सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्टलाई प्राप्ति गरी शुक्रबारबाट एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकका सञ्चालक तथा कर्मचारीहरू सहभागी भएको एक विशेष समारोहबीच सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब २७ अर्ब पुग्नेछ भने ऋण लगानी करिब १ खर्ब १३ अर्ब पुग्नेछ । प्राप्तिपश्चात् बैंकका कुल १ सय ६६ शाखा हुनेछन् । सहमतिअनुसार तिनाउका मिसन सेयरधनीले सय कित्ता सेयरबराबर सिटिजन्सको ९६ कित्ता सेयर पाउनेछन् । प्राप्तिपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
कार्यक्रममा बोल्दै सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष भण्डारीले प्राप्तिपश्चात् बैंकको वित्तीय सूचकांकहरू मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने बताए । त्यसैगरी, साबिकको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष जीवनप्रसाद वझाले तिनाउका ग्राहक, कर्मचारी र लगानीकर्ताको हित र भविष्य सिटिजन्स बैंकमा अझ बढी सुरक्षित हुने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रबलजंग पाण्डेले प्राप्तिपश्चात् बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने बताए ।
सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मर्जरपश्चात् कर्मचारीहरूको उचित व्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरू सञ्चालन गर्ने बताए । बैंकले अब करिब साढे ९ लाख ग्राहकलाई सेवा प्रदान गर्नेछ ।