अनलाइनमार्फत विदेशबाट ५ सय डलरसम्मको सामान किन्न सकिने

सोमबार, ९ चैत, २०७७
डिजिटल संस्करण

सर्वसाधारण नेपालीले अनलाइनबाट विदेशका सामान खरिद गर्न पाउने भएका छन् । राष्ट्र बैंकले आइतबारबाट लागू हुने गरी अनलाइनबाट वार्षिक ५ सय अमेरिकी डलरबराबरको वस्तु वा सेवा खरिद गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 

यो व्यवस्थासँगै ग्राहकले एकैपटक वा पटक–पटक गरेर वार्षिक कुल ५ सय डलर वा सोबराबरको अन्य विदेशी मुद्राको सटही सुविधा पाउने भएका हुन् । राष्ट्र बैंकले जारी गर्ने प्रिपेड कार्डमार्फत सर्वसाधारणले विदेशबाट वस्तु वा सेवा खरिद गर्न सक्नेछन् ।

यस्तो सुविधा लिन चाहने ग्राहकलाई वाणिज्य बैंक तथा विकास बैंकहरूले सो रकमबराबरको प्रिपेड कार्ड जारी गरिदिनेछन् । कानुनले प्रतिबन्ध लगाएका बाहेक वस्तु तथा सेवा आयातका लागि यस्तो कार्ड प्रयोग गर्न सकिनेछ । कार्डमा ग्राहकले विदेशमा सेवा बेचेर गरेको आर्जनसमेत जम्मा गर्न सकिने व्यवस्था मिलाउनसमेत राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको छ । 

विदेशमा सेवा निर्यात गर्ने ग्राहकले आर्जन गरेको रकम र ५ सय डलर जोडेर हुने रकमबराबर मात्रै विदेशबाट वस्तु वा सेवा खरिदका लागि खर्चिन पाउनेछन् । यस्ता ग्राहकले पनि वर्षमा बढीमा ५ हजार डलरभन्दा बढी खर्चिन पाउनेछैनन् । यी ग्राहकको प्रिपेड कार्डमा ५ हजारभन्दा बढी रकम मौज्दात राख्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यदि ग्राहकले विदेशमा सेवा निर्यातबाट ५ हजारभन्दा बढी आम्दानी गरेमा सोभन्दा अधिक रकम ती ग्राहकको स्वदेशी वा विदेशी मुद्रा रहने बैंक खातामै जम्मा गरिदिनुपर्ने व्यवस्थासमेत गरिएको हो । 

यसरी बैंकहरूले जारी गर्ने प्रिपेड कार्ड अनलाइनबाट आयात गर्ने प्रयोजनबाहेक अन्य प्रयोगमा ल्याउन पाइनेछैन । ग्राहकहरूले प्रिपेड कार्ड सुविधा एकभन्दा बढी बैंक तथा विकास बैंकबाट लिन पाउनेछैनन् । हाल युट्युब च्यानलबाट युवाहरूले विदेशी मुद्रा आर्जन गरिरहेका छन् । यस्तो रकम भित्र्याउने  औपचारिक प्रणाली नहुँदा अन्य माध्यमबाट रकम ल्याउने गरिरहेका छन् ।

त्यस्तै, गेमिङ, अनलाइन सामान खरिदका लागिसमेत नेपालीहरूले विदेशमा रहेका साथीभाइ वा अन्यको सहयोग लिने र ती साथीभाइका आफन्तलाई यहीँ भुक्तानी गरेर हिसाब मिलाउनेलगायत गर्दै आएका छन् । सामाजिक सञ्जालहरूमा विज्ञापनका लागिसमेत यसअघि यस्तै अनौपचारिक बाटो प्रयोग भइरहेको थियो ।  

See More On

सुझावित समाचार