भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै

बिहिबार, २० फागुन, २०७७
डिजिटल संस्करण

रुपन्देहीको बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले चार करोड ४१ लाख ७० हजार रुपैयाँ दिने भएको छ । भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उपमहानगरपालिकाबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’अनुरूप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’अन्तर्गत नयाँ भवनको निर्माण हुने भारतीय दूतावासले जनाएको छ । सन् १९७१ मा स्थापना भएको नहरपुर माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध छ । विद्यालयले प्लस टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ । विद्यालयमा अध्ययन गरिरहेका कुल ११२७ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा छन् । 

भारतले सन् २००३ यता स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र सार्वजनिक उपयोगिताका क्षेत्रमा साबिकको ‘साना विकास परियोजना’ र अहिलेको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’अन्तर्गत नेपालको सातैवटा प्रदेशमा चार सय ४६ वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ । रुपन्देही जिल्लामा मात्रै १० गरी प्रदेश ५ मा ४१ वटा परियोजना सञ्चालनमा छन् । 

भारतले पाँच अर्ब ८० करोड रुपैयाँ पुनर्निर्माण अनुदानमा ०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएका आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ । ‘पुनर्निर्माण कार्यक्रमअन्तर्गत आठवटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालयको काम अघि बढिरहेको छ,’ भारतीय दूतावासले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय परियोजनाका लागि पनि टेन्डर प्रक्रिया अघि बढिरहेको छ ।’

सुझावित समाचार