नेपालमा प्रेस स्वतन्त्रतामाथि प्रहारका ४५ घटना, कोरोना कालमा पाँच सय १७ पत्रकार विस्थापित

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

नेपालमा कोरोना महामारीको अवधिमा मात्रै पाँच सय १७ जना पत्रकार विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन इकाइले गरेको अध्ययनअनुसार यस वर्ष प्रेस स्वतन्त्रतामाथि प्रहारका ४५ वटा घटना भएकामा पत्रकारहरूको पेसागत सुरक्षाका घटना सबैभन्दा बढी रहेका छन् । जसमध्ये कोरोना महामारीको समयमा मात्रै पेसागत सुरक्षाका हिसाबले पीडित पत्रकारको संख्या पाँच सय १७ रहेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा सोमबार नेपाल पत्रकार महासंघले भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष ४५ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन् । ती घटनामा पाँच सय ८४ जना पत्रकार र तीनवटा सञ्चार संस्था पीडित भएका छन् । पीडित पत्रकारमध्ये ७७ जना महिला पत्रकार रहेका छन् । 

यो वर्ष ६ जना पत्रकार गिरफ्तारीमा परेका छन् । यस्तै, कब्जा र अवरोधबाट चारजना पत्रकार पीडित भएका महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । ४८ पत्रकारमाथि आक्रमण भएको छ । १२ पत्रकार धम्की र दुव्र्यवहारमा परेका छन् ।

दिवसको सन्दर्भमा महासंघका पोखरेलले शुभकामना सन्देश दिँदै कोरोनाको बहानामा सञ्चारकर्मीलाई निष्कासन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो चरणको संक्रमण बढिरहेका वेला कोरोनालाई कारण देखाएर सञ्चारगृहले पत्रकारलाई विस्थापित गराउने खतरा उत्तिकै रहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले सञ्चारकर्मीलाई स्वतन्त्र ढंगले काम गर्न पाउने वातावरण राज्यले निर्माण गर्नुपर्ने बताए । उनले नागरिकको सत्यतथ्य सूचना पाउने अधिकारको ग्यारेन्टी गरिनुपर्ने बताए । 

यस्तै, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रको मुख्य आधार नै स्वच्छ र मर्यादित निर्वाचन भएको भन्दै त्यसका लागि पूर्ण प्रेस स्वतन्त्रताको भूमिका हुने बताए । उनले स्वच्छ र मर्यादित निर्वाचनका लागि मिडियाको सकारात्मक भूमिकाका लागि आग्रह गरे । प्रमुख आयुक्त थपलियाले अहिले बढ्दो क्रममा रहेको गलत सूचना सम्प्रेषणलाई निरुत्साहित गर्न महासंघले भूमिका खेल्नुपर्ने सुझाब दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरू डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र सल्लाहकार निर्मला आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए । 

सुझावित समाचार