युरोकप २०२० अन्तर्गत समूह ‘बी’को अन्तिम चरणको खेलहरू आज राति हुँदै छन् । राति पौने १ बजे रुसको सेन्ट पिटर्सबर्गमा हुने खेलमा बेल्जियम र फिनल्यान्ड भिड्दै छन् भने सोही समय कोपेनहेगमा हुने समूहको अर्काे खेलमा घरेलु टोली डेनमार्कले रुसको सामना गर्दै छ ।
यसअघि नै समूह ‘बी’बाट प्रिक्वार्टरफाइनल चरणमा प्रवेश गरिसकेको बेल्जियम फिनल्यान्डविरद्ध जित हात पार्दै समूहविजेता बन्ने योजनामा छ । बाँकी तीन टोली फिनल्यान्ड, डेनमार्क र रुस भने समूहको दोस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्तिम १६ मा पुग्ने योजनामा छन् । त्यसका लागि यी तीनै टोलीलाई जित आवश्यक छ ।
फिनल्यान्डविरुद्ध बेल्जियम (समूह बी, सेन्ट पिटर्सबर्ग)
फिनल्यान्डका लागि बेल्जियमसँगको यो खेल कत्तिको महत्वपूर्ण छ ? मार्ककु कानर्भाले भनेका छन्, ‘फिनल्यान्डको फुटबल इतिहासमा यो अहिलेसम्मकै महत्वपूर्ण खेल हो । फिनल्यान्डलाई थाहा छ कि बेल्जियममाथिको जितले युरोकप २०२० को अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछ । बेल्जियमसँगको पछिल्लो खेलको नतिजालाई हेर्ने हो भने फिनल्यान्डका लागि त्यो नतिजा असम्भव छैन । फिनल्यान्ड बेल्जियमसँगको पछिल्लो सात खेलमा अपराजित छ । सातमध्ये पछिल्लो चार खेलमा फिनल्यान्डले जित हात पारेको छ भने तीन खेल बराबरीमा टुंग्याएको छ । फिनल्यान्डले सन् १९६८ मा बेल्जियममाथि जितसमेत निकालेको थियो ।
वर्तमानलाई हेर्ने हो भने बेल्जियम उच्च लयमा छ । जारी प्रतियोगितामा पनि लगातार दुई जितसँगै समूह ‘बी’को शीर्ष स्थानमा छ । यी दुवै खेलमा उसको प्रदर्शन उच्च स्तरको छ । त्यसमाथि यसअघि नै प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणमा प्रवेश गरिसकेको बेल्जियम दबाबमा छैन । मात्रै एक अंक सुरक्षित गर्न सकेको अवस्थामा बेल्जियम समूहविजेता बन्नेछ । तर, बेल्जियमले यो खेल एक अंकका लागि मात्रै खेल्नेछैन । बेल्जियमका गोलरक्षक थिबउट कोर्टाेइज भन्छन्, ‘हामी निश्चित रूपमा जितकै लागि खेल्नेछौँ ।’ दबाबरहित खेलमा केभिन डी ब्रुनी, इडेन हाजार्ड र एक्सेल बिटसेलले पहिलो रोजाइमै खेलको सुरुवात गर्ने सम्भावना रहेको छ ।
महत्वपूर्ण तथ्य : बेल्जियमले अहिलेसम्म महादेशीय प्रतियोगिताको कुनै पनि संस्करणको समूहगत चरणमा शतप्रतिशत जितको नतिजा निकाल्न सकेको छ । समूह चरणमा अहिलेसम्म उसको राम्रो प्रदर्शन भनेको सन् २०१६ को युरोकपको हो, जहाँ उसले समूहगत चरणको तीनमध्ये दुई खेल जितेको थियो । जारी प्रतियोगितामा पनि उसले समूहगत चरणको तीनमध्ये दुई खेलमा जित हात पारिसकेको छ ।
हेड टु हेड
बेल्जियम फिनल्यान्ड
११ खेल ११
३ जित ४
४ बराबरी ४
४ हार ३
रुसविरुद्ध डेनमार्क (समूह बी, कोपेनहेगन)
आफ्ना महत्वपूर्ण खेलाडी क्रिस्टियन इरिक्सन मैदानमै ढलेको डरलाग्दो घटनाबाट सम्हालिएको डेनमार्कले आफ्नो दोस्रो खेलमा बिहीबार बेल्जियमविरुद्ध सशक्त प्रदर्शन दियो । उक्त खेलमा युसुफ पोउल्सेनले कीर्तिमानी गोल गरे । उनको गोल युरोकप इतिहासमा सर्वाधिक छिटो गरिएको गोलको सूचीको दोस्रो स्थानमा रह्यो । यद्यपि, बेल्जियले त्यसपछि दुई आकर्षक गोल गर्दै खेल आफ्नो पक्षमा पा¥यो ।
त्यससँगै डेनमार्क दोस्रो पराजय व्यहोर्न पुगेको थियो । यद्यपि, रुसमाथिको जितले उससँग अझै पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्तिम १६ मा पुग्ने सम्भावना छ । तर, त्यसका लागि एकै समय हुने अर्काे खेलमा बेल्जियमले फिनल्यान्डमाथि जित हात पारेको हुनुपर्नेछ ।
घरेलु मैदान र समर्थकको साथमा हुने डेनमार्कले त्यही नतिजाका लागि प्रयास गर्नेछ । सन् २०१६ को युरोकपपछि पहिलोपटक विदेशी भूमिमा प्रतिस्पर्धा गर्न लागेको डेनमार्क जितकै नतिजाका खोजीमा हुनेछ । उसलाई पनि प्रतियोगिताको नकआउट चरणमा स्थान सुरक्षित गर्न डेनमार्कविरुद्ध जित आवश्यक छ । अघिल्लो खेलमा फिनल्यान्डलाई पराजित गरेको रुससँग तीन अंक छ । अर्काे खेलमा फिनल्यान्ड पराजित भए डेनमार्कलाई बराबरीमै रोकेर रुसले अघिल्लो चरणको स्थान सुरक्षित गर्नेछ ।
महत्वपूर्ण तथ्य : फिनल्यान्डविरुद्धको जित रुसले युरोकपअन्तर्गत खेलेको पछिल्लो सात खेलपछिको पहिलो जित हो । अघिल्लो सातमध्ये चार खेलमा पराजय व्यहोरेको थियो भने दुई खेल बराबरीमा रोकिएको थियो । सन् २००४ पछि पहिलोपटक युरोकपको प्रिक्वार्टरफाइनल चरणमा प्रवेशको प्रयासमा रहेको डेनमार्कका लागि त्यो सम्भावना जीवित राख्न रुसविरुद्ध कुनै पनि अवस्थामा जित आवश्यक छ ।
अंक–तालिका
समूह बी
टिम खेल जित बराबरी हार गरेको गोल व्यहोरेको गोल गोल अन्तर अंक
बेल्जियम २ २ ० ० ५ १ ४ ६
रुस २ १ ० १ १ ३ –२ ३
फिनल्यान्ड २ १ ० १ १ १ ० ३
डेनमार्क २ ० ० २ १ ३ –२ ०