निर्वाचन आयोगले बागमती प्रदेशको आगामी ६ जेठमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मौन अवधि सुरु भएकाले कुनै पनि प्रकारका प्रचार–प्रसार नगर्न आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी ३ जेठ राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको जनाएको छ ।
आयोगले उक्त समयावधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटरवरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने जनाएको छ ।
यस्तै आयोगले परिचयपत्रका आधारमा निर्वाचकमण्डलको अन्तिम मतदाता नामावली यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि निर्वाचकमण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचकमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।’