यन्त्रवत् जीवनयापन गरिरहेका भावविहीन मानिस र ग्राम्य जीवन हेरेर तयार पारिएको अंग्रेजी सरकारको रिपोर्ट पढेर हुनुपर्छ, सन् १८५७–५८ तिरका रचनामा कार्लमार्क्सले दक्षिण एसियाका गाउँलाई ‘अपरिवर्तनीय’ भनेका थिए । तर, यी रिपोर्टहरू दक्षिण एसियाली ग्राम्य समाजको उपरी चित्र मात्र प्रस्तुत गर्थे । त्यसैले, पछि मार्क्सका दक्षिण एसियाली अनुयायी विद्वान्ले नै उनको यस धारणालाई अस्वीकार गरिदिएका थिए ।
तत्कालीन बेलायती सरकारलाई रिपोर्ट पठाउने भारतमा रहेका अंग्रेज अधिकारीहरू दक्षिण एसियामा भएका विविध शासकको उत्थान र पतन, शासनविरुद्धका जनसंघर्षको इतिहास, तत्कालीन समाजका निम्ति अग्रगामी चेतना बोकेका सामाजिक, सांस्कृतिक र धार्मिक संघर्ष र सुधारात्मक अभियानको इतिहासबारे पर्याप्त परिचित थिएनन् सायद, र त्यसको भर पर्नु नै माक्र्सको त्रुटि थियो । मार्क्सको यस त्रुटिपूर्ण आँकलनमा दक्षिण एसियाली ग्राम्य समाजबारे पश्चिमी जगत्मा व्याप्त ‘अपरिवर्तनीय ग्राम’को पारम्परिक समझदारी पनि थियो ।
यद्यपि उनले दक्षिण एसियाका ग्रामीण समुदायको श्रमको पारम्परिक सामन्ती लुट ब्रिटिस साम्राज्यवादीको आगमनपछि तीव्र र निर्मम पुँजीवादी लुटमा परिणत भएको र त्यसैले यस क्षेत्रका पारम्परिक समुदायमा शोषण मुक्तिको चाहना र संघर्ष झन्–झन् तीव्र हुँदै जाने सटिक सम्भावना पनि व्यक्त गरेका थिए । समयले यस सम्भावनालाई सत्य सावित ग¥यो । यसअतिरिक्त दक्षिण एसियाली ग्राम्य जीवनलाई पहिलोपटक श्रमिक कोणबाट विश्व परिदृश्यमा परिचित गराउनु पनि उनको अहं योगदान थियो ।
गाउँबारे सहरिया मानसिकतामा अझै पनि एउटा अपरिवर्तनीय चित्र नै अंकित हुने गर्छ । गाउँको चर्चा हुँदा सहज र मनोरम वातावरण, सौहाद्र्रपूर्ण र यन्त्रवत् पारम्परिक जीवन बाँचिरहेका मानवीय समुदायको चित्र खडा हुन्छ । हरिया वन र खेतहरू, हलो जोतिरहेका किसान, वस्तुभाउका घाँटीमा झुन्डिएको घन्टीको मधुर स्वर, दलानमा हुक्कामा तमाखु तान्दै दुनियाँ संसारको चियोचर्चो गरिरहेका बुढापाकाहरू, खेतमा काम गरिरहेका तथा आफ्ना पिर, व्यथा, आनन्द, आक्रोशलाई लोकगीतका तानमा अनुभूत गरिरहेका पुरुष र महिला श्रमिक, बैलगाडा, पानीको घैला (गाग्रो) टाउकोमा बोकेर घर फर्किरहेकी महिला, अर्धनग्न केटाकेटी, माटाका घर, खरका छाना र धुलौटे र हिलाम्मे बाटा जस्ता ग्राम्य दृश्य मनोमस्तिष्कमा सहजै साकार हुने गाउँका चित्र छन् ।
तर, हाम्रा पाम्परिक गाउँ फेरिँदै छन् । अब गाउँका खेतका गरामा तथा खलिहानमा गाइने पारम्परिक लोकगीतको ठाउँ आधुनिक र फिल्मी गीतले लिँदै छन् । काँचो माटोका घरहरू पक्की इँटाका घरमा फेरिँदै छन् । सडक पिचमा परिणत हुँदै छन् । बिस्तारै दुलहीको चालमा हिँड्ने बयलगाडा र टायर गाडाको स्थान ट्रयाक्टर, मोटरसाइकल, जिप र बसले लिँदै छन् ।
