पूर्वमन्त्री भट्टराईद्वारा अग्निपीडितका लागि पाँच लाख सहयोगको घोषणा

बुधबार, १९ फागुन, २०७७
डिजिटल संस्करण
पूर्वमन्त्री भट्टराईद्वारा अग्निपीडितका लागि पाँच लाख सहयोगको घोषणा

योगेश भट्टराई, पूर्वमन्त्री

विकट हिमाली जिल्ला ताप्लेजुङमा बर्सेनि साना र ठूला आगलागीका घटना भइरहन्छन् । आगलागी नियन्त्रणका लागि पर्याप्त पूर्वतयारी नहुनु, स्थानीयमा सचेतना नहुनुलगायत कारणले ताप्लेजुङ प्रत्येक वर्ष जलिरहन्छ । रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङका अनुसार जिल्लामा प्रत्येक वर्ष करिब ५० बढी घर आगलागीका कारण खरानी हुन्छन् । ‘केही ठूला आगलागीका घटना बाहिर आउँछन् । जिल्लाका विभिन्न ठाउँमा आगलागी भइरहन्छ,’ उनी भन्छन्, ‘फाट्ट–फुट्ट आगलागी हुँदा पनि जिल्लामा प्रत्येक वर्ष ५० बढी घर जलिरहेकै हुन्छन् ।’

पूर्वतयारीको नाममा जिल्लामा एउटै मात्र दमकल छ । सदरमुकाम रहेको फुङ्लिङ नगरपालिकाले गत वर्ष एउटा दमकल खरिद गरेको थियो । भौगोलिक विकटताका कारण कतै आगलागी भइहाल्यो भने पनि दमकल पुग्न मुस्किल पर्छ । ‘दमकल सदरमुकाममा हुन्छ । उडाएर लैजान मिलेन । गुडाएर लैजानुपर्यो ।

आगो नियन्त्रणका लागि तालिमप्राप्त जनशक्ति पनि सदरमुकाम नै हुन्छ जान समय लाग्छ,’ ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले भनिन्, ‘त्यहाँ पुग्दा ठूलो क्षति भइसकेको हुन्छ । मुख्यतः भौगोलिक विकटताले नै आगो नियन्त्रणमा समस्या देखियो ।’ भौगोलिक विकटताका कारण आगलागी भइहाल्दा पनि उद्धारका लागि मुस्किल भएको उनले बताइन् । 

ताप्लेजुङमा पूर्वतयारीको नाममा एउटा दमकल मात्र रहेको ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराई बताउँछन् । ‘पूर्वतयारी भनेको त साधन स्रोत हो । ताप्लेजुङमा एउटा दमकल मात्र छ । त्यो पनि गत वर्ष मेरो पहलमा आएको हो,’ उनी भन्छन्, ‘मैले आगो नियन्त्रणका लागि एउटा योजनाबारे छलफल पनि गरेँ । सोलुखुम्बुमा सय–सय मिटरको फरकमा पम्पहरू छ । आगो लाग्दा प्रयोग हुन्छ । अरूवेला खानेपानीको रूपमा प्रयोग गर्न सकिन्छ ।’ उनले जिल्लामा अव्यवस्थित बिजुलीका तार, पुराना घरका कारण धेरै आगलागीका घटना भएको बताए । 

ताप्लेजुङमा प्रत्येक वर्ष आगलागीका घटना हुन्छ । जसका कारण बर्सेनि धेरै नागरिक घरबारविहीन हुन्छन् । पूर्वमन्त्री भट्टराईका अनुसार साँघुरो ठाउँमा साना रहेका झुप्रा घरका कारण पनि आगलागीका घटना धेरै हुने गर्छ । ‘घरहरू झुप्रा छन् । खरको छानो भएका, टिनको छानो भएका, काठका पुराना घर छन्,’ भट्टराई भन्छन्, ‘विद्युत्का तार पुराना जमानका छन् सर्ट हुने र आगलागी हुने खतरा उस्तै छ ।’ आगलागीपीडितको सहयोगका लागि नेकपा नेता भट्टराईले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

सुझावित समाचार