प्रचण्ड–माधवलाई बाबुराम भट्टराईको सुझाब– खुट्टा नकमाई केपी ओलीसँग सम्बन्धविच्छेद गर्नुहोस्

आइतबार, १८ माघ, २०७७
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओलीको भष्मासुरे प्रवृत्ति अन्त्यका लागि खुट्टा नकमाई अघि बढ्न प्रचण्ड–माधव पक्षलाई आग्रह गरेका छन् । आइतबार रोल्पा आएका भट्टराईले अझै अर्कै खालको भष्मासुर पो हो कि भनेर उदार नहुन र ओलीसँग तत्काल सम्बन्धविच्छेद गर्न उनले सुझाब दिए । 

सम्बन्धविच्छेद नगरेर आन्दोलन गर्दा जसपा र कांग्रेसलाई समेत सहकार्य गर्न असहज भएको उनको भनाइ छ । ‘केपी ओलीसँग सम्बन्धविच्छेद नगरेर कसरी सहकार्य गर्न सकिन्छ, चुनाव चिह्न, नाम सबै एउटै लिएर हिँड्नुभएको छ, कसरी सहकार्य गर्ने ?’ भट्टराईले प्रश्न गरे । प्रचण्ड–माधव पक्ष ओलीसँग अलग भए कांग्रेस, जसपा, अन्य समूह र नागरिक समाज सबैको मोर्चाबन्दी गरेर प्रतिनिधिसभा विघटनविरुद्ध जान सकिने उनले बताए ।

पहिले संविधानलाई ट्र्याकमा ल्याऔँ
भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना र संविधानलाई ट्र्याकमा नल्याउँदासम्म अन्य कुराको परिकल्पना गर्न नसकिने बताए । ‘अहिलेसम्मको उपलब्धिको रक्षाका लागि मिलेर अगाडि बढेर प्रतिनिधिसभा पुनस्र्थापना गर्ने र संविधानलाई ट्र्याकमा ल्याएर चुनाव गराउने, त्यसपछि सुशासन कायम गर्दै मुलुकलाई समृद्धिको सुल्टो बाटोमा डो¥याऔँ,’ भट्टराईले भने । 

केपी ओली गणतन्त्र, संघीयता र परिवर्तनको पक्षमा कहिल्यै नभएको उनको टिप्पणी छ । नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट आएको संसद् र संविधानको नै हत्या गरेर नयाँ वादशाह बन्न खोजेको भन्दै भट्टराईले केपी ओलीजस्तो भष्मासुर बढारिने र नेपालको संविधान र लोकतन्त्र ट्र्याकमा आउने दाबी गरे ।

परिवर्तनमा जनयुद्धको ठूलो योगदान
जनयुद्धकालीन समयमा रोल्पामा लामो समय बसेको स्मरण गर्दै नेता भट्टराईले तत्कालीन सात दल र नेकपाबीचको १२बुँदे समझदारीको ड्राफ्ट रोल्पामै भएको दाबी गरे । उनले भने, ‘रोल्पाकै लोसेबाङमा २०६२ सालको कात्तिकमा १२बुँदेको ड्राफ्ट गरेका हौँ, पछि गिरिजाप्रसाद कोइरालाले म रोल्पा आउन सक्दिनँ, रोल्पा त्यति सुरक्षित पनि हुँदैन, बरु सुरक्षा अपनाएर भारततिर आउनुस्, उतै समझदारी गरौँला भन्नुभएकोले मात्र भारतमा समझदारी भएको हो ।’ 

हावामा दिल्लीमा सम्झौता भएको र माओवादी नेताहरू भारतमै बस्ने गरेको गोयबल्स शैलीको प्रचार गरिएको भन्दै उनले रोष प्रकट गरे । भट्टराईले जनयुद्धको जगमा नै शान्ति सम्झौताअनुसार गणतन्त्र र संघीयता आएको बताउँदै त्यसको प्रमुख श्रेय माओवादी जनयुद्ध भएको दाबी गरे । 

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय प्रणालीमा जानुपर्नेमा उनको जोड थियो । रोल्पा उद्योग वाणिज्य संघले आइतबार लिबाङमा आयोजना गरेको आर्थिक समृद्धिका विषयमा गरिएको अन्तत्र्रिmयामा भाग लिन डा. भट्टराईसहित पूर्वसांसद नवराज सुवेदी रोल्पा आएका थिए ।
 

सुझावित समाचार