संक्रमण रोक्न के गर्ने ?

सोमबार, १३ बैशाख, २०७८
डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनको परिवारका तीनजना सदस्य अस्पतालमा कोरानाविरुद्ध उपचाररत छन् । उनी एक साताअघि मात्र विजेताको अनुहारमा कुम्भमेलाबाट फर्किएका थिए । कुम्भमेलामा विशेष सम्मानसमेत पाएका उनले सम्भावित कोरोना संक्रमण रोक्ने खालका कुनै पनि सुरक्षा उपाय नअपनाएको देखिने तस्बिरहरू पनि सार्वजनिक भएका थिए ।

अहिले कुम्भमेलालाई संक्रमण फैलाउने एउटा महत्वपूर्ण परिघटना मानिएको छ । यता आएर नेपालमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ । विभिन्न अस्पतालहरूले अब थप चाप व्यहोर्न नसक्ने बताइरहेका छन् । चिकित्सकहरू आफ्नो क्षमताले बढ्दो संक्रमणको दबाब थेग्न नसक्ने बताइरहेका छन् । आमरूपमा एउटा भयको वातावरण फैलिएको छ । कोरोनाले युवाहरूलाई बढी लक्षित गरेजस्तो देखिन्छ । 

लकडाउन गरेर संक्रमणको चेन टुटाउनुपर्नेमा त्यो पनि त्यति सहज छैन । अर्थतन्त्रमा देखिएको भारी गिरावटले पनि यसमा प्रमुख भूमिका खेलिरहेको छ । संक्रमण रोक्नका लागि सरकारले गरेको ढिलासुस्तीको सबैभन्दा बढी दुरुपयोग सत्ताधारी दल र प्रधानमन्त्री स्वयंले गरिरहेका छन् । यसै साता उनले केही कार्यक्रममा ठूला भिड जम्मा गराउन भूमिका खेले । रामको मूर्ति स्थापना गर्ने क्रममा बालुवाटारदेखि देवघाट हुँदै माडीसम्म फैलिएको भिडको कारक पनि सरकार नै थियो ।

नेकपा एमालेले माडीमा देशका विभिन्न जिल्लाबाट सयौँको संख्यामा आममानिसलाई उतारेको थियो । त्यो भिडमा स्वास्थ्य मापदण्ड अपनाउन लगभग असम्भव थियो । त्यसका परिणामहरू कहिले देखिने हो भनेर सबै संत्रस्त हुनुपर्ने अवस्था छ । यता धरहराको उद्घाटनका नाममा पनि त्यसरी नै भिड जम्मा गरियो । गाउँ–गाउँमा राजनीतिक प्रकृतिको जमघट, भेला र सभाहरू आयोजना हुने क्रम रोकिएको छैन ।

बढीमा तीन साताको लकडाउन गर्न सक्ने हो र प्रभावकारी रूपमा क्वारेन्टाइन तथा अलगावको व्यवस्थालाई लागू गर्ने हो भने सम्भावित भयावह संक्रमणको विस्तारलाई रोक्न सम्भव छ 

 यस्ता जमघटमा जानेहरूको ठूलो हिस्सा कोरोनाविरुद्धको खोप नलगाएकाहरूको छ । मूलतः युवामा बढ्दो प्रभाव देखाएको यो लहरले पार्ने प्रभावहरू तत्काल न्यूनीकरणका उपाय नचाल्ने हो भने यसले ल्याउने भयावह परिदृश्यको नेपाली समाजले सामना गर्नु त परको कुरा अनुमान गर्न पनि असहज हुने खालको छ ।

भारतमा भइरहेको हाहाकारले त्यही भन्छ । भारतीय धनाढ्यले आफ्नो देशमा असुरक्षित हुने देखेर विदेश पलायन भइरहेको दृश्यले यही भन्छ । अहिले नै बाँकेको नेपालगन्जले एउटा सन्देश दिइरहेको छ कि कोरोनालाई कम नआँकौँ । लकडाउन गर्दा हुने सम्भावित आर्थिक क्षतिको तुलनामा नियन्त्रणबाहिर जाने गरी संक्रमण फैलिँदा हुने आर्थिक, सामाजिक र पारिवारिक विनाशको प्रभाव निकै भयावह हुन सक्छ । 

मानिस–मानिसबीचको सम्पर्क कम गरेर मात्रै नियन्त्रण गर्न सकिने यो संक्रमणको नियन्त्रणका लागि अहिले पनि बढीमा तीन साताको लकडाउन गर्न सक्ने हो र प्रभावकारी रूपमा क्वारेन्टाइन तथा अलगावको व्यवस्था लागू गर्ने हो भने सम्भावित भयावह संक्रमणको विस्तारलाई रोक्न सम्भव छ । तर, आफ्नै स्वास्थ्य मन्त्रालयको चेतावनी बेवास्ता गर्दै सरकारकै मन्त्रीहरू र सत्ताधारी दलका नेताहरूले तीव्र रूपमा कोरोना फैलाउन खेलिरहेको भूमिकाले क्रमशः आउँदै गरेको आँधीतर्फको संकेत गरिरहेको छ, त्यसैले सबै बेलैमा सचेत बनौँ । सतर्क होऔँ ।

सम्पादकको रोजाइ

सुझावित समाचार