१४ वर्षअघि शिलान्यास भएर लामो समय अलपत्र परेको रेसुंगा विमानस्थल निर्माणले अहिले गति लिएको छ । ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले सो विमानस्थल शिलान्यास गरेका थिए । पछिल्लो समय भने रेसुंगा विमानस्थल निर्माणको कामले गति लिएको छ । अहिले विमानस्थलमा अन्तिम चरणका काम भइरहेका छन् ।
टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम भइरहेको छ । टर्मिनल भवनसहित कन्ट्रोल टावर निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इन्जिनियरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले सम्झौता गरेको छ । टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड पाँच लाख २९ हजार ६ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले जानकारी दिए ।
४ चैत ०७६ मा भएको सम्झौताअनुसार भवन र टावरको काम ०७८ असोज मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ । निर्माण कम्पनी अहिले टर्मिनल भवनको पहिलो तला ढलान गर्ने तयारीमा रहेको छ । त्यस्तै, अर्को महŒवपूर्ण संरचना धावनमार्ग कालोपत्रे गर्ने काम सुरु भएको छ । धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । रौताह हरिहरि जेभीले अहिले धावनमार्ग कालेपत्रेका लागि सब बेस बिछ्याउने काम गरिरहेको छ ।
अझै बेस र कालोपत्रे गरेर दुई चरणको काम बाँकी रहेको विमानस्थल सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिए । तापक्रम पनि सुधार भइरहेकाले केही दिनमै कालोपत्रेको काम गरिने परियारले बताए । रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रेका लागि ०७६ सालमा सात करोड २५ लाखमा निर्माण सम्झौता गरेको थियो ।
गत कात्तिकसम्म काम सक्नुपर्ने भए पनि कोभिड, निर्माण सामग्री अभाव र निर्माण व्यवसायीको ढिलासुस्तीले समयमै काम नसकिएको हो । परियारले पुनः साढे सात महिना ठेक्का म्याद पाएकाले काम धमाधम भएको बताए । धावनमार्गसहितका सबै काम केही समयमै सकिने परियारले विश्वास व्यक्त गरे । त्यस्तै, विमानस्थल घेराबारको काम सकिएको छ । मौसम हरिस निर्माण सेवा डोल्पाले १६ पुस ०७६ मा ९१ लाख घेराबारको कामका लागि सम्झौता गरेको थियो ।
दसैँबाट नियमित उडान गर्ने लक्ष्य
रेसुंगा विमानस्थल ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेका थिए । सुरुका वर्षमा निर्माण समितिले काम गरिरहेको थियो । तर, जग्गा अधिग्रहण र बजेटको अभावले करिब सात–आठ वर्ष विमानस्थल निर्माणले गति लिएन ।
०७२ सालबाट विमानस्थल निर्माणको काम नियमित भएको छ । हाल पनि पर्यटनमन्त्री रहेका ज्ञवालीले विमानस्थल निर्माणमा विशेष चासो दिएकाले काम नियमित भएको रेसुंगा नगरपालिकाका प्रवक्ता पदम अर्यालले बताए । आफूहरूले पनि निरन्तर चासो र अनुगमन गरिरहेकाले बीचमा कुनै समस्या नआए आउने दसैँबाट नियमित उडान गर्न सकिने अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार जग्गा अधिग्रहणदेखि कटिङ, फिलिङ, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावनमार्ग र टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्म करिब ३५ करोड खर्च हुनेछ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको छ । रेसुंगा विमानस्थलमा २५ जेठ ०७५ मा तारा एयरको विमानले परीक्षण उडान गरेको थियो । अहिले विमानस्थलमा भइरहेको कामले स्थानीय चाँडै नियमित उडान सुरु हुने आशामा छन् ।