बलात्कारमा परेकी किशोरीको उपचारमा महिला आयोगले सहयोग गर्ने

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

सौतेनी बुबाबाट बलात्कारमा परेकी काठमाडौं जोरपाटीकी किशोरीको उपचारमा राष्ट्रिय महिला आयोगले सघाउने भएको छ । आयोगका अधिकारीहरूले मंगलबार युवती र उनका परिवारलाई भेटेर उपचारमा सहयोग गर्ने बताएका  छन् । 

आयोगकी अध्यक्ष कमला पराजुली, सचिव शान्ता अधिकारी भट्टराईलगायतले वीर अस्पताल पुगेर पीडित र उनको परिवारलाई भेटेर घटनाबारे जानकारी लिएका  छन् । भेटमा युवतीकी आमाले उपचार खर्च जुटाउन आफूहरूलाई समस्या भइरहेको गुनासो गरिन् । ऋण खोजेर छोरीको उपचार भइरहेको उनको भनाइ छ । 

पीडित किशोरीको १० दिन आइसियूमा राखेर उपचार भएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको छ । धागो उद्योगमा काम गर्ने उनको परिवारको आर्थिक कमजोर छ । 

गत १४ माघमा घरमा आमा र बैनी अस्पतालमा भएको बेला सौतेनी बुबाले उनीमाथि बलात्कार गरी हत्या प्रयास गरेका थिए । प्रतिकार गर्ने क्रममा उनको टाउकोमा ढुंगाले हानेर हत्या प्रयास भएको थियो । घटनाको भोलिपल्ट अभियुक्तलाई जनकपुरबाट प्रहरीले पक्राउ गरिसकेको छ । रक्ताम्य र बेहोस अवस्थामा उनलाई भोलिपल्ट अस्पताल पुऱ्याइएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने घाँटीको हड्डी भाँच्चिएको छ । 

नयाँ पत्रिका मंगलबार यससम्बन्धी समाचार प्रकाशन भएपछि आयोगले सो घटनाबारे चासो लिएर भेट्न गएको हो । पीडित किशोरीको उपचारका लागि सरकारबाट खर्च उपलब्ध गराउन सरकारसँग आफूहरूले पहल गराउने आयोगकी सचिव शान्ति अधिकारी भट्टराईले बताइन् । साथै पीडित र उनको परिवारलाई आयोगले परामर्श दिने भएको छ ।

सुझावित समाचार