नेकपाका स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन सुरु गरेको बताएका छन् । ‘संसद् विघटन भयो भने संविधान विस्थापित हुन्छ, संविधान अपांग हुन्छ र संविधान कोमामा जान्छ,’ उनले भने, ‘आज यो संविधान कोमामा पुऱ्याउने काम भएको छ, लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन सुरु गरिएको छ ।’
प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको विरोध सभामा गुरुङले कामचलाउमा परिणत भइसकेको सरकारले तथानामी रूपले राजनीतिक नियुक्ति गरिरहेकोप्रति विरोध गरे ।
गुरुङले ताजा जनादेशको नाममा वैशाखमा चुनावको मिति घोषणा गरे पनि त्यो निर्वाचन नहुने बताए । ‘संविधानले पाँच–पाँच वर्षमा आवधिक निर्वाचन हुने परिकल्पना गरेको छ, त्योभन्दा अर्को निर्वाचन जनताले चिन्दैनन्, नेपाली जनताले चिन्ने भनेको आवधिक निर्वाचन मात्रै हो,’ उनले भने ।
नेता गुरुङले ओलीको प्रतिगमनलाई खारेज गर्नुको विकल्प नभएको भन्दै त्यसका लागि सम्पूर्ण नेपाली जनता एकढिक्का भएर उभिनुपर्ने बताए ।
‘०१७ सालमा महेन्द्रले ‘कु’ गरेका थिए, ०५९ सालमा ज्ञानेन्द्रले ‘कु’ गरे र ओलीले त्यही कु’को निरन्तरताको स्वरूपमा ‘कु’ गरेका छन्,’ उनले भने, ‘तर, यो कु’ हुन हामी दिँदैनौँ, हामी संविधानको रक्षा गर्न सक्षम छौँ, म सबै नेपाली जनतालाई संविधानको रक्षाको निम्ति उभिन आग्रह गर्दछु ।’
उनले संसद्ले सरकार दिन नसकेको अवस्थामा बाहेकको अवस्थामा संसद् विघटनको कुनै व्यवस्था संविधानमा नरहेको उनले दाबी गरे ।