आमहडतालमा तोडफोड र दमन

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण

जनकपुरमा दुई पूर्वमन्त्री प्रहरीको कुटाइबाट गम्भीर घाइते, देशभरि ३३ सवारीसाधन तोडफोड, काठमाडौंमा एउटा ट्याक्सी जलाइयो

नेकपा (प्रचण्ड–माधव समूह) ले बिहीबार गरेको देशव्यापी आमहडतालमा तोडफोड र दमनका घटना भएका छन् । बन्दकर्ताले ३३ वटा सवारीसाधन तोडफोड गरेका छन् । प्रहरीका अनुसार काठमाडौंको सामाखुसीमा एउटा ट्याक्सीमा आगजनी गरिएको छ । त्यस्तै, तीनवटा सरकारी सवारीसाधन र ३० वटा निजी तथा सार्वजनिक सवारीसाधन तोडफोड गरिएको छ । 

विशेष गरी जनकपुरमा प्रहरी प्रशासनबाट दमन भएको छ । शान्तिपूर्ण हडतालमा उत्रिएका बन्दकर्तामाथि प्रहरीले लाठी मात्र होइन, फायर नै खोलेको छ । प्रहारबाट नेकपा नेता एवं पूर्वमन्त्री रामचन्द्र झाको टाउकोमा गम्भीर चोट लागेको छ । पूर्वमन्त्री एवं स्थायी समिति सदस्य मातृका यादवको खुट्टामा चोट लागेको छ । प्रहरीको प्रहारबाट करिराम यादवको टाउको र उमेश यादवको हात र छातीमा चोट लागेको छ । घाइते पूर्वमन्त्रीद्वय, सहिद नगर नगरपालिका मेयर उदय बरबरिया र प्रदीप साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको छ ।

आन्दोलनकारी र प्रहरीबीचको झडपमा १० जना घाइते भएका छन् । विरोधमा उत्रिएका १२ जनलाई गिरफ्तार गरिएको छ । प्रहरीको हवाई फायर र लाठी प्रहारबाट कारण जनकपुर दिनभर आतंकित बन्न पुग्यो । महोत्तरीको बर्दिवासमा पनि प्रहरीले बन्दकर्तामाथि दमन गरेको छ । बर्दिवास क्षेत्रमा पर्ने राजमार्गमा धर्ना बसेका बन्दकर्तालाई हटाउने क्रममा दुई पक्षबीच झडप भएको हो । धर्नामा उत्रिएका बन्दकर्तालाई हटाएपछि आशिंक रूपमा राजमार्ग चलेको थियो । 

बन्दका क्रममा मुलुकभरबाट एक सय ८८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमध्ये तोडफोडमा उत्रिएका तथा जबर्जस्ती बन्द गर्न खोज्ने ८४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिइएकामध्ये नेकपा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य डा. विजय पौडेल, हितमान शाक्य, कृष्ण केसी, प्रतापलाल श्रेष्ठ, अमृता थापा मगरलगायत छन् । पक्राउ परेका सबैलाई महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान परिसरमा राखिएको थियो । 
पक्राउ परेकामध्ये अधिकांशलाई साँझसम्म छाडिएको र केहीलाई छाड्ने क्रम जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए । ‘मुलुकभर आह्वान गरिएको बन्दमा ३३ सवारीसाधन तोडफोड भए । एक सय ८८ जनालाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेकामध्ये अधिकांश बिहीबार साँझसम्म छुटिसकेका छन् । बाँकीलाई पनि प्रक्रिया पूरा गरेर छाड्छौँ,’ उनले भने ।

बन्दको प्रभाव उपत्यकामा पनि
बन्दका कारण उपत्यकाको जनजीवन प्रभावित बन्न पुगेको छ । बन्द आह्वानकर्ता नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नै सडकमा उत्रिएका थिए । प्रचण्ड गाडीमै चढेर सातदोबाटो र पुल्चोक पुगेर धर्नामा बसेका थिए । 

प्रहरीका अनुसार बिहीबार उपत्यकाभित्र ना.१ज २०३९ नम्बरको टाटोसुमो, ना.५ख ९९२९ नम्बरको ट्रक, ना.२ख २०३९ नम्बरको मिनिबस, बा.५ज ६९२० नम्बरको ट्याक्सी, बा.७च ६५३९ नम्बरको कार र ना.६ख ७६१२ नम्बरको ट्रक तोडफोड भएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सुशीलसिंह राठौरका अनुसार बन्दकर्ताले सवारीसाधन तोडफोड गरेका हुन् । 

बन्दकर्ताले एक ट्याक्सीमा आगजनी र ६ वटा सवारीसाधनमाथि तोडफोड गरेका छन् । प्रहरीका अनुसार तोडफोड गर्ने क्रममा टोखाकी ५४ वर्षीया उर्मिला बस्नेत  घाइते भएकी छिन् । आगजनीका कारण प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी जलेर पूर्ण रूपमा क्षति भएको छ । कुम्भनारायण श्रेष्ठले चलाएको उक्त ट्याक्सी सामाखुसी पुगेपछि आगजनी भएको थियो । अज्ञात समूहबाट भएको आगजनीको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । ‘ट्याक्सीमा आगजनी भएको छ । कामै नलाग्ने गरी पूर्ण रूपमा क्षति भएको छ । घटनाको अनुसन्धानमा प्रहरी लागेको छ । आगजनीमा संलग्न हुनेको खोजीकार्य तीव्र पारिएको छ । पक्राउ परेपछि कानु्नी कारबाही हुनेछ,’ उनले भने ।

हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतका छोरामाथि बन्दकर्ताले कुटपिट गरेका छन् । बन्दकर्ताले हेटौंडा–१० मेनरोडस्थित मेयरका छोरा रूपकले जबर्जस्ती मोटरसाइकल चलाएको भन्दै विवाद भएपछि उनीमाथि कुटपिटसँगै मोटरसाइकल तोडफोड गरेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित दुई मन्त्री प्रचण्ड–नेपाल पक्ष गरेको बन्दको समर्थन गर्दै सडकमा निस्किएका छन् । मुख्यमन्त्री शाहीसहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा नारा जुलुससहित सडकमा निस्किएका हुन् । मुख्यमन्त्री शाही, मन्त्रीद्वय केसी र बुढाले वीरेन्द्रनगर–६ को मंगलगढी चोकमा बन्द गर्न सडकमा बसेका थिए ।

आमहडतालकै दिन बिहीबार बिहान नेपाली सेनाले हेटौँडाबाट पोखरासम्म बख्तरबन्द गाडी निकालेको छ । नियमित अभ्यास र बख्तरबन्दको गाडीको चेकजाँचका लागी भन्दै गाडी निकालीएको सेनाले जनाएको छ । गाडी चितवन हुदै पोखरातर्फ गएको थियो । 

मुठभेड निम्त्याउने सरकारी हर्कत असफल : प्रचण्ड–नेपाल समूह 

नेकपाको प्रचण्ड–नेपाल समूहले आफूहरूको सचेत प्रयत्नमार्फत हडताल बदनाम गर्ने र नियोजित रूपमा मुठभेड निम्त्याउने सरकारी हर्कत असफल भएको दाबी गरेको छ । बिहीबारको आमहडतालपछि साँझ संघर्ष समितिका तर्फबाट प्रेस वक्तव्य जारी गर्दै संयोजक नारायणकाजी श्रेष्ठले हडताल असफल पार्न सरकारले नियोजित मुठभेड निम्त्याउन खोजे पनि सचेत प्रयत्नमार्फत विफल पारिएको दाबी गरेका छन् । 

‘शान्तिपूर्ण रूपमा आयोजित आमहडताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रूपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई हाम्रो पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको छ,’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘गृह मन्त्रालयका नाममा वक्तव्य जारी गर्दै जनतालाई आपसमा भिडाउने दुरासययुक्त प्रयत्नको बाबजुद आजको आमहडताल शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।’ 

ट्याक्सी त जल्यो नै, झन्डै आफैँ त्यसैमा जलिनँ : कुम्भनारायण श्रेष्ठ ट्याक्सीचालक

ज्याला मजदुरीको कामबाट दिक्क भएका कुम्भनारायण श्रेष्ठले ट्याक्सी चलाउन सिके । सवारी चालक अनुमतिपत्र पनि लिए । केही महिना त्यत्तिकै बसे । मजदुरी गर्नभन्दा ट्याक्सी चलाउन सजिलो भन्ने लागेपछि साहु खोजे । एक महिनाअघि एक ट्याक्सीसाहु भेटे । दिनको १५ सयदेखि दुई हजार रुपैयाँ दिने सहमतिपछि ट्याक्सी भाडामा लिए र चलाउन थाले ।

सदाझैँ उनी बिहीबार पनि बिहानै उठे । ग्यारेजबाट ट्याक्सी निकालेर थापाथली पुगे । चोकमा पुग्नासाथ यात्रु पाए । यात्रुलाई सोह्रखुट्टे लगे । चोकमा टहलिँदै थिए । फेरि अर्को यात्रु सामाखुसी जाने भन्दै चढे । लिएर सामाखुसीतर्फ लागे । चोकमा मात्रै पुग्दै थिए । ट्याक्सीका यात्रु झरे । सोही ठाउँमा फेरि अर्को यात्रु चाबहिल जान भन्दै उनीकहाँ आए । उनले हुन्छ भने । यात्रु ट्याक्सीमा चढे । उनी आफ्नो सिटमा बसेर सिटबेल्ट कसे । ट्याक्सी अगाडि बढाउने क्रममा उनको ध्यान पछाडि पुग्यो । ग्राहकले त जर्किनको पेट्रोल पो सिटमा खन्याउन थाले । ‘के गरेको’ भन्न नपाउँदै उनीसँगै रहेका अर्कोले सलाई कोरे र आगो सल्काए । क्षणभरमै अलप भए । 

कुम्भनारायण सिटमै थिए । आत्तिएका उनले बल्लतल्ल सिटबेल्ट खोल्न भ्याए । र, जलिरहेको ट्याक्सीबाट भाग्न सके । नत्र उनी पनि ट्याक्सीसँगै खरानी हुने थिए । ‘महिना दिन मात्रै भएको थियो ट्याक्सी भाडामा लिएर चलाउन थालेको । दिनको दुई हजार रुपैयाँ साहुलाई दिनुपर्ने । त्यही भएर बिहानै कोठाबाट निस्किएँ । यात्रु पनि पाइयो । खुसी नै थिएँ । सामाखुसी पुगेपछि भने नसोचेको भयो । ट्याक्सी त जल्यो नै, झन्डै आफैँ त्यसैमा जलिनँ,’ नयाँ पत्रिकासँग उनले भने ।
 

See More On

सुझावित समाचार