घना बस्ती भएको चैनपुर बजार प्राकृतिक विपत्बाट जोगाउन पूर्वतयारी छैन
चैनपुर नगरपालिका–७ जिरो प्वाइन्टमा रहेको श्रेष्ठ आयल सप्लायर्समा ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा ११ फागुनको दिउँसो एक्कासि आगलागी भयो । अति प्रज्वलनशील पदार्थ भएकाले आगो बेस्सरी दन्कियो । केहीले हत्तपत्त दमकल बोलाउनुपर्ने भन्दै खबर गर्न खोजे । तर, नगरपालिकामा दमकल भए पो आउँथ्यो ।
वरपरका संरचना मात्र होइन, सिंगो बजारमै जोखिम देखिएपछि नियन्त्रणका लागि तत्कालै स्थानीय जुटे । केही बेरमै नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली पनि आइपुगे । नजिकै निर्माणाधीन चैनपुरे करुवा पार्कमा काम गरिरहेका दुईवटा एक्स्काभेटर ल्याइयो । तिनले माटो र बालुवा हालेर दुई घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आयो ।
तर, त्यतिन्जेलसम्ममा पम्प जलेर ध्वस्त भइसकेको थियो । करिब एक करोडबराबरको क्षति भयो । पम्पमा कार्यरत सबिन कर्माचार्य सामान्य घाइते भए भने उनी बस्ने घरमा पनि केही क्षति पुग्यो । नजिकै रहेको रेडियो अरुण एफएफमा समेत क्षति पुग्यो । रेडियोको प्रसारण बन्द नै गर्नुपर्ने भयो ।
इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले आगलागी भएको खबर पाउनेबित्तिकै बजारवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा दुई घन्टापछि आगो नियन्त्रणमा आएको बताए । ‘चैनपुरनजिकै निर्माणाधीन रहेको चैनपुरे करुवा पार्कमा काम गरिरहेका दुईवटा एक्स्काभेटर थिए । तिनलाई ल्याएर माटो र बालुवा हानेर आगो नियन्त्रणमा लियौँ,’ प्रहरी निरीक्षक खतिवडाले नयाँ पत्रिकासँग भने, ‘चैनपुर बजारमा दमकलको आवश्यकताचाहिँ टड्कारो रूपमा छ ।’
इन्धन भण्डारण रहेको पम्पमा आगलागी भएपछि चैनपुर बजारवासी त्रसित भए । आगो फैलँदै धेरै ठूलो क्षति हुने हो कि भन्ने डरले धेरै घर भत्काइए । यसरी धेरै क्षति हुन गयो । धन्न सबैको पहलमा आगो नियन्त्रण भएकाले सिंगो बजारले क्षति व्यहोर्नुपरेन ।
यो त प्रतिनिधि घटना मात्र हो । आगलागी भइहाले सिंगै चैनपुर बजार ठूलो क्षति भोग्न बाध्य हुने अवस्था छ । किनभने, चैनपुर नगरसँग एउटा पनि दमकल छैन । ‘पहिले–पहिले त बेग्लै कुरा भयो, सिंहदरबार नै जनताको घरदैलोमा आयो भनिएपछि पनि त्यसको अनुभूति गर्न पाएका छैनौँ,’ चैनपुर बजारका एक व्यवसायीले नयाँ पत्रिकासँग भने, ‘कुनै एउटा घरमा आगो लाग्यो भने सिंगै बजार जलेर ध्वस्त हुने जोखिम छ, तर नगरपालिकाले कुनै पूर्वतयारी गरेको देखिँदैन ।’
खाँदबारी नगरपालिकासँग मात्रै दमकल
संखुवासभामा दशवटा स्थानीय तह छन् । खाँदबारी नगरपालिकासँग मात्र दमकल छ । अन्य कुनै पनि स्थानीय तहले अहिलेसम्म दमकल खरिदमा चासो देखाएका छैनन् । संघीयता कार्यान्वयनसँगै स्थानीय सरकारहरू स्वायत्त बनेका छन् । आवश्यक योजना बनाई तिनका लागि बजेट विनियोजन गर्न उनीहरूलाई कसैले छेक्दैन । स्थानीय सरकारले बर्सेनि विभिन्न शीर्षकमा करोडौँ रुपैयाँ खर्च पनि गरिरहेको छ ।
