक लक्ष्य तोक्छाैँ, या हचुवाका भरमा योजना बनाउँछौँ । के हाम्रो व्यवस्थापकीय क्षमता यस्ता आयोजनालाई तोकिएको लागत र समयमा सम्पन्न गर्न सक्ने स्तरको छैन ? के कम्पनीका सञ्चालक र मुख्य कार्यकारीहरू भ्रष्ट छन् ? के तिनीहरू कामचोर छन् ? यस्ता प्रश्नको जवाफ पनि आगामी दिनमा खोज्नुपर्छ । हाम्रो राजनीतिक नेतृत्व यस्ता परियोजना समयमै सम्पन्न गराउन आवश्यक सहजीकरण गर्ने, काम नगर्नेहरूलाई समयमै चेतावनी दिन या हटाउन पनि अक्षम छ । हाम्रो सार्वजनिक खरिद ऐनका पनि केही सीमा छन् । केही विदेशी ठेकेदारले पनि भनेको समयमा सामान आपूर्ति र निर्माण कार्य अघि बढाउनमा बाधा पुर्याउने गरेका छन् । आयोजनाले यस्ता समस्या पहिचान गर्न र समयमै तिनलाई समाधान गर्ने गरी अघि बढ्न प्रेरणा र चेतना दियो भने आगामी आयोजनाहरूले यस्तो ढिलासुस्ती व्यहोर्नु पर्नेछैन ।

सुझावित समाचार