दुर्गम बस्तीमा स्वास्थ्य सेवा कठिन

शुक्रबार, २७ चैत, २०७७
डिजिटल संस्करण

हेलम्बु गाउँपालिकाले सुत्केरी जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी खटायो

केही वर्षयता सिन्धुपाल्चोकको सबै स्थानीय तहमा वडापिच्छे स्वास्थ्य केन्द्र स्थापना भएका छन् । स्वास्थ्य संस्थाको संख्यामा वृद्धि भएसँगै उपचार सेवामा स्थानीयको पहुँच पनि विस्तार भएको छ । सडक पुगेको सुगम ठाउँमा सेवा सहज बने पनि पहाड र हिमालका दुर्गम बस्तीमा स्वास्थ्य समस्या ज्युँका त्युँ छ । 

समस्या समाधानका लागि हेलम्बु गाउँपालिकाले सुत्केरी घरभेट कार्यक्रमलाई बस्तीबस्तीमा पुर्याएको छ । सरकारी मापदण्डअनुसार महिलाले गर्भवती जाँच चारपटक र सुत्केरीपछि स्वास्थ्य परीक्षण तीनपटक गर्नुपर्छ । नवजात शिशु जन्मेको सात दिनभित्र दुईपटक स्वास्थ्य जाँच गर्नुपर्छ । पहिलो परीक्षण तीन दिनभित्रै गर्नुपर्छ । स्वास्थ्यकर्मीले आमा र बच्चा दुवैको जाँच गर्छन् । सुत्केरी आमा र बच्चालाई सात दिनमा दुईपटक स्वास्थ्य जाँच गराउने सरकारी प्रावधानको मुख्य उद्देश्य बाल मृत्युदर घटाउनु हो ।

स्वास्थ्य केन्द्र पुग्न दिनभरको हिँडाइ
हेलम्बुको हिमाली गाउँ तार्केघ्याङ र मेलम्चीघ्याङबाट स्वास्थ्य केन्द्र भएको स्थान तिम्बु आउन दिनभर लाग्छ । त्यसैगरी हेलम्बुको दुई बर्थिङ सेन्टर इचोक र सिरिसे आउन पनि हिमाली गाउँका महिलालाई एक दिन ठ्याक्कै लाग्छ । ट्र्याक मात्रै खोलिएको कच्ची सडकमा गाडी चलाउन चालक मान्दैनन् । बर्खामा त मोटरसाइकलसमेत पुग्दैन । नवजात शिशुको जन्मपछि सुत्केरी आमालाई स्वास्थ्य केन्द्र पुर्याउन निकै कठिन भएको जनगुनासो बढेपछि गाउँपालिकाले सुत्केरी आमा र बच्चाको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीलाई घरघर खटाउने निर्णय गरेको छ ।

सुत्केरीको स्वास्थ्य जाँचमा जाने स्वास्थ्यकर्मीले दैनिक ६ सय भत्ता पाउँछन् । सुत्केरी घरभेट कार्यक्रम चलाएको ६ महिना अवधिमा घरमै पुगेर दुई सय ७४ पटक स्वास्थ्य जाँच कार्यक्रम गरिएको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले बताए । ‘गत वर्ष सात नवजात शिशुको मृत्यु भएको थियो । यो वर्ष कसैको मृत्यु भएन,’ उनले भने । घरमै सुत्केरी भएका आमा र बच्चाको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी हप्तामा दुईपटक गाउँ पुग्ने गरेको उनले सुनाए । बर्थिङ सेन्टरमा सुत्केरी भएका आमा र बच्चाको दोस्रो स्वास्थ्य परीक्षण पनि घरमै पुगेर गरिन्छ । टाढाटाढाबाट स्वास्थ्य केन्द्र आएका सुत्केरी महिला दिनभरको हिँडाइले बिरामी पर्ने, रगत बग्नेजस्ता समस्याले ग्रसित भई आमा र बच्चा दुवैको स्वास्थ्य बिग्रिने भएकोले गाउँपालिकाले कडाइपूर्वक यो अभियान चलाएको हो । 

सुत्केरी र दीर्घरोगीलाई थप सुविधा
सुत्केरी महिलालाई सरकारले तीन हजार पोषण खर्च दिन्छ । हेलम्बुले थप तीन हजार थपेर दिने गरेको छ । सुत्केरी गराउन इचोक र सिरिसे बर्थिङ सेन्टर आइपुगेका गर्भवतीलाई गाउँपालिकाले तीन दिनका लागि पोषिलो खानाको व्यवस्थापन गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी बस्ने छुट्टै कोठा छन् । दुई बर्थिङ सेन्टरमा आठ कोठा छन् । थप पोषण खर्च दिन थालेकाले बर्थिङ सेन्टरमा आउने गर्भवतीको संख्या बढेको छ । स्थानीय तह गठन भएको सुरुको वर्षमा पाँचजनाले बर्थिङ सेन्टरमा आएर सुत्केरी गराएका थिए । यो वर्ष चैतसम्म एक सय ६० जनाले यहाँबाट सुत्केरी गराएका छन् । 

गर्भवती महिलालाई सुत्केरी गराउन लाग्ने एम्बुलेन्स खर्च गाउँपालिकाले व्यहोर्दै आएको छ । ‘कतिपय महिलालाई सुत्केरी गराउन काठमाडौं लानुपर्छ, त्यसको व्यपस्थापन पनि गाउँपालिकाले नै गर्छ,’ हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले भने । कोरोना भाइरसको महामारीपछि वृद्धवृद्धा र दीर्घरोगीले उपभोग गर्ने सबै प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको उनले बताए । हाल गाउँपालिकाभित्र नौ सय त्यस्ता दीर्घरोगी छन् । दीर्घरोगीले सेवन गर्ने औषधि पनि घरघरमै पुर्याउने गरिएको छ ।

सुझावित समाचार