तर, जुनसुकै समयमा आइपर्ने प्राकृतिक विपत्तिका घटनामा नगर नेतृत्व त्यति संवेदनशील नबनेको स्थानीयको गुनासो छ । ‘पूर्वतयारीमा ध्यान दिने हो भने हरेक स्थानीय तहले आफूसँग कम्तीमा एउटा दमकल खरिद गरेर राख्नुपर्छ,’ स्थानीय भन्छन्, ‘त्यसपछि मात्र जहाँकहीँ आगो लाग्यो भने जनधनको क्षति न्यून गर्न सकिन्छ ।’ दमकल मात्र होइन, भूकम्प र आगलागीजस्ता घटनाबाट सुरक्षित रहन खुला चौर र पानीसहितको पोखरीको व्यवस्था गर्नेतिर पनि नगरपालिकाको ध्यान जानुपर्ने हो । तर, स्थानीय सरकारको चासो देखिँदैन ।
बजार क्षेत्रमा झन्झन् घना बस्ती
चैनपुर नगरपालिका संखुवासभाको पुरानो व्यापारिक केन्द्र हो । यहाँ पुराना शैलीमा माटो र ढुंगाबाट निर्माण गरिएका ऐतिहासिक घर अझै पनि छन् । बजार क्षेत्रमा बाक्लै घर छन् । पछिल्लो समय घर निर्माणको क्रम बढेकाले बजार क्षेत्र झन् घना हुँदै छ । तर, बजार क्षेत्रमा आइपर्ने प्राकृतिक विपत्तिका वेला आगो निभाउने दमकल छैन । पेट्रोल पम्पमा आगलागी भएपछि स्थानीयले टड्कारो रूपमा दमकलको आवश्यकता महसुस गरेको रेडियो अरुणका स्टेसन मेनेजर दुर्गाबहादुर कटवालले बताए ।
‘बजार क्षेत्रमा आगलागी भयो भने कसरी नियन्त्रण गर्ने भन्नेमा स्थानीय सरकारले चासो दिएको देखिँदैन,’ स्टेसन मेनेजर कटवालले भने, ‘पम्पमा आगलागी हुँदा त इन्धन नियन्त्रणका लागि पानीभन्दा माटो र बालुवा नै उपयुक्त हुने भएकाले एक्स्काभेटरको प्रयोग ठूलो उपयोगी साबित भयो । तर, व्यक्तिका घरमा, बजार क्षेत्रमा आगलागी भयो भने कसरी नियन्त्रण गर्ने भन्नेमा कुनै पूर्वतयारी गरेको देखिँदैन । यसले चैनपुर बजारमा आगलागीको जोखिम र क्षति दुवै बढाएको छ ।’
दमकल किनेर उपयोग हुँदैन : भरतकुमार खत्री नगरप्रमुख
चैनपुर नगरपालिकाले अहिलेसम्म दमकल खरिद गरेको छैन । चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले अहिलेसम्म दमकलको आवश्यकता महसुस नै गरेका छैनन् । उनको भनाइबाटै त्यस्तो बुझिन्छ ।
नगरप्रमुख खत्री भन्छन्, ‘चैनपुर बजार क्षेत्रका सबै ठाउँमा दमकल प्रवेश गर्ने सडक छैनन् । जबसम्म बजार क्षेत्रका सबै ठाउँमा दमकल छिर्ने सडक विस्तार हुँदैन, तबसम्म दमकल किनेर काम छैन ।’
वास्तवमै बजार क्षेत्र साँघुरो छ । तर, त्यसलाई फराकिलो बनाउनेदेखि पूर्वतयारीका लागि आवश्यक उपकरण, साधन–स्रोत र जनशक्ति तयार पार्ने जिम्मेवारी नगरपालिकाकै हो ।
बजार क्षेत्र मात्र होइन, त्यसको दायाँबायाँका घरमा आगो लागिहाले पनि नियन्त्रणका लागि नगरपालिकासँग कुनै उपाय छैन । त्यस्तो अवस्थामा खाँदबारी नगरपालिकामा रहेको एउटा दमकल गुहार्नेभन्दा अर्को विकल्प चैनपुर नगरसँग छैन ।
‘बिस्तारै गर्मी बढ्दै छ । सुक्खायामका कारण आगलागीको जोखिम पनि बढिरहेको छ, तर नगरपालिकाले पूर्वतयारीमा ध्यान दिएको छैन,’ चैनपुरवासी आफ्नो निरीहता सुनाउँछन्, ‘आगो लागिहाले, न पानी पाइने, न माटो र बालुवा ल्याएर निभाउन सकिने भो ।’