गाउँमा ग्रामीण मानवीय प्रवृत्ति दर्साउने दुईवटा जीवन–सूत्र वाक्य पाम्परिक छन्– ‘उत्तम खेती, मध्यम व्यापार, निषिद्ध चाकरी’, र ‘साँई इतना दिजिए, जामे कुटुम समाय, मै भी भुखा ना रहूँ, साधु भुखा न जाए’ । प्रायः मध्यकालमा विकसित यी सूत्रवाक्यमा कृषिकर्मको प्रतिष्ठित सर्वोच्चता तथा आत्मनिर्भर ग्राम्य समाजको मानवीय सहयोगी प्रवृत्ति अभिव्यक्त हुन्छ । तर, गाउँमा समय फेरिएको छ– ‘उत्तम कृषि’ तल्लो स्थानमा र व्यापार र चाकरी उपल्लो स्थानमा छ । क्रमशः सहर र राजधानीमा थुप्रिँदै गएका सम्पत्तिका कारण आर्थिक रूपमा खस्किँदै गएको गाउँमा अब ‘साधु भुखा न जाए’को गान अप्रिय हुँदै गएको छ । यसको कारण कृषिकार्य घाटाको व्यवसाय हुँदै जानु तथा किसानको भकारी रित्तिँदै जानु हो ।
विगतका केही दशकदेखि तीव्र रूपमा कृषिमा घट्दो आकर्षण यसको सटिक उदाहरण हो । सन् १९८०मा ९० प्रतिशत जनता कृषिकार्यमा संलग्न थिए भने समग्र अर्थतन्त्रमा यसको योगदान दुईतिहाइ थियो, तर हाल कृषि कार्यमा ६०.४ प्रतिशत जनसंख्या संलग्न छ भने अर्थतन्त्रमा यसको योगदान २५ प्रतिशतको हाराहारीमा छ । कृषिकार्यमा आएको यसै ह्रासको फलस्वरूप देशको श्रमशक्ति वैदेशिक रोजगारीमा पलायन हुँदै गएको छ र देशको कुल आयमा ३० प्रतिशतभन्दा बढी विप्रेषणको हिस्सेदारी देखिन्छ ।
यद्यपि क्रमशः विस्तारित हुँदै गएको नवउदारवादी बजारले सिर्जित महँगी तथा बिलासी उपभोग्य सामग्रीको आकर्षणले ग्रामीण श्रमशक्तिको उत्पादन र कमाइलाई पनि पुँजीपतिकै तिजोरीमा थुपारिरहेको छ । देशका दुर्गम गाउँमा समेत कोक, पेप्सी, बियर, महँगा मोबाइल, टेलिभिजन तथा पोप संस्कृतिको उपस्थितिले ग्रामीण समाजलाई नवउदारवादी विश्व बजारले परिवर्तित गरिरहेको सहजै अनुभूत गर्न सकिन्छ ।
बजार र बजारवादमा भिन्नता छ । बजारमा मानिसका आवश्यकताअनुसारका उपभोग्य सामग्री बिक्री हुन्छन् भने बजारवाद वस्तु उत्पादन गरेर विविध प्रचार र आकर्षणको माध्यमबाट आवश्यकता सिर्जना गर्ने व्यावसायिक प्रवृत्ति हो । यो, धनी हुनु प्रतिष्ठित हुनु हो भन्ने मनोभावबाट प्रेरित हुन्छ । यसैकारण विश्व बजारलाई सबैभन्दा प्रतिष्ठित र न्यायपूर्ण स्थलको रूपमा व्याख्या गर्ने विश्व संस्कृति हो । ‘उत्तम खेती...’ को सूत्र वाक्य फेरिएर ‘उत्तम व्यापार र मध्यम चाकरी’मा फेरिँदै जानु पनि यसैको परिणाम हो ।
यसको सांस्कृतिक प्रभाव पनि सहजै देख्न सकिन्छ । अब त धार्मिक कीर्तन पनि व्यवसायको रूपमा विकसित हुँदै छ । गाउँ–गाउँमा हनुमान आराधना मण्डल क्लबको रूपमा छन्, जसले पाँच हजारदेखि ५० हजारसम्मको पारिश्रमिकमा श्रद्धालु भक्तजनको घरमा सुन्दर काण्ड र कीर्तनभजन गर्ने गर्छन् । हाल तराई–मधेसका गाउँमा यी हनुमान आराधना मण्डल जिल्ला र क्षेत्रस्तरीय एक सञ्जालको रूपमा विकसित भएका छन् ।
