निर्वाचनका लागि आयोगले माग्यो सात अर्ब आठ करोड

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सात अर्ब सात करोड ९४ लाख ८० हजार रुपैयाँ निकासाको माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्राचार गर्दै आयोगको आर्थिक कार्यविधिअनुसार निर्वाचनको तयारी, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकम निकासाका लागि माग गरेको हो । 

निर्वाचन आयोग ऐन, ०७३ को दफा २७ र २८ अनुसार निर्वाचनको तयारी, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सात अर्ब सात करोड ९४ लाख ८० हजार रुपैयाँ निकासा गरिदिन मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

कोभिड– १९ को कारण सोसँग सम्बन्धित सुरक्षा सतर्कता र न्यूनतम सुरक्षा व्यवस्थाका लागि मात्रै आयोगले ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ खर्चको प्रस्ताव गरेको छ । 

आयोगले विगतका निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुने गरी कोभिड– १९ को महामारीसमेतलाई ध्यानमा राख्दै खर्चको योजना बनाएको जनाएको छ । ‘महामारीमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कतासमेतलाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने । 

आयोगले विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको जनाएको छ । 

‘नयाँ सामग्री, उपकरण र सवारीसाधन खरिद गर्ने गरी बजेटमा कार्यक्रम राखिएको छैन, निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, एक सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने । 

निर्वाचनसँग सम्बन्धित तालिमहरू अनलाइनको माध्यमबाट समेत गरेकाले खर्च थप मितव्ययी भएको आयोगको दाबी छ । आयोगले १७ र २७ वैशाखका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक कार्यविधि, ०७७ बनाएको छ । निर्वाचनको तयारी र आर्थिक कार्यविधिका विषयमा आयोगले मंगलबार मात्रै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको थियो । 

निर्वाचनमा अन्तर्राष्ट्रिय संस्थाहरूको पर्यवेक्षणबारे छलफल
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्वाचनमा अन्य राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट आउने पर्यवेक्षकहरूसँग सम्पर्कका लागि मन्त्रालयले कर्मचारीको व्यवस्था गर्ने बताएका छन् । वैशाखका लागि घोषणा गरेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन आयोगले बुधबार परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गरेको छ । 

सो क्रममा मन्त्री ज्ञवालीले निर्वाचन पर्यवेक्षणमा आउने सार्क राष्ट्रसहित अन्य राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाका पर्यवेक्षकहरूसँग सम्पर्क अधिकृतको रूपमा खटिने परराष्ट्र सेवाका कर्मचारी परराष्ट्र मन्त्रालयले छिट्टै व्यवस्था गर्ने र मन्त्रालयले आवश्यक पर्ने सबै सहयोग गर्ने बताएका हुन् । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगबाट भइरहेका व्यवस्थापकीय कार्यहरूबारे मन्त्री ज्ञवालीलाई जानकारी गराएका थिए ।

छलफलका क्रममा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको अनुगमन तथा पर्यवेक्षण गर्न आयोगबाट तर्जुमा गरिने कार्यविधिका सैद्धान्तिक एवं व्यावहारिक पक्षमा समेत छलफल भएको थियो । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा ६ मा कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग सम्बन्धित कामकारबाहीको पर्यवेक्षण गर्नका लागि आयोगले अनुमति दिन सक्ने व्यवस्था रहेको छ । 

आयोगले त्यही व्यवस्थाबमोजिम कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई अनुरोध गर्ने र ती नियोग तथा संस्थाबाट समग्र निर्वाचन कार्यसहित मतदानको दिनको समेत पर्यवेक्षण गराउन आवश्यक समन्वय गर्ने विषयमा मन्त्री ज्ञवालीसँग छलफल गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सुझावित समाचार