डढेलोले खाएको स्वास्थ्य

आइतबार, १५ चैत, २०७७
डिजिटल संस्करण

केही दिनयता काठमाडौंलगायत देशका अधिकांश भागको वायुमण्डल धुलो र धुवाँयुक्त तुवाँलोले ढाकिएको छ । शुक्रबार त केही बेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू भिजिबिलिटीको अभावमा बन्द गर्नुपर्यो । शनिबार पनि दिनभरजसो काठमाडौंको आकाश धुम्म रह्यो बादलले होइन, धुलो धुवाँयुक्त वायुले । वायुमण्डलमा प्रदूषणको मात्र तोकिएको स्तरभन्दा निकै माथि पुग्यो । सास फेर्न गाह्रो हुने, आँखा पोल्ने, जिउ शिथिल हुनेजस्ता स्वास्थ्यसम्बन्धी समस्याले वयस्क पनि बिथोलिए । बालबालिका र वयोवृद्धको स्वास्थ्यमा थप नकारात्मक असर पार्ने यो प्रदूषण अति उच्च थियो । त्यसैले काठमाडौं विश्वकै प्रदूषित सहरको एक नम्बरमा उक्लेको सूचना फैलियो । 

प्रदूषणले स्वास्थ्यमा मात्र होइन, प्रकारान्तरले अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव छाड्ने पक्का छ । डढेलो नियन्त्रणमा तत्काल प्रभावकारी कदम चालिएन भने यसले हाम्रो मानव स्वास्थ्य र अर्थतन्त्रको स्वास्थ्य दुवैलाई ऋणात्मक बनाउनेछ, त्यसैले वेलैमा सचेत बनौँ ।

कुनै समय मेक्सिको सिटीको जस्तो या चीनको राजधानी बेइजिङको जस्तो यो अवस्था अवश्य पनि चिन्ताजनक हो । स्वास्थ्य मापदण्डका दृष्टिले संकटकालीन अवस्था पनि हो । यसै पनि काठमाडौंको वायुमण्डल हिउँद र सुक्खा महिनामा प्रदूषणयुक्त हुने गरेको छ । त्यसमाथि पछिल्ला दिनमा देखिएको यो प्रदूषण अलि डरलाग्दो छ । वायुमण्डलमा हुने प्रदूषण मापन गर्ने एक्युआईको मात्रा ५० भन्दा तल रहनुपर्नेमा शुक्रबार ललितपुरको भैंसेपाटीमा ४७०, भक्तपुरमा ४२३, महाराजगन्जमा ३५३, दमकमा ३१३ र सौराहामा २४६ रहेको थियो । यसले देशभरकै वायुमण्ड उच्चतम जोखिमयुक्त रहेको देखाउँछ ।

यसको मुख्य कारणका रूपमा भने यसपटक डढेलोलाई मानिएको छ । बिहीबार ४५ जिल्लाका ४७९ ठाउँमा र शुक्रबार ४५ जिल्लाका ४३७ ठाउँका जंगलमा डढेलो फैलिएको बताइएको छ । केही दिनदेखि पानी नपरेको र हावाहुरीसमेत नआएका कारण प्रदूषित भएको वायुमण्डलमा डढेलेको धुवाँ र खरानी मिसिँदा अहिलेको गम्भीर अवस्था सिर्जना भएको हो । यो घटनाले डढेलो नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन नगरी नहुने अवस्थामा पुगेको संकेत गर्छ । यसै पनि यस वर्ष हिउँदे वर्षा कम भएको र लामो समयदेखि सुक्खा मौसम कायम रहेकाले डढेलोको जोखिम बढेको छ । त्यसमाथि यस्तो डढेलो मानिसको लापर्बाहीका कारण नै फैलिने गरेको छ । किसानले वनपाखा डढाएर वर्षाका लागि घाँस बन्दोबस्त गर्ने, जंगली जन्तु भगाउने परम्परागत उपायका रूपमा पनि डढेलो लगाउँछन् । 

खेतबारीमा जम्मा हुने घसेटा र खोरिया या पाखो फाँड्दा जम्मा हुने स्याउलापातसमेत डढाएर खेती गर्ने ठाउँ बनाउँदा पनि वायुमण्डललाई प्रदूषित गर्ने गरी धुवाँ उत्पन्न हुन्छ । यो सुक्खा मौसम भएकाले तराई र पहाडका पाखाभित्तामा रहेका कच्ची सडकमा निस्किने धुलो पनि प्रदूषण फैलाउन जिम्मेवार छ । तर, यो मौसममा डढेलो नै प्रदूषणको ठूलो कारण बन्ने गरेको छ । डढेलोले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै वनविनाश गर्ने, हुर्किंदा बिरुवा नष्ट पार्ने, जंगली जनावरको वासस्थान नष्ट गर्ने र ठूलो संख्यामा जनावर र पशुपक्षी मार्ने भएकाले बहुआयामिक रूपमा जीव तथा वनस्पतिको परस्पर आधारित जीवनचक्रमाथि नै नराम्रो प्रभाव पार्छ । जे–जस्तो ढंगले प्रदूषण फैलिएको छ, त्यसले स्वास्थ्यमा मात्र होइन, प्रकारान्तरले अर्थतन्त्रमाथि पनि नकारात्मक प्रभाव छाड्ने पक्का छ । डढेलो नियन्त्रणमा तत्काल प्रभावकारी कदम चालिएन भने यसले हाम्रो मानव स्वास्थ्य र अर्थतन्त्रको स्वास्थ्य दुवैलाई ऋणात्मक बनाउनेछ । त्यसैले वेलैमा सचेत बनौँ । 

सम्पादकको रोजाइ

सुझावित समाचार