चितवन एनएसएलबाट बाहिरिने पहिलो टोली

शनिबार, २५ बैशाख, २०७८
डिजिटल संस्करण

खेलको अन्तिम आठ मिनेट १० जनामा सीमित भएको चितवनले त्यसपछि दुई गोल व्यहोर्दै पराजय व्यहोरेको हो 

एफसी चितवन नेपाल सुपर लिग (एनएसएल)बाट बाहिरिने पहिलो टोली बनेको छ । शुक्रबार भएको खेलमा पोखरा थन्डर्ससँग २–१ गोलको पराजय व्यहोर्दै चितवन पहिलो संस्करणको एनएसएल उपाधि होडबाट बाहिरिएको हो । चितवनले प्रतियोगिताको लिग चरणमा अझै एक खेल खेल्न बाँकी छ । यद्यपि, काठमाडौं रेजर्सविरुद्ध हुने उक्त खेलमा जित हात पारेर पनि चितवनका लागि प्रतियोगिताको अन्तिम चारको यात्रा सम्भव हुनेछैन । लिग चरणको खेलपश्चात् शीर्ष चार स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा पाँच खेल खेलिसक्दा चितवन अझै जितविहीन छ । चितवन प्रतियोगिताको एक्लो जितविहीन टोली हो । उसले दुई खेलमा बराबरी खेलेको छ भने तीन खेलमा पराजय व्यहोरेको छ । दुई अंक मात्रै जोडेको चितवन सात टोली सहभागी एनएसएल अंक तालिकाको पुछारमा छ ।

उपाधि होडबाट बाहिरिएपछि चितवनका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले दुःख व्यक्त गरे । ‘उपाधि होडमा कायम रहन हामीलाई आजको खेलमा जित आवश्यक थियो । हामीलाई बराबरीको नतिजाले पनि हुने थिएन, जित नै चाहिने थियो,’ उनले भने, ‘हामीले त्यहीअनुसारको योजना बनाएका थियौँ । यद्यपि, योजना सफल भएन ।’ चितवनलाई पराजित गरेको पोखराको भने प्लेअफ सम्भावना जीवितै रहेको छ । यद्यपि, पोखरालाई त्यसका लागि अब अन्य टोलीको खेलमा निर्भर पर्नुपर्नेछ । पोखरा ६ खेलबाट दुई जित र दुई बराबरीसँगै आठ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । 

एक गल्तीमा डुबेको चितवनको भाग्य
चितवनलाई आफ्नो उपाधि आशा जीवित राख्न पोखराविरुद्धको खेलमा कुनै पनि अवस्थामा जित आवश्यक थियो । उसले सुरुवातबाटै त्यहीअनुसार खेल्यो पनि । पोखराको पोस्टमा नियमित आक्रमण गरेको चितवनले खेलको ७३औँ मिनेटमा १–० को अग्रता पनि बनाएको थियो । विपक्षी खेलाडीले फर्काएको बललाई शिशिर लेखीले डी बक्सको दायाँतर्फबाट सशक्त प्रहार गरेको बल पोखराका गोलरक्षक दीप कार्कीलाई समेत नाघेर गोलमा परिणत भएको थियो । 

त्यही गोलसँगै चितवन बहुप्रतीक्षित जिततर्फ अग्रसर देखिएको थियो । तर, खेलमा ८२औँ मिनेटपछि एउटा ‘टर्न’ आयो, जसले चितवनको पक्षमा देखिएको जित पोखराको पोल्टामा पारिदियो । त्यस वेला चितवनका गोलरक्षक विशाल सुनार ठूलो गल्ती गर्न पुगे । उनले आफूतर्फ आइरहेको बललाई क्लियर गर्ने प्रयासमा डी बक्स लाइनभन्दा केही बाहिर निस्किएर हातले छोएका थिए । 

त्यही गल्तीमा रेफ्री प्रज्वल क्षेत्रीले विशाललाई सीधै रातो कार्डमा मैदानबाट बाहिर मात्रै पठाएनन्, पोखरालाई डी बक्स लाइनकै छेउबाट फ्री किक अवसरसमेत दिए । त्यही फ्री किकमा गोल गर्दै कप्तान नवयुग श्रेष्ठले खेलको ८६औँ मिनेटमा पोखरालाई १–१ को बराबरीमा फर्काए । १० जनामा सीमित भएको चितवनविरुद्ध पोखराले थप आक्रमण बढायो । फलस्वरूप ६ मिनेट थप गरिएको अन्तिम इन्जुरी समयको चौथो मिनेटमा अफ्रिकी खेलाडी राफेल रिम्गागोले गोल गर्दै पोखराको जित २–१ ले निश्चित गरेका थिए ।

त्यसअघि दुवै टोलीका केही राम्रा अवसर खेर गएको थियो । खेलको १५औँ मिनेटमै चितवनका सुनील श्रेष्ठले सिक्स यार्ड बक्स नजिकबाट गरेको सशक्त प्रहारलाई पोखराका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ५९औँ मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको अर्काे सशक्त प्रहारलाई पोखराका गोलरक्षक दीपले नै मुस्किलले नियन्त्रणमा लिएका थिए । खेलको ६८औँ मिनेटमा पोखराका मौसा अब्बाले एउटा राम्रो अवसर गुमाए । 

चलाखीपूर्ण तरिकाले चितवनको अफसाइड ट्र्यापलाई विफल तुल्याउँदै बल अघि बढाएका अब्बाले आफैँले प्रहार गर्नुपर्ने बल चितवनका गोलरक्षक विशालसँगको वान भर्सेस वानको अवस्थामा पुगेपछि क्रस गरिदिए ।

उक्त क्रसलाई सदुपयोग गर्न उनका सहकर्मी ठाउँमा थिएनन् । खेलको ७०औँ मिनेटमा रूपबहादुर लामाले झन्डै २० यार्ड दूरीबाट गरेको सशक्त प्रहार क्रस बारमा लागेर फर्किँदा चितवन गोलबाट चुकेको थियो । खेलको ८८औँ मिनेटमा पोखराका राजेश परियाले डी बक्सबाहिरबाट गरेको प्रहार पनि दोस्रो बारमा लागेर फर्किएको थियो । खेलपछि पोखराका सहायक प्रशिक्षक राजेश शाहीले टोलीको जितमा खुसी व्यक्त गरे । ‘धेरै पछि जित प्राप्त भएको छ । खुसी छु,’ उनले भने, ‘खेलाडीहरूले गरेको मिहिनेत देखिएको छ ।’

सुझावित समाचार