बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा यस वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकका लागि हेलिकोप्टर टुर सेवा सुरु भएको छ । खप्तड होमस्टेको सहयोगमा यो वर्ष दिपायलदेखि बाजुराको बडिमालिकासम्म हेली टुर सुरु भएको हो ।
आइतबार भएको पहिलो उडानमा नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मी र बोर्डका सदस्य कृष्ण महरा सहभागी भएका थिए । खप्तड होमस्टेका सञ्चालक दीपक खड्काले दिपायलदेखि बडिमालिकासम्मको हेली टुर माघ २५ गतेसम्म प्याकेज रहेको जानकारी दिए ।
खप्तड बडिमालिका दर्शनका लागि नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक रेग्मी, एनटिए केन्द्रका अध्यक्ष अच्युत गुरागाईं र पर्यटन व्यवसायी कृष्ण महरालगायतले खप्तड बडिमालिका दर्शन गरेको होटेल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष खड्काले बताए ।
सुदूरपश्चिमकै धरोहरका रूपमा रहेको बाजुराको बडिमालिका र खप्तडको पर्यटन प्रवद्र्धन गर्न माउन्टेन हेलिकोप्टरको समन्वय तथा खप्तड होमस्टेको सहयोगमा सो प्याकेज ल्याएको खड्काको भनाइ छ ।
सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन गर्न हेली प्याकेजका साथै अन्य विकासका लागि केही गर्न सकिन्छ कि भन्ने सोचले यो प्याकेज आएको खड्काले बताए । ‘धर्तीको स्वर्ग बडिमालिका जाऔँ, धार्मिक महिनामा पुण्य कमाऔँ’ भन्ने नाराका साथ हेलिकोप्टरबाट दिपायल बडिमालिका टुरका लागि प्रतिव्यक्ति २७ हजार ५ सय रहेको र सो हेलिकोप्टरमा चारजना अनिवार्य हुनुपर्ने खड्काले बताएका छन् ।