सप्तरीमा ट्यांकरको ठक्करबाट दुई बालिकाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

शनिबार, १२ असार, २०७८
डिजिटल संस्करण

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ स्थित ट्यांकरले दुई किलोमिटरकै दूरीमा दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्युु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उक्त सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो । सीतापुरमा भएको दुर्घटनामा २५८५ नम्बरमा सवार रूपनी गाउँपालिका–३ कटैयाका विष्णुदेव परमाणीकी आठ वर्षीया छोरी यशोधाकुमारी परमाणीको मृत्यु भएको छ ।

सोही मोटरसाइकलमा सवार यशोधाकी ३२ वर्षीया आमा सुमनदेवी परमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् । दुर्घटनालगत्तै स्थानीयहरूले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्यांकर चलाउने चालकलाई कारबाही हुनुपर्ने माग गर्दै उनीहरूले सडक अवरुद्ध गरेका हुन् ।
 
यसैगरी, सीतापुरभन्दा करिब दुई किलोमिटरको दूरीमा रहेको चाँदनीचोकमा पनि सोही ट्र्याक्टरले ५२४५ नम्बरको मोटरसाइकल ठक्कर दिएको छ । मोटरसाइकलमा सवार कंचनरूप नगरपालिका–६ घोघनपुरका मो.अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रवीणको मृत्यु भएको छ । मोटरसाइकलमा सवार नविया प्रवीण घाइते भएका छन् ।

घाइतेहरूको उपचारका लागि ठेलियास्थित अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।

सुझावित समाचार