अस्थिरताका अतिरिक्त प्रभावहरू

सोमबार, २ चैत, २०७७
डिजिटल संस्करण

आइतबार बिहान सिरहाको मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी सातजना सेवाग्राही र कर्मचारी घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ । विस्फोटको जिम्मा जनतान्त्रिक तराई मोर्चाका नाममा राजनीति गर्दै आएका जयकृष्ण गोइतको समूहले लिएको छ ।

सेलाउँदै र सक्रिय हुँदै अस्तित्व देखाएर बसेको गोइत समूहले यो विस्फोट गराउनुअघि आइतबार नै  उक्त समूहका उपाध्यक्ष भनिने रामविलास यादवले सरकारसमक्ष आत्मसमर्पण गरेका थिए । मूलधारबाहिर रहेका समूहलाई शान्तिमार्गमा ल्याउन वर्तमान सरकारले खेलेको भूमिकालाई देशले उच्च मूल्यांकन गरेको  छ ।

पहिले सिके राउत र अहिले नेत्रविक्रम चन्द विप्लवको समूहलाई सरकारले मूलधारमा ल्याएको छ । त्यसैले जयकृष्ण गोइतजस्ता समूहका सबै नेतालाई पनि हिंसाबाट बाहिर ल्याउन सरकारले पहल गर्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ । तर, यस्ता समूहलाई समेट्न किस्ता–किस्तामा पहल गर्ने कि एकमुष्ट इच्छाशक्ति देखाउने भन्ने प्रश्न छ । एकमुष्ट पहल गर्नका लागि फरक–फरक समूहका आकांक्षालाई होइन, देशको आकांक्षालाई सम्बोधन गर्नुपर्छ । सामाजिक न्यायसहितको समृद्धिले मात्र स्थिर थिति बनाउन सक्छ र सम्पूर्ण पक्षलाई जोड्न सक्छ । 

समाजको मनोविज्ञानमा पर्ने प्रभावलाई नै गोइतजस्ता समूहले प्रयोग गर्ने हुन् । त्यसैले अस्थिरता अन्त्य गर्न राजनीतिक दलहरूले जतिसक्दो छिटो प्रयास गर्नु अत्यावश्यक छ । अन्यथा थप जटिलता र अन्तरविरोध उत्पन्न हुनेछन् ।
 

गोइत समूहले यो विस्फोट त्यति वेला गराएको छ, जतिवेला देशमा राजनीतिक अस्थिरता छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सिर्जना गरेका तरंग अझै कायम छन् । अदालतले असंवैधानिक कदम चालेको ठहर गरेपछि पनि प्रधानमन्त्रीले त्यसलाई नैतिक विषय मानेका छैनन् । सरकारको बहुमत छ कि छैन भनेर राजनीतिक रूपमा परीक्षण गर्ने प्रयास भएको छ । तर, यो सरकार रहन्छ वा वैकल्पिक सरकार बन्छ भन्ने पनि प्रस्ट भएको  छैन । त्यसमाथि प्रधानमन्त्रीकै दल राजनीतिक र कानुनी रूपमा अन्तर्संघर्षमा छ ।  

केन्द्रमा मात्र होइन, प्रदेश संसद्मा पनि नेकपा विभाजनको असर परेको छ । प्रदेश १ र बागमती प्रदेश सभामा मुख्यमन्त्रीहरूका विरुद्ध तीन महिनापहिले दर्ता भएका अविश्वासका प्रस्तावहरू अनिर्णीत छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूसमेत बहुमत कायम हुने कि गुमाउने भन्ने अनिश्चयमै सरकार सञ्चालन गरिरहेका छन् ।

यी सबै घटनाले देशको राजनीतिलाई तरल बनाइदिएको छ । यसका अनेक प्रभाव समाज, अर्थतन्त्र, कर्मचारीतन्त्र र शान्ति–सुरक्षाजस्ता कैयौँ क्षेत्रमा पर्न थालेको छ । सिरहा बम विस्फोटका पछाडि पनि यस्तै अस्थिरताबाट फाइदा उठाउने नियत प्रस्ट देखिन्छ । समाजको मनोविज्ञानमा पर्ने प्रभावलाई नै गोइतजस्ता समूहले प्रयोग गर्ने हुन् । त्यसैले अस्थिरता अन्त्य गर्न राजनीतिक दलहरूले जतिसक्दो छिटो प्रयास गर्नु अत्यावश्यक छ । अन्यथा थप जटिलता र अन्तरविरोध उत्पन्न हुनेछन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार