ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ५ तापेथोकमा पुल बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिकाको वडा नं. ५ तापेथोक र वडा नं. ६ को लेलेप जोड्ने तमोरमाथि बन्दै गरेको निर्माणाधीन बेलिब्रिजमा खटिएका एक मजदुरको चिप्लिएर लड्दा बुधबार बिहान पाँच बजे मृत्यु भएको प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए ।
मृत्यु हुनेमा बाराको सिमरा घर भई हाल कामको सिलसिलामा ताप्लेजुङ आएका २६ वर्षीय श्यामसुन्दर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राणाले जानकारी दिए ।
घटनास्थललाई लेलेपमा रहेको प्रहरी चौकीबाट खटिएको जनशक्तिले सुरक्षित गरेको थियो । तर, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलमा पुगेको प्रमुख राणाले बताए । उनका अनुसार निर्माणको क्रममा खटिएका चौधरी अचानक चिप्लिएर लडेको र सोही बेलिब्रिजका केही सामानसमेतसँगै झरेर किचेपछि घटनास्थलमै मृत्यु भएको थियो ।
उनको शवलाई जिल्ला अस्पताल ताप्लेजुङमा पोस्टमार्टमका लागि ल्याइँदै छ, भने उनका आफन्त बोलाएर शव जिम्मा लगाउने बताइएको छ ।