चितवनमा बिहीबार (१६ गते) रातिबाट निषेधाज्ञा हुने भएको छ । निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म लागू हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए । बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बैठकले काेरोना जोखिम नियन्त्रणका लागि भन्दै विभिन्न निर्णय गरेको छ ।
खाद्य सामग्री, तरकारी, फलफूल, दूध, ग्यास, पेट्रोलबाहेकका सेवा तथा बिक्री केन्द्र बन्द हुने भएको छ । सिनेमा हल, पार्टी प्यालेस, दोहोरी घर, फनपार्क, फुटसल, पुस्तकालय, संग्रहालय, जिमहल, स्पा, ब्युटिपार्लर, सैलुन, टेलरिङ, स्विमिङ पुल र फुटपाथ पसल सञ्चालन गर्न नपाइने भएको छ ।
पठनपाठन र परीक्षा सञ्चालन गर्न नपाइने, बिहे घरमा मात्र गर्न पाइने र बढीमा १५ जनाको उपस्थितिमा गर्न पाइने, दाहसंस्कारमा जाँदा सवारीसाधनका लागि प्रशासनसँग अनुमति लिनुपर्ने, लामो तथा छोटो दूरीका सार्वजनिक र निजी सवारी प्रयोग गर्न नपाइने, धार्मिक स्थलमा जमघट गर्न नपाइने, जंगल सफारी र जलयात्रा, अत्यावश्यक कार्यालयबाहेक अन्य कार्यालयका सेवा बन्द हुने भएको छ ।
स्वास्थ्य, शान्तिसुरक्षा, विद्युत्, इन्टरनेट, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास र पेट्रोल, तरकारी तथा फलफूल, खाद्यान्न, दुग्ध, औषधि, पशुपक्षीको दाना, माछामासु अन्डा र पानीसम्बन्धी सेवाहरू सञ्चालन गर्न पाइने भएको छ ।उद्योग, कारखानाका मजदुरले जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्ने, उनीहरूको आवास व्यवस्था उद्योगले नै गर्ने र त्यो सम्भव नभएमा मजदुर आवातजावत सम्बन्धित उद्योगले मिलाउने निर्णय गरिएको छ ।
एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्य सामग्री बोक्ने साधन, कूटनीटिक नियोगका साधन, मालबाहक साधन, निर्माण सामग्री ढुवानी साधन, अत्यावश्यक काम तथा सरकारी कामका लागि प्रयोग हुने सवारीसाधन सञ्चालन गर्न पाइने सहायक प्रजिअ शाहीले बताए ।
बैंकको एटिएम सञ्चालनमा प्रयोग हुने सवारीसाधन, समाचार संकलनका लागि सूचना विभागबाट जारी हुने सवारीसाधन, कृषि उपज तथा औजार ढुवानी साधन र प्रशासनबाट अनुमति प्राप्त साधन चल्न पाउनेछन् ।