कृत्रिम अभाव गराउँदै जुम्लामा कालोबजारी

आइतबार, ३० जेठ, २०७८
डिजिटल संस्करण
कृत्रिम अभाव गराउँदै जुम्लामा कालोबजारी

बजार अनुगमनका क्रममा बिक्रीमा राखिएको रङको उपभोग्य मिति हेर्दै चन्दननाथ नगरपालिकाकी उपमेयर अप्सरादेवी न्यौपाने

कोभिड–१९ को कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको र अखाद्य वस्तु किनबेच भइरहेको उपभोक्ताले गुनासो गरेका छन् ।खाद्य वस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिने गरेको गुनासो बढेपछि चन्दननाथ नगरपालिकाले बजार अनुगमन गरेको छ । उपमेयर अप्सरादेवी न्यौपानेको नेतृत्वमा निस्किएको अनुगमन टोलीले होलसेल, खुद्रापसल र हार्डवेयरमा अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा बजारमा म्याद नाघेको खाद्यान्न सामग्री किनबेच भइरहेको भेटिएको थियो । कोरोनाका नाममा बढेको कालोबजारी रोक्न र मूल्यमा एकरूपता ल्याउन अनुगमन गरेका थियौँ, उपमेयर न्यौपानेले भनिन्, ‘नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएपछि अनुगमनमा निस्केका थियौँ । कालोबजारी रोक्न र मूल्यवृद्धि रोक्न आग्रह गरेका छौँ ।’

खानेतेल, चिनी, चामल, दाललगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएपछि नागरिक मर्कामा परेका छन् । कोरोनाका नाममा कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने गरेको भेटिएको हो । उपमेयर न्यौपानेले भनिन्, ‘बजारमा कालोबजारी नगर्न र मूल्यमा एकरूपता ल्याउन भनेका छौँ । अटेर गरेको खण्डमा कानुनअनुसार अघि बढ्नेछौँ ।’

खलंगामा रहेका ५ वटा ठूला डिलर, तरकारी पसल र हार्डवेयर पसल अनुगमन गरिएको थियो । अनुगमनका क्रममा व्यापारी अनुशासित भेटिएनन् । उद्योग वाणिज्य संघका पदाधिकारीले नै म्याद सकिएको सामान बेच्ने गरेको भेटियो । उपमेयर न्यौपानेले थपिन्, ‘उपभोक्ताको हकहितलाई मध्यनजर गर्दै अखाद्य वस्तुको किनबेच बन्द गर्नुपर्छ । अनुगमनमा निस्केको टोलीलाई राजनीतिक पूर्वाग्रहबाट हेरिनुहुँदैन ।’

कतिपय व्यापारीले म्याद नाघेको सामान जफत गर्न खोज्दा आइलाग्ने गरेको अनुगमन समितिले जनाएको छ । डिलरहरू मूल्यमा एकरूपता भएको बताउँछन् । तर, खुद्रा व्यापारी डिलरले महँगोमा बेच्ने गरेकाले महँगोमा उपभोक्तालाई बेच्नुपरेको बताउँछन् । होलसेल व्यापारी र खुद्रा व्यापारीबीचको तालमेल नमिलेको भेटिएको थियो । 

डिलरमा खानेतेलबाहेकको मूल्यवृद्धि भएको छैन । चामल, चिनी र धूम्रपान तथा सुर्तीजन्य पदार्थको मूल्य बढेको छैन । अनुगमनका क्रममा विपिन टेड्रर्स जुम्लाबाट ४४ वटा म्याद गएको इनामेल बरामद गरिएको थियो ।

कैलाश जनरल स्टोरबाट एक डिब्बा इनामेल, जुम्ला हार्डवेयरबाट म्याद गएको सामान बरामद गरिएको थियो । चिउरा र भुजी पनि बरामद गरिएको छ । कोरोना महामारीले नागरिक आक्रान्त भइरहेका वेला व्यापारीले मनपरी गर्न थालेको स्थानीय बताउँछन् । कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कारबाही गर्ने उपमेयर न्यौपानेको भनाइ छ । कालोबजारी हुने काम रोक्न पहिलोपटक अनुगमन गरेको उनले बताइन् ।

सुझावित समाचार