मुलुकको राजनीति थप अन्योलतर्फ

सोमबार, २४ फागुन, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीको नाममा आफ्नो आधिकारिकताको दाबी पेस गर्दै अध्यक्ष ऋषिराम कट्टेलले दिएको निवेदनमाथि फैसला गर्दै सर्वोच्चले निवेदकको हक कायम गरिदिएको छ । यससँगै ०७५ जेठ ३ गते औपचारिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच भएको एकीकरणपश्चात् दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व समाप्त भएको छ ।

अब संसद्मा माओवादी केन्द्र र एमालेका रूपमा दुई अलग–अलग राजनीतिक दल पूर्ववत् रूपमा अस्तित्वमा रहनेछन् । फैसलाले अहिलेको राजनीतिक अवस्थामा पार्ने प्रभाव, पार्टीको एकीकरणलाई नै खारेज गर्ने सर्वाेच्चको फैसलाको कानुनी व्याख्याको आधार र एमाले–माओवादी एकताको परिणाम के हुनेछ भन्ने विषय अनिश्चित छ ।

राजनीतिक शक्तिका दृष्टिले कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपालमा अस्तित्वमा रहेका विभिन्न कम्युनिस्ट घटककै गठन, विघटन र पुुनर्गठनका क्रममा निर्माण भएको एउटा घटक हो । राजनीतिक शक्तिका दृष्टिले यो किनारीकृत छ, यसको संसद्मा उपस्थिति पनि छैन र जनमानसमा पनि यसको उल्लेख्य प्रभाव देखिँदैन । तर, यो दल पनि नेपालको संविधानअनुरूप वैधानिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको हो ।

निर्वाचन आयोगले गरेको त्रुटिलाई सच्याउने अवसर र जिम्मेवारी अदालतसामु थियो, तर अदालतको फैसलाले नाम सच्याउने होइन, पूरै प्रक्रियालाई नै खारेज गरेको छ । यो फैसलामा कानुनभन्दा पनि राजनीति हाबी भएको छ ।

नेपालको संविधानले यसको व्यक्तित्वलाई अरू ठूला भनिएका राजनीतिक दलसरह स्वीकार गर्छ, संरक्षण गर्छ । तर, ऋषि कट्टेलको नेतृत्वमा रहेको नेकपा हुँदाहुँदै उही नाममा अर्को दलदर्ता हुनु कानुनी रूपमा अस्वाभाविक थियो । निर्वाचन आयोगले गरेको त्रुटिलाई सच्याउने अवसर र जिम्मेवारी अदालतसामु थियो, तर अदालतको फैसलाले नाम सच्याउने होइन, पूरै प्रक्रियालाई नै खारेज गरेको छ । 

यो फैसलामा कानुनभन्दा पनि राजनीति हाबी भएको छ । नाम सच्याउने बाटो हुँदाहुँदै सर्वोच्चले राजनीतिक निर्णय गरिदिँदा कुनै पनि दल, तिनका नेताले आफ्नो मार्गचित्र आफैँ कोर्न सक्ने बाटो अवरुद्ध भएको छ । यसले विचार, शैली र आस्था नमिल्दा पनि प्राविधिक रूपमा अमुक पार्टीमा बस्नैपर्छ भनेर राजनीतिक नेतृत्वको विवेकलाई बन्धक बनाइदिएको छ । कुनै पनि नेता कुन दलको हैसियतभित्र बस्नुपर्छ भनेर अदालतले निश्चित गर्नु भनेको आफैँमा एउटा राम्रो नजिर होइन । 

यो फैसलाले संसद्मा अघिल्लो निर्वाचनपछि कायम रहेको एक दल या मोर्चाको सहज बहुमतको अवस्था खारेज गरिदिएको छ । आज खारेज भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दल र पार्टी केन्द्रीय समितिमा देखिएको विभाजनको अभ्यास अब कुन दिशातफ जान्छ भन्ने विषयले भावी राजनीति गन्तव्य तय हुनेछ । जुन आशाका साथ जनताले उक्त दल या मोर्चालाई सहज बहुमत दिएका थिए, त्यसको सम्मान गर्न नजान्दा उनीहरूले जनतामा निराशाको भाव सिर्जना गरिदिएका छन् । यो फैसलापछि मुलुकको राजनीति थप अन्योल र निराशातिर जाने पक्का छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार