इन्टरनेटमा चर्को कर लिने मुलुकमा नेपाल

सर्वसाधारणका लागि अति आवश्यक भइसकेको इन्टरनेटमा पाँच प्रकारका करमार्फत ४५.७६ प्रतिशत भार

सोमबार, २६ माघ, २०७७
डिजिटल संस्करण

सरकारले इन्टरनेटमा लगाएको चर्को करका कारण इन्टरनेट शुल्क महँगिएको छ । सरकारले हाल इन्टरनेट प्रयोग गरेबापत उपभोक्ताबाट ४५.७६ प्रतिशत कर असुल्दै आएको छ । आमसर्वसाधारणका लागि सामान्य बनिसकेको इन्टरनेटमा पाँच प्रकारको कर इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले तिर्नुपर्ने र सो रकम सेवाग्राहीबाट नै लिनुपर्ने कारण इन्टरनेट शुल्क महँगो पर्ने वल्र्डलिंकका कम्युनिकेसन निर्देशक लक्ष्मण यादवले बताए ।

चर्को करका कारण सरकारले देखेको डिजिटल नेपालको परिकल्पना असम्भव रहेको उनको जिकिर छ । ‘सरकारले एकातिर डिजिटल नेपाल, इ–पेमेन्टको कुरा गरिरहेको छ । अर्कोतर्फ चर्को कर थोपरेर इन्टरनेट शुल्क महँगो बनाएको छ,’ उनले भने । 

इन्टरनेटमा कर लगाउने मुलुकमध्ये नेपाल अग्रपंक्तिमा रहेको दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले बताए । आमसर्वसाधारणका लागि पनि अति आवश्यक सेवामा पर्ने इन्टनेटको पहुँचलाई सहज बनाउनुपर्ने उनको धारणा छ । तर, चर्को कर असुलेर यसको प्रयोगलाई संकुचन बनाउँदै लगेको उनले बताए । 

अन्तर्राष्ट्रिय दूरसञ्चार प्राधिकरण (आइटियू)ले सार्वजनिक गरेको आइसिटी प्राइस ट्रेण्ड २०१९ प्रतिवेदनअनुसार दूरसञ्चारमा नेपाल चर्को कर भएको मुलुकको सूचीमा परेको छ । प्रतिवेदनअनुसार दक्षिण एसियामा  श्रीलंकाले ३७ प्रतिशत, बंगलादेशले २१, भारतले १८, माल्दिभ्सले ६ र भुटानले ५ प्रतिशत कर लगाउँदै आएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ब्राजिल, जाम्बिया, डोमिनिकल रिपब्लिक, केन्या, मलावीजस्ता मुलुक पनि दूरसञ्चारमा चर्को कर उठाउने मुलुकमा पर्छन् ।  

अहिलेको व्यवस्थाअनुसार इन्टरनेट सेवाप्रदायकले ग्रामीण दूरसञ्चार विकास कोषबापत आफ्नो आम्दानीको २ प्रतिशत वार्षिक रूपमा दूरसञ्चार प्राधिकरणलाई बुझाउँदै आएका छन् । त्यस्तै, रोयल्टीबापत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई वार्षिक ४ प्रतिशत कर बुझाउँदै आएका छन् । ब्यान्डविथ आयातबापत १० प्रतिशत, दूरसञ्चार सेवाशुल्कबापत १३ प्रतिशत र मूल्य अभिवृद्धि करबापत सेवाप्रदायकले थप १३ प्रतिशत कर बुझाउँदै आएका छन् । 

सेवाप्रदायकले बुझाउँदै आएको करमध्ये ब्यान्डविथ आयात गर्दा लाग्ने कर पहिला ५ प्रतिशत थियो । तर, अहिले सरकारले बढाएर १० प्रतिशत पुर्याएको छ । त्यस्तै, दूरसञ्चार सेवाशुल्कबापतको कर थप गरेको छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले यो कर थप गरेका हुन् । डिजिटल नेपालको सपना पूरा गर्न इन्टरनेटलाई सस्तो र सहज बनाउनुपर्ने प्राधिकरणका वरिष्ठ निर्देशक खनालको भनाइ छ । अन्यथा सरकारले देखेको इ–पेमेन्ट, इ–कमर्सको सपना पूरा हुन नसक्ने खनालले बताए । 

सरकारले परिकल्पना गरेको डिजिटल नेपाल साकार पार्न इन्टरनेटमा लगाउँदै आएको कर घटाउनुपर्ने इन्टरनेट सेवाप्रदायकहरूले बताएका छन् । ग्रामीण दूरसञ्चार विकास कोषबापतको करलाई १ प्रतिशतमा सीमित राख्न उनीहरूले सुझाब दिएका छन् ।

त्यस्तै, रोयल्टी १ प्रतिशत, ब्यान्डविथ आयात गर्दा लाग्ने कर ५ प्रतिशत, दूरसञ्चार सेवाशुल्क ५ प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत कायम गर्दा सेवाग्राहीले अहिलेको भन्दा आधा सस्तोमा इन्टरनेट प्रयोग गर्न पाउने उनीहरूको दाबी छ । करलाई २६ दशमलव ५६ प्रतिशतमा सीमित राख्दा सेवाग्राहीले अहिलेको भन्दा ४१ प्रतिशत सस्तोमा इन्टरनेट प्रयोग गर्न पाउने वल्र्डलिंकका निर्देशक यादवले दाबी गरे ।

सुझावित समाचार