टिनको छानामुनि पढ्दै आएका विद्यार्थीलाई पंखा सहयोग

सोमबार, ६ बैशाख, २०७८
डिजिटल संस्करण

बाराको एक सामुदायिक विद्यालयमा लायन्स क्लब अफ सिमराले पंखा जडान गरिदिएको छ । गर्मीयाममा तातो छानामुनि बसेर पढ्न बाध्य जितपुरसिमरा– ११अम्बाटारस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीका लागि क्लबले १० थान पंखा सहयोग गरेको हो ।

क्लबका प्रेसिडेन्ट हंकल्पित न्यौपानेले साेमबार एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक सुधामाप्रसाद यादवलाई पंखा हस्तान्तरण गरेका हुन् । कक्षा पाँचसम्म पठनपाठन हुने उक्त विद्यालयमा कुल तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । ०४४ मा स्थापना भएको विद्यालयमा हालसम्म पंखा जडान नहुँदा गर्मीयाममा टिनको छानामुनि कष्टपूर्ण रूपमा पठनपाठन हुँदै आएको थियो ।

तराईको चर्को घाममा विद्यार्थी तथा शिक्षकलाई समेत समस्या हुने गरेको भन्दै विद्यालयका प्रधानाध्यापक यादवले लायन्स कलब अफ सिमराले गरेको यो सहयोगले ठूलो राहत मिल्ने बताए  । हालसम्म विद्युत्समेत जडान नगरिएको उक्त विद्यालयमा पंखा वितरण गरेर मात्र छाडिँदा समस्या समाधान नहुने भएपछि क्लबले आफैँ विद्युत् जडानसमेत गरेको प्रेसिडेन्ट न्यौपानेले बताए । 
 

सुझावित समाचार