लोकतन्त्रका लागि अशुभ संकेत

आइतबार, २९ चैत, २०७७
डिजिटल संस्करण

गत ११ फागुनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला उल्टाइदिएपछि आह्वान गरिएको संसद्को बैठक चल्न थालेको एक महिनाभन्दा बढी भयो । तर, प्रधानमन्त्री एकपटक पनि संसद्को बैठकमा भाग लिन गएका छैनन् । जननिर्वाचित प्रतिनिधिसभाप्रति प्रधानमन्त्रीको यो अर्घेलो सामान्य होइन । किनकि, सबैभन्दा ठूलो दलको संसदीय दलका नेता र प्रधानमन्त्री सिंगो सदनका पनि नेता हुन् । त्यसैले संसद्लाई प्रभावकारी बनाउने जिम्मेवारी उनैको हो । तर, उनले यो संवैधानिक राजनीतिक जिम्मेवारीलाई मात्र होइन, जनताको मतलाई पनि अवमूल्यन गरेका छन् । अहिले संसद् चलिरहेको छ र सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छैन । त्यसैले संसद्मा वर्तमान सरकारको प्रतिनिधित्व सामान्य अवस्थामा जस्तै छ । तर, प्रधानमन्त्री र संसद्को सम्बन्ध असामान्यजस्तो देखिएको छ । संविधान र लोकतन्त्रका लागि यो पक्कै पनि शुभ संकेत होइन । 

संसद् चलिरहेको छ र सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छैन । तर, प्रधानमन्त्री र संसद्को सम्बन्ध असामान्यजस्तो देखिएको छ । संविधान र लोकतन्त्रका लागि यो पक्कै पनि शुभ संकेत होइन ।

प्रधानमन्त्रीसँग अहिले पनि प्रतिनिधिसभाका एक सय २० सांसद छन् । राष्ट्रिय सभामा पनि ३१ सांसद प्रधानमन्त्रीकै दलका छन् । पार्टीको प्रतिनिधिका रूपमा जनताबाट निर्वाचित आफ्ना कुनै पनि सांसदलाई मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ । पार्टी र जनताले पत्याएका कुनै पनि सांसदलाई मन्त्री बनाउनु स्वाभाविक पनि हो । तर, आफ्ना संसद् सदस्य सबै अयोग्य हुन् भने जस्तो गरी प्रधानमन्त्री ओलीले संसद््मा नभएका सदस्यहरूलाई पनि शपथ दिलाएका छन् । आवश्यक परेको वेला गैरसांसदलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था छ । तर, संसद्मा भएका सदस्य अयोग्य हुने र गैरसांसद योग्य मान्ने त्यस्तो परिस्थिति किन सिर्जना भयो ? ओलीलाई यो विषयले सहज बनायो होला, तर नेपालको राजनीतिलाई भने स्वाभाविक सन्देश दिएको छैन । यसअघि युवराज खतिवडा पनि यही शैलीमा अर्थमन्त्री बनाइएका थिए । तर, त्यत्रो ठूलो आवश्यकता महसुस गरेर अर्थमन्त्री बनाइएका खतिवडाले नेपालको अर्थतन्त्रमा त्यस्तो के मानक बनाए भन्ने प्रश्न अनुत्तरित नै छ ।

गत वैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर सांसद अपहरण र खरिद गर्ने प्रयास भएको थियो । त्यसका लागि सरकार बदनाम भए पनि त्यही शैलीको खेल अहिले पनि जारी छ । यस्तो शैलीले संसदीय राजनीति, संवैधानिक लोकतन्त्र र उदारवादी व्यवस्थाका सबै मानदण्ड उल्लंघन गर्छ । नयाँ संविधान बनेपछिको पहिलो निर्वाचित संसद् र त्यसबाट बनेको सरकारको यो हबिगत भएपछि यसबाट कस्तो संस्कार तथा नजिर बस्ला, अनि पछि आउने शासकले कस्तो लोकतन्त्रको अभ्यास गर्लान् भनेर कल्पना गर्नु पनि नमिठो अनुभूति हुन्छ । यो हाम्रो समयको एउटा त्रासदी हो !

सम्पादकको रोजाइ

सुझावित समाचार