पर्खाइसँगै तयारी गरौँ

आइतबार, १३ असार, २०७८
डिजिटल संस्करण

नेपालमा पर्यटकीय गन्तव्यका रूपमा पछिल्लो समय लोकप्रिय बन्दै गएको होमस्टे या घरवासमा पाहुना कुरेर बस्नेहरू यतिवेला फुर्सदमा छन् । स्याङ्जाको सिरुबारीबाट झन्डै ३० वर्षपहिले सुरु भएको होमस्टे लमजुङको घलेगाउँ हुँदै अहिले तराई, पहाड र हिमालसम्म फैलिएको छ । यसले केही हजार परिवारलाई जीवनशैली बदल्न, घरमै उत्पादन हुने वस्तु पर्यटकलाई खुवाउने, पियाउने र साधारण तर सफा र आकर्षक बसाइ उपलब्ध गराएर धेरथोर पैसा कमाउने अवसर दिएको छ । त्यसका लागि केही तालिम, केही लगानीका आधारमा घरलाई पाहुनामैत्री बनाउँदै एउटा स्तर कायम गर्ने गरी व्यवस्थित पनि गरिँदै छ । यसले कन्टिनेन्टल खाना, आधुनिक होटेल तथा लज र रेस्टुरेन्टले भन्दा सहज रूपमा पाहुनालाई घरायसी वातावरणमा स्वागत गर्ने र साधारण घरेलु खानाबाटै आयस्ता पनि गर्ने नयाँ व्यवसायलाई घरघरमा पुर्याउन मद्दत गरेको छ । 

पर्यटन तथा होमस्टे व्यवसायीले कोरोना महामारीको अहिलेको समय हेरेर पुुर्पुरोमा हात लगाई झोक्राएर हुँदैन, थप तयारीका लागि यो समय उपयोग गर्नुपर्छ

क्रमशः विकास हुँदै जाने सम्भावना बोकेको यस पेसालाई पनि पछिल्लो समयमा कोरोनाले थला पारेको छ । गत माघ–फागुनतिर अलिअलि जागेर सुतेको होमस्टेमा ०७६ चैतमा सुरु भएको लकडाउनसँगै पाहुना आउन बन्द भएको हो । यसले कमसेकम पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने तीनवटा सिजन खाइदिएको छ । यतिवेला पनि नयाँ भेरियन्टको कोरोना भाइरस विस्तार हुने र आउने केही महिनामा अर्को लहर आउन सक्ने अनुमान गरिएको छ । युरोपेली पर्यटकहरू अब कता जाऊँ र खर्च गरौँ, नयाँ–नयाँ अनुभूति सँगालौँ भनेर पर्खिन थालेका भए पनि नेपालजस्ता देशमा कोरोनाविरुद्धको खोपको आवश्यक मात्रा उपलब्ध हुन अझै समय लाग्ने भएकाले आउने डिसेम्बरसम्म पर्यटक आउने सम्भावना कमै छ । आन्तरिक पर्यटकले धानेका धेरैजसो होमस्टेहरू पनि कोरोना महामारीकै कारण चल्न पाउनेछैनन् । यसले भर्खर बामे सर्दै केहीलाई रोजगारी दिइरहेको होमस्टे व्यवसायलाई अवश्य पनि धक्का लागेको छ । तर, यो नै अन्तिम दृश्य पक्कै होइन । यसैले, यो कोरोना महामारी हट्ने र पाहुना आउने प्रतीक्षा गर्ने समय हो । 

तर, यो मात्र प्रतीक्षा गरेर बस्ने र पुर्पुरोमा हात लगाउने समय भने होइन । आउने हिँउद या ०७८ को फागुन, चैतसम्ममा नेपालले पनि खोपका माध्यमबाट देशमा कोरोनाको भय कम गर्न सक्छ । यति हुनेबित्तिकै बाहिर घुम्न निस्किन नपाएको सहरी मध्यमवर्ग र गाउँमा पनि पुगेको भ्रमण संस्कृतिको प्रभावमा परेको समूह हानिएर डुल्न निस्किनेछ । विदेशी पर्यटक पनि सम्भवतः आउने मार्च, अप्रिल या मेसम्ममा नेपाल आउन सक्ने वातावरण बन्नेछ । त्यसैले, अहिले होमस्टेमा मान्छे नआई झोक्राएर बसेका व्यवसायी परिवारले त्यो समयका लागि तयारी गर्ने हो । त्यसका लागि आवश्यक संरचना बनाउने, गाउँ र घरआँगन सफा राख्ने, सकेसम्म अर्ग्यानिक खाना गाउँमै उत्पादन हुने गरी तरकारी र खाद्यान्न बाली उत्पादनमा जोड दिने समय हो यो । अलिकति थप लगानी गर्दै तयारीलाई विस्तार गरियो भने दुई वर्षको यो खाडल पुर्ने गरी आन्तरिक र विदेशी पर्यटक आउनेछन् । अहिलेको समय हेरेर पुुर्पुरोमा हात लगाउने होइन, थप तयारीका लागि समय खर्च गरौँ । धेरै हदसम्म ठूला होटेल र समग्र पर्यटन व्यवसायमा पनि यो लागू हुन्छ । 

सुझावित समाचार