कोरोना महामारीकै बीच बुधबार बिहान भूकम्पले पनि लमजुङवासीलाई तर्साएको छ । बिहान ५:४२ देखि ८:२६ सम्मका तीन धक्काले सात सय घरमा क्षति पुगेको छ भने ६ जना घाइते भएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मस्र्याङ्दी गाउँपालिका– ८ भुलभुले केन्द्र भएर बिहान ५:४२ मा ५.८ म्याग्नेच्युड, ८:१६ मा ४ म्याग्नेच्युड र ८:२६ मा ५.३ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यसको धक्का काठमाडौंसम्म महसुस भएको थियो । यो ०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ ।
लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार घर भत्किँदा तीनजना र भागदौडका क्रममा तीन गरी ६ जना घाइते भएका छन् । दुई सय घर पूर्ण रूपमा र पाँच सय घरमा आंशिक क्षति भएको अनुमान गरिएको सिडिओ होमप्रसाद लुइँटेलले बताए ।
बेंसीसहर नगरपालिका– ११ रामचोककी ८३ वर्षीया खवकुमारी पाण्डे, दोर्दी गाउँपालिका– ७ लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ र बेंसीसहर– ६ चनौटे बस्दै आएकी मस्र्याङ्दी– ५ घेर्मु घर भएकी ४० वर्षीया उमा गुरुङ घर भत्किएर घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै, मर्स्याङ्दी– ६ ठूलीबेंसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर– ८ ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र बेंसीसहर– ८ सेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ भागदौडका क्रममा घाइते भएका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ । गम्भीर घाइते अधिकारीलाई थप उपचारका लागि चितवन रेफर गरिएको छ भने सामान्य चोट लागेकी लप्सीबोटकी तामाङ डिस्चार्ज भएकी छिन् । अन्य उपचाररत सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको भुलभुले, बेंसीसहर नगरपालिका र दोर्दी गाउँपालिकामा बढी क्षति भएको छ । पहिलो परकम्प जाँदा स्थानीय बासिन्दा सुरक्षित ठाउँतिर दौडादौड गरेका थिए । दिनभरि पनि भूकम्पका साना धक्का गइरहेका छन् ।
कोरोना संक्रमणको डरले एक सातादेखि बाहिर ननिस्किएकी चनौटेकी उमा गुरुङ पहिलो परकम्पसँगै ज्यान जोगाउन कुद्दै घरबाट निस्किइन् । त्यस क्रममा घरको भित्तो भत्किएर झरेको ढुंगाले उनको पाखुरा र खुट्टामा चोट लागेको छ । अहिले जिल्ला अस्पतालमा उपचाररत छिन् । ‘ज्यान त बचाएँ, तर घर भत्किएपछि परिवारै त्रिपालमुनि पुगेको छ,’ उनले भनिन् ।
घर भत्किएर घाइते भएकी रामचोककी पाण्डेलाई स्थानीय र प्रहरीले उद्धार गरी जिल्ला अस्पाताल पुर्याएका थिए । अस्पतालबाट फर्केपछि कहाँ बस्ने भन्ने चिन्ताले उनलाई पिरोल्न थालेको छ । ‘०७२ को भूकम्पले नभत्किएको घर आजको भूकम्पले भत्कायो,’ उनले भनिन्, ‘अब यस्तो वेला कहाँ गएर बस्ने ? आफन्तकहाँ जाउँ भने कोरोनाको डर छ, आफ्नै घर जाउँ भने ओत रहेन ।’
भागदौडका क्रममा घाइते भएकी खुसीमायाले भनिन्, ‘०७२ को भूकम्प बिर्सिन थालेकी थिएँ, ६ वर्षपछि त्यतिवेलैको याद दिलायो, साह्रै झस्कायो । कोरोनाको डर त छँदै थियो, भूकम्पले पनि तर्साउन थाल्यो ।’
दुई दिनकी सुत्केरीको टनेलमा वास
भूकम्पले घर भत्काएपछि दोर्दी– ८ दुवारकी २३ वर्षीया दिलमाया मगरको गोलभेँडाको टनेलमा वास भएको छ । दुई दिनकी सुत्केरी उनलाई मंगलबार मात्र अस्पतालबाट घर ल्याएको श्रीमान् जंगबहादुर मगरले बताए । सिडिओ होमप्रसाद लुइँटेलका अनुसार भूकम्पबाट दुई सय परिवार घरबारविहीन भएका छन् । पीडितहरू केही विद्यालयका भवनमा बसेका छन् भने केहीले आफन्तको सहारा लिएका छन् । ‘दुई सय घर पूर्ण क्षति भएको आकलन गरेका छौँ, एक सय ११ घरको त विवरण नै आइसकेको छ,’ सिडिओ लुइँटेलले भने ।