धार्मिक आवरणमा रहेका यसका पदाधिकारी सामाजिक र सांस्कृतिक रूपमा समेत सोझा ग्रामीण समुदायलाई प्रभावित गर्ने गर्छन् । त्यसैले विविध नामबाट गठित यी कीर्तन मण्डलीहरू ग्रामीण क्षेत्रमा चुनावी राजनेताका निम्ति समेत आकर्षक बन्दै छन् । गाउँमा लोकनाट्य समूहहरू र लोककलाकारहरू अझै छन्, तर लोकमञ्चमा समेत लोकबाजाको ठाउँमा ड्रमसेट, अक्टोप्याडको प्रयोग तथा फिल्मी प्यारोडीको आधिक्यले लोकसंस्कृतिलाई प्रभावित गर्दै छ ।
गहिरिएर हेर्दा नवउदारवादी बजारसँगै गाउँ पस्न थालेको उपभोक्तावादी आधुनिक संस्कृतिले ग्रामीण संस्कृतिलाई निल्दै गइरहेको छ । टेलिभिजन, सिडी प्लेयर र इन्टरनेटको गाउँसम्मको पहुँचले एउटै हुक्कामा पालैपालो तमाखु खाने गाउँले दलानको सामाजिकता हराउँदै गएको छ । अब दलानमा चारजनासँग कुरा गर्दै दुनियाँबारे थाहा पाउनुको साटो घरभित्र टेलिभिजनमा समाचार र अन्य कार्यक्रम देखेर दुनियाँ बुझ्नु सजिलो र आधिकारिक छ ।
टिभी र इन्टरनेटलगायत सूचना सञ्जालका सकारात्मकता पनि छन्, तर यसले ग्रामीण समाजलाई सामाजिकता भन्दा पनि आत्मकेन्द्रित बनाउँदै लगेको छ । सूचना र सञ्चारको यो विश्वव्यापी अभूतपूर्व क्रान्ति, बजारको साटो सामाजिक नियन्त्रणमा भएको भए यसका केही नैतिक नियन्त्रण हुने थिए, जसले सामाजिक (राजनीतिक भाषामा समाजवादी) मान्यताको रक्षा र पर्वाह गथ्र्यो, र यसको विकास समाजवादी दिशामा हुन्थ्यो । तर, सूचना र सञ्चारका माध्यममा नवउदारवादी पुँजीवादको नियन्त्रणका कारण यसले सामाजिकताका सबै मान्यता, प्रवृत्ति र अन्तर्शृङ्खलालाई ध्वस्त गर्दै गइरहेको छ । गाउँमा दलान हराउँदै जानु र व्यवसायमूलक क्लब बढदै जानु यसैका उदाहरण हुन् ।
विकासको दृष्टिले हेर्ने हो भने गाउँमा सडक, स्वास्थचौकी र विद्यालय गाउँ–गाउँमा देख्न सकिन्छ । पोसाक लगाएर बालबालिका विद्यालय गइरहेको र घर फर्किरहेको हेर्नु सुखद नै छ । तर, गुणस्तरहीन र वर्षैपिच्छे मर्मत गर्नुपर्ने खालका सडक, पियन र स्वास्थ्य सहायकको बलमा चलेका नाम मात्रका स्वास्थ्यचौकी र गुणस्तरीय शिक्षणको साटो नातागोतालाई रोजगारी दिलाउने स्थलको रूपमा विकसित विद्यालयले विकासको नग्न र कुरूप तस्बिर प्रस्तुत गर्छ । निजी विद्यालयको तुलनामा सरकारी विद्यालयको अत्यन्त कमजोर परिणामले माथिदेखि तलसम्म सरकारी बजेटको निरर्थकता तथा लुट प्रस्ट हुन्छ ।
सहरजस्तै अब गाउँमा पनि गुणस्तरीय स्वास्थ्य र शिक्षाका निम्ति निजी अस्पताल र क्लिनिक तथा निजी विद्यालयको भर पर्नुपर्छ । यद्यपि ग्रामीण मध्यम वर्गको हलुका पकेटअनुसार नै मध्यम शुल्कमा सञ्चालित अस्पताल र विद्यालयले गुणस्तरीयताको प्रचार गरे पनि मध्यम गुणस्तरकै सेवा प्रदान गर्छन् । गाउँमा सञ्चालित यी निजी अस्पताल र विद्यालय पनि उपभोक्ता ठग्ने नवउदारवादी लुटका साधन नै छन् ।
ग्रामीण समाज यस चौतर्फी लुटबाट अनजान छ भन्ने पनि होइन । तर, यस नवउदारवादी उपभोक्ता संस्कृति, जसमा संस्कृति, बजार, विकास र लोकतन्त्र पनि छ, यसको संरक्षण ठूलादेखि छुटभैया राजनेता, राजनीतिक कार्यकर्ता तथा प्रशासन तन्त्रले गरिरहेको छ ।
