अक्सिजन खरिदका लागि गुल्मीका पत्रकारले जुटाए ३७ लाख

सोमबार, ३ जेठ, २०७८
डिजिटल संस्करण

गुल्मीका पत्रकारहरू अक्सिजन अभियानमा जुटेका छन् । अक्सिजनको कारण नागरिकको ज्यान जान थालेपछि नेपाल पत्रकार महासंघ गुल्मीमार्फत अक्सिजन अभियानमा एकमत भएर लागेका छन् । गत वैशाख २५ गतेबाट अक्सिजन अभियान सञ्चालन सुरु भएको छ । जेठ १ गते रातिसम्म ३६ लाख ६३ हजार सहयोग संकलन भएको अभियन्ता तारा भुसालले जानकारी दिए । 

उनले जिल्लामा संस्थागत रूपमा र प्रवासमा समेत अभियान सञ्चालन भएकाले महासंघमार्फत नै करिब ५० लाख संकलन हुने अनुमान रहेको बताए । पछिल्लो समय पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान प्लान्टसम्म पुगेको छ । यो अभियानलाई चौतर्फी रूपमा स्वागत र साथ रहेकाले अहिले विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरेर प्लान्ट सञ्चालनको प्रक्रिया अगाडि बढाइएको पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए ।

अक्सिजन प्लान्ट अभियानमा पूर्वमन्त्री गोर्कण विष्टले १० लाख सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन् भने पूर्वसभासद् तथा कांग्रेस नेता चन्द्र भण्डारीले पनि अभियानमा ऐक्यबद्धता जनाएका छन् । गुल्मी उद्योग वाणिज्य संघले पनि पत्रकार महासंघको अभियानमा ऐक्यबद्धता जनाउँदै करिब १५ लाखभन्दा बढी सहयोग संकलन गरिसकेको अर्यालले बताए । त्यस्तै, मालिका गाउँपालिकाका सम्पूर्ण कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरूले एक दिनको पारिश्रमिक तीन लाख ४२ हजार सात सय ९० रुपैयाँ अक्सिजन अभियानमा सहयोग गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि सहयोग गरिरहेका छन् । 

विपन्नले दुई  सयदेखि सम्पन्न परिवार र व्यक्तिले डेढ लाखसम्म सहयोग गरेका छन् । ‘मैले ८४ गर्ने योजना बनाएको थिएँ, कोरोनाले दिएन, बाँचे अर्को वर्ष गरौँला,’ रेनपा– ८ का ८४ वर्षीय रुद्रबहादुर भुजेलले भने, ‘मेरोतर्फबाट यो अभियानलाई १० हजार भो ।’ मदाने– २ बाझकटेरी घर भई हाल क्यानडामा रहेकी निमा केसीले आमा गुमाएको पीडा बिर्सिएकी छैनन् । उनले मातातीर्थ औँसीका दिन आमाको नाममा २१ हजारभन्दा बढी अभियानमा सहयोग प्रदान गरिन् । ‘अक्सिजनको कारण गुल्मेली बाबाआमा तथा दाजुभाइ, दिदीबहिनीको ज्यान नजाओस् भनेर सानो सहयोग गरेकी छु,’ उनले भनिन्, ‘अभियानको सफलताको शुभकामना ।’

महासंघले अहिले अक्सिजन खरिद गरेर गुल्मी अस्पताल र रेसुंगा अस्पतालका बिरामीहरूको आवश्यकतालाई मध्यनजर वितरण गरेको छ । साथै आवश्यकताको आधारमा जिल्लाका अन्य स्थानीय तहसँग पनि अक्सिजनको विषयमा समन्वय भइरहेको अर्यालले बताए । ‘रातमा समस्या पर्नेदेखि बाहिर रेफर भएकालाई समेत अक्सिजन र समन्वय गरिरहेका छौँ,’ अर्यालले भने, ‘प्लान्ट पूर्ण सञ्चालन नहुने वेलासम्म अक्सिजन सिलिन्डर खरिद र भर्ने काम काम गर्छौँ ।’ 

अभियानमा जोडिन पत्रकार महासंघले सबैलाई आह्वान गरिरहेको छ । नेपालमा अक्सिजन सिलिन्डर खरिद र भर्ने स्थिति निकै संकटपूर्ण बन्दै गएको अवस्थामा सुरु गरिएको अक्सिजन प्लान्ट अभियानमा मनदेखि नै जोडिन पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष तथा समन्वय समिति संयोजक जनार्दन घिमिरेले आग्रह गरे । ‘अक्सिजन अहिलेको मात्रै कुरा होइन, भोलि पनि अत्यावश्यक छ,’ उनले भने, ‘सबैले सक्दो सहयोग गरे अब असम्भव छैन ।’ उनले युके, जापान र कतारलगायतका देशमा पनि सहयोग संकलन भइरहेकाले केही दिनमा हस्तान्तरण हुने जानकारी दिए । 

पत्रकार महासंघले आफ्नै कार्यालय भवनमा ५ शय्याको आइसोलेसन स्थापना गरेको छ । जिल्लाका सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामग्री (मास्क, स्यानिटाइजर)लगायतका स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनारले जानकारी दिए । त्यस्तै, जिलाका सञ्चारमाध्यमहरूलाई कोरोनाविरुद्धको सूचना, जनचेतनामूलक सूचना र समाचारका लागि जोड दिइएको छ । जिल्लाभरका आइसोलेसनको अवस्था र बन्द रहेको कोभिड– १९ प्रयोगशाला तम्घास सञ्चालनमा सरोकारवालालाई ध्यानाकृष्ट गराइएको सुनारले बताए ।

See More On

सुझावित समाचार