नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीका रूपमा आफ्नो दोस्रो कार्यकाल सोमबार पूरा भयो । हिजो ओली आफैँले संसद्को विश्वास प्राप्त गर्न राखेको प्रस्तावले संसद्मा कायम सदस्य संख्याको बहुमत बटुल्न नसकेपछि उनको कार्यकाल सकिएको हो । उनी ३ फागुन ०७४ मा नेकपा (माओवादी केन्द्र)को समर्थन लिएर प्रधानमन्त्री भएका थिए । यसरी हेर्दा उनले झन्डै ३९ महिनाको कार्यकाल पूरा गरेका छन् । यसअघि उनी ०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री भएका थिए । माओवादी केन्द्रसमेतको समर्थनमा प्रधानमन्त्री भएका ओली आफूविरुद्ध ०७५ साउनमा आएको अविश्वास प्रस्तावमा मतदान हुनुअघि राजीनामा दिएर बाहिरिएका थिए । त्यतिवेलाको कार्यकाल झन्डै साढे नौ महिनाको थियो ।
सारमा ओलीको यो कार्यकाल आफ्नो दल, संसद् र विपक्षी दल तथा समाजलाई ध्रुवीकरण गराएर अराजकता सिर्जना गराउने कामका लागि बढी अभिलिखित हुनेछ
उक्त कार्यकाल नेपालको राजनीतिक इतिहासमा केही घटनाका कारण उल्लेख्य अध्यायका रूपमा रहेको थियो । खासगरी मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण उत्पन्न राजनीतिक संकटबीच एकातर्फ ओलीले आफूलाई मधेस आन्दोलनको विपक्षमा उभ्याए र अर्कोतर्फ भारतीय नाकाबन्दीलाई चुनौती दिएर आफ्नो व्यक्तित्व उठाए । परम्परागत सत्तासीन वर्ग र समुदायका लागि ओलीको पहिचानविरोधी अडान एउटा बिम्ब बनेको थियो । अर्कोतिर भारतको ज्यादतीका कारण उठ्दो आक्रोशलाई पनि उनले वाणी दिएका थिए । त्यसले ओलीलाई अरू नेताभन्दा शक्तिशाली बनाइदियो । ०७४ मा भएको तीनै तहका निर्वाचनमा ओलीको यो व्यक्तित्वको छाप प्रस्ट देखिन्थ्यो । तर, उनी त्यतिकै भरमा पुनः सत्तामा पुग्न सकिनेमा विश्वस्त थिएनन् । त्यसैले उनले नेकपा (माओवादी केन्द्र)सँग पहिले संयुक्त मोर्चा र पछि पार्टी एकीकरणको बाटो लिए ।
त्यही संयुक्त मोर्चाले उनलाई दोस्रोपटक सत्तासीन गराएको थियो । कतिपय मतदाता उनको राष्ट्रवादी छवि, काल्पनिक समृद्धिका नारा र पूरा नहुने ठूला योजनाबाट पनि प्रभावित भएका थिए । तर, उनले आफ्नो सवा तीनवर्षे कार्यकाल नेपाली जनता र राष्ट्रलाई एकताबद्ध पार्दै समृद्धिको बाटोमा अघि बढाउने मौकालाई नराम्रोसँग खेर फाले । बिदा हुने समयमा उनले संसद्मा आरम्भमा पाएको दुईतिहाइको समर्थन त गुमाए नै, आफ्नै दलका २८ जना सांसदलाई समेत विश्वासमा लिन नसकेर बिदा भए । उनको कार्यकाल धेरै झुटा आश्वासनको पोको फुकाउँदैमा बित्यो । नभएका योजनाको शिलान्यास, निर्माण नसकिएका संरचनाको उद्घाटन, नभएका रामसीताको राजनीतिक व्यापार, आफ्नै दलको विखण्डन, संसद् र संविधानको अपमान तथा प्रतिनिधिसभाको हठात् विघटन उनको कार्यकालको मुख्य विशेषता अथवा भनौँ कमजोरी रहे । उनको कार्यकाल आसेपासे पोस्ने भ्रष्टाचारमुखी नीतिका कारण पनि बदनाम रह्यो । पछिल्लो समय कोरोना महामारीका समयमा उनले जनतालाई जे–जसरी मूर्ख बनाउन विज्ञानइतरका कुरा गरे, त्यो पनि उनको कार्यकालको आलोचित हुने कडी हो । कोरोना महामारीको दोस्रो लहरले लपेट्दै जाँदा पनि उनले आफ्नो राजनीतिक हितका लागि भिड जम्मा गर्न प्रोत्साहित गरिरहे । अहिले देशभर कोरोना महामारीले हाहाकार सिर्जना गरेको छ, तर उनी विश्व समुदायलाई समेत परिस्थिति नियन्त्रणमा रहेको भनेर ढाँटिरहेका छन् । कूटनीतिका क्षेत्रमा पनि उनी ढुलमुले नीतिका कारण असफल मानिनेछन् । संघीयता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयासमा उनको नाम जहिल्यै चर्चामा रहनेछ । ओलीको दोस्रो कार्यकाल लिम्पियाधुरासमेतको नेपाली भूभाग समेटेर जारी गरेको नक्साका प्रति सकारात्मक रूपमा सम्झिइनेछ ।
यसैगरी, रानीपोखरी, धरहरा र सिंहदरबारको पुनर्निर्माणमा प्राप्त सफलता, सडक बालबालिकामुक्त बनाउन भएका प्रयास पनि स्मरणीय रहनेछन् । सारमा उनको यो कार्यकाल आफ्नो दल, संसद् र विपक्षी दल तथा समाजमा समेत ध्रुवीकरण गराएर अराजकता सिर्जना गराउने कामका लागि बढी अभिलिखित हुनेछ । तर, उनको राजनीतिक अभिच्युरी लेख्ने वेला भने अवश्य पनि भएको छैन ।