मंगलबार जनता समाजवादी पार्टीका दुई पक्ष एक–अर्को समूहका नेतामाथि कारबाही गरेर दलबाट निष्कासन गर्ने तहसम्म पुगे । उपेन्द्र–बाबुराम समूहले महन्थ ठाकुरलगायत चारजना वरिष्ठ नेतालाई पार्टीबाट निष्कासन गर्यो । उता महन्थ समूहले पनि उपेन्द्र यादवलाई निष्कासन गरेर निर्वाचन आयोगलाई जानकारी दियो । पार्टीको बहुमत उपेन्द्र समूहसँग रहेको देखिन्छ । विघटित प्रतिनिधिसभासहित संसद्मा महन्थ समूहको बहुमत थियो । प्रतिनिधिसभा जीवित रहँदा दुवै पक्षले दल विभाजनका आवश्यक सर्त पूरा गर्न सक्दैनथे । त्यसैले पनि दुवैले सँगै जान नसक्ने गरी उत्तर–दक्षिण फर्केर यात्रा थाले पनि प्राविधिक रूपमा एउटै दलमा थिए । गत वर्ष प्रधानमन्त्री ओलीले दल विभाजन सहज हुने गरी विधेयक ल्याउँदा आफैँलाई जोगाउन एकीकरण गरेका राष्ट्रिय जनता दल र संघीय समाजवादी पार्टीबीच रातारात एकता गरेर बनेको जसपा अहिले विग्रहको गोलचक्करमा फसेको छ । पछिल्लो राजनीतिक घटनाक्रममा सो दलका प्रतिनिधिसभा सदस्यहरूको मत–विभाजन हेर्दा गत वर्षको एकतापछि उपेन्द्र यादव घाटामा परेको देखिए पनि केन्द्रीय समितिमा भने उनी फइदामै देखिन्छन् । यो विग्रह यही रूपमा अघि बढ्यो भने प्रदेश २ को सरकार र प्रदेश सभामा पनि यसको प्रभाव पर्ने निश्चित छ । यसले मधेसमा मताधार भएका र राष्ट्रिय राजनीतिमा भूमिका खेलिरहेका दलहरूले काठमाडौंको सत्तालाई दिने दबाब कमजोर हुनेछ । पहिचानको राजनीतिलाई आधार बनाएका उनीहरूको शक्ति क्षय हुनेछ ।
प्रधानमन्त्री ओलीको गलत राजनीतिक आकांक्षाका कारण उनी स्वयं र उनको दल त कमजोर भएका छन् नै, बाँकी दल र लोकतन्त्रले पनि उनका हरकतको सिकार बन्नुपरिरहेको छ
यता गत वर्षदेखि नै आरम्भ भएको नेकपाभित्रको विग्रह एमाले र माओवादीका रूपमा विभाजन हुँदा पनि रोकिएको छैन । एमालेभित्र पार्टी अध्यक्ष केपी ओलीको समूह र माधव–झलनाथ समूहका रूपमा फरक राजनीतिक अभ्यास हुँदै आएको छ । हालै ससद्मा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मत नदिएर तटस्थ बसेको माधव समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा आफ्नो दलको आधिकारिक उमेदवारविरुद्ध मतदान गरेको छ । ओली समूहले माधव नेपाललगायत १२ नेतालाई पार्टीको साधारण सदस्यताबाट समेत निष्कासन गरेको छ । यसरी विभाजनको डिलमा पुगेर पनि प्राविधिक रूपमा सँगै रहेको यो पार्टीभित्र माधव–झलनाथ समूह फेरि विभाजनतिर जान थालेको देखिँदै छ । अर्थात् विग्रहका उपचरणहरू जारी छन् । माओवादी केन्द्रबाट रामबहादुर थापासहित केही नेता बाहिरिएर एमालेमा प्रवेश गरेका छन् । यी घटनाले नेपालमा राजनीतिक दलहरूभित्र विग्रहको आगो सल्किरहेको संकेत गर्छन् ।
यस्तो विग्रहले लोकतन्त्र र आर्थिक विकासका लागि आवश्यक राजनीतिक वातावरण बन्न दिइरहेको छैन । विग्रहकै कारण प्रधानमन्त्री ओली एकपछि अर्को गरी कमजोर बन्दै गएका छन् । उनले अब जताततै आफ्ना वैरी मात्र देख्न थालेका हुन् कि जस्तो देखिँदै छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनमा प्रचलित मान्यता र स्थापित परम्पराविपरीत आफूअनुकूल सदस्य छनोट गर्न खोजेको सन्देश गएपछि उठेका प्रश्नबाट पनि प्रधानमन्त्री अल्तलिएका देखिए । उनले एउटा कार्यक्रममा कानुन व्यवसायी र पूर्वप्रधानन्यायाधीशहरूमाथि गरेको टिप्पणी र देखाएको आक्रोशले पनि उनको छटपटी बढेको देखाउँछ । साढे तीन वर्षअघि मात्रै पूर्ण बहुमतको गठबन्धनसहित आफ्नो दललाई मात्र ४४ प्रतिशत सिट सुरक्षित गरेर एउटा शक्तिशाली नेताका रूपमा उदाएका ओली आफ्नै कारण आफैँले निम्त्याएको विग्रहको सिकार हुँदै अहिले विभाजित र कमजोर पार्टी नेताका रूपमा चुनावमा जाने बाटामा हिँडेका छन् । दलहरूको यो विग्रहका कार्यकारण सम्बन्ध सबै ओलीको गलत राजनीतिक आकांक्षाकै परिणाम हो । यी विग्रहका कारण ओली त आफू कमजोर भएका छन् नै, बाँकी दल र लोकतन्त्रले पनि उनका हरकतको सिकार बन्नुपरिरहेको छ ।