गाडीको ठक्करबाट वडासचिवको मृत्यु

शुक्रबार, १६ माघ, २०७७
डिजिटल संस्करण

गाडीको ठक्करबाट धनुषास्थित लक्ष्मीनियाँ गाउँपालिका– १ का सचिव ४५ वर्षीय शिवचन्द्र यादवको मृत्यु भएको छ । लक्ष्मीनियाँ गाउँपालिका– ३ स्थित घरबाट कार्यालय जाने क्रममा यादवलाई जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत सपहीमा ना.४ख १०६९ नम्बरको यात्रुबाहक गाडीले ठक्कर दिएको थियो । 

गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थ केयरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उपचारको क्रममा सचिव यादवको मृत्यु भए पनि प्रहरीले घटनाको विषयमा चासो नदेखाएको भन्दै मृतकका आफन्तले स्थानीय बजरंग चोकमा केही समय विरोध प्रदर्शन गरेका थिए । 
प्रहरीले शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गराई परिवारजनको जिम्मा लगाएको छ । घटनापछि प्रहरीले चालकसहित गाडीलाई नियन्त्रणमा लिएको छ । गाडी सहचालकले चलाएको दाबी मृतकका आफन्तले गरेका छन् । यादवलाई ठक्कर दिएपछि सहचालक फरार भएको यादवका आफन्तको दाबी छ । 

धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकेन्द्र मिश्रले घटनाको अनुसन्धान भइरहेको बताए । 
 

सुझावित समाचार