गाउँको नैसर्गिक स्वभाव उसको सहनिर्भरता तथा मानवीयता हो । यसलाई बचाउनु र सही दिशामा डोर्याउनुको चुनौती भनेको वैयक्तिक विमर्शभन्दा निश्चित दूरी कायम गरेर वास्तविक अर्थमा जनवादी विमर्श खडा गर्नु हो । वस्तुतः यो गाउँ मात्रै होइन, समग्र देशकै आवश्यकता हो ।
यथार्थ के हो भने वर्तमान चुनावी राजनीतिको धरातलीय आधार नै यसै विकासको नयाँ पाठमाथि बन्छ, जसमा शिक्षा, स्वास्थ्यलगायत जनसेवाका सबै कामहरू अर्थात् विकासका निम्ति सरकार र जनताको बीचमा बिचौलिया चाहिन्छ । बिचौलिया छ भने कमिसन छ । यो कमिसन नै चुनाव जित्ने मूल सूत्र हो । गाउँमा पहिला सबै ठीक नै थियो, भन्ने होइन । ईष्र्या, द्वेष र फोहोरी चुनावी राजनीति पहिले पनि थियो, तर यति नग्न भने थिएन । नवउदारवादले राज्यका सबै कामहरू ठेकेदारको जिम्मा दिएर राजनीतिज्ञलाई कमिसनको रकममा मोज गर्न प्रेरित गर्छ । र, यस्तो भयो भने नैतिकता र जनप्रतिबद्धता महत्वहीन हुन जान्छ ।
गाउँमा विकास एउटा सुखद अनुभूति हो, तर यसका निम्ति दैलोबाट कोही भोको नजाऊन् भन्ने मानवीय ग्रामीण नैसर्गिकता जीवित रहनुपर्छ । सामाजिक आमूल परिवर्तनका निम्ति संघर्ष र सार्थक प्रयत्नको सारभूत उद्देश्य पनि यही हो । वस्तुतः देशमा सामाजिक परिवर्तनको राजनीतिक संघर्ष यिनै मानवीय उद्देश्यका निम्ति गरिएका थिए । तर, चुनावी राजनीतिको अन्धो प्रतिस्पर्धाले हाम्रा सम्पूर्ण राजनीतिक सरोकारहरूलाई सङ्कीर्ण निजीत्वमा परिणत गरिदिएको छ ।
वर्तमान नवउदारवादी चरणमा अधिकतम् १० प्रतिशतको विकासलाई सबैको विकासका रूपमा परिभाषित र प्रचारित गरिने बजारसामु राज्यसत्ताले घुँडा टेकिदिएको छ । चुनावी राजनीतिक दलभित्र अधिकांश बजारको दलालीमा छन्, केही नेता कि त मौन छन्, कि खोक्रो असहमति व्यक्त गरिरहेका छन् ।
चुनावी राजनीतिभन्दा बाहिर पनि केही राजनीतिक दल छन्, जसमध्ये केही अकर्मण्यतामा छन् भने केहीको सार्थक विरोध पर्याप्त छैन । वस्तुतः रोजगारीविहीन आर्थिक प्रगतिविरुद्ध विकल्पिक ढाँचा प्रस्तुत गर्नुको साटो मौनता वा अमूर्त विरोध गाउँका निम्ति असमञ्जस र राज्यसत्ता र राजनीतिप्रति अविश्वासको मुख्य कारण बन्दै छ । होइन भने हरेक राजनीतिक परिवर्तनको प्रत्येक संघर्षमा गाउँ जीवन्त सहभागी बन्दै आएको छ ।
गाउँको नैसर्गिक स्वभाव उनको सहनिर्भरता तथा मानवीयता हो । यसलाई बचाउनु र सही दिशामा डोर्याउनुको चुनौती भनेको वैयक्तिक विमर्शभन्दा निश्चित दूरी कायम गरेर वास्तविक अर्थमा जनवादी विमर्श खडा गर्नु हो । वस्तुतः यो गाउँ मात्रै होइन, समग्र देशकै आवश्यकता हो । समाजको सबैभन्दा तल्लो वर्ग र समुदाय, जो उत्पीडनमा छ र सुविधा र अधिकार पाउनेमा सबैभन्दा पछिल्लो पंक्तिमा छ । तर, उपरी रूपमा मौनझैँ देखिने गाउँ परिवर्तनशील छन् र नवउदारवादी लुटबाट मुक्तिको तागत पनि गाउँमै सञ्चित छ । किनभने नेपाल अहिले पनि गाउँहरूकै देश हो ।