गएको सोमबारदेखि बुधबारसम्म काठमाडाैँमा जुन स्तरको प्रदूषण देखियो, त्यो काठमाडौंवासीका लागि ठूलो चेतावनी हो । मंगलबारको प्रदूषणस्तरले काठमाडांैलाई ५० वटा सहरमध्ये प्रदूषण नम्बर एक सहरका रूपमा परिचित गराएको थियो । सहरमा धुलोको कण र धुवाँले परत ढाकेको थियो । वातावरणीय प्रदूषणसम्बन्धी जानकारी राख्ने विज्ञहरू र स्वास्थ्य मन्त्रालयले समेत सकेसम्म घरबाहिर ननिस्कन, निस्के पनि मास्क अनिवार्य प्रयोग गर्न र सकेसम्म गाडी नचलाइदिन अपिल गरेका थिए । खासगरी बिहान र साँझको समयमा वायुमण्डल चिसिँदै जाँदा यस्तो प्रदूषण भुइँको नजिक आउने र श्वासप्रश्वासका माध्यमबाट मानिसको फोक्सोलाई असर पार्ने जोखिम हुन्छ ।
सरकारलाई प्रदूषण नियन्त्रणमा प्रभावकारी कदम चाल्नका लागि दबाब दिन जरुरी भइसकेको छ । अन्यथा हामी रोगको थाकमाथि बसेर समृद्धिको सपना देख्ने मूर्खहरूको कोटीमा दर्ता हुनेछौँ ।
यसबाट अल्पकालमा घरबाहिर ननिस्केर या मास्क लगाएर थोरै बच्न सकिएला, तर सबैलाई सधैँ घरबाहिर ननिस्कन असम्भव हुन्छ । प्रदूषणले स्वास्थ्यमा पार्ने असरले निमोनिया, दम, खोकीलगायत अनेक रोग फैलन मद्दत गर्छ । त्यसका कारण व्यक्ति र परिवार तथा समाजले जे–जस्तो नोक्सानी व्यहोर्छ, त्यो समग्र स्वास्थ्य उपचारका क्षेत्रमा राज्यले बर्सेनि गर्ने लगानीका तुलनामा निकै धेरै हुन्छ । यसले अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गम्भीर असर पारिरहेको हुन्छ । यसबाट मानव स्वास्थ्य र अर्थतन्त्रमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्ने भनेको प्रदूषणका कारणको उपचार गर्नु नै हो । यसै पनि काठमाडाैँ उपत्यका प्रदूषण जम्मा हुन अनुकूल भूसतहले बनेको छ । कचौराजस्तो यसको बनोटले यहाँभित्र उत्पादन हुने र बाहिरबाट प्रवेश गर्ने प्रदूषण यतै जम्मा भएर हावामा लामो समय तैरेर बस्छ । पश्चिमी वायु वेगले आयो भने या वर्षा भयो भने मात्र यहाँको हावा सफा हुन मद्दत पुग्ने हो ।
हिजोदेखि प्रदूषणको मात्रा कम हुनुमा पनि पश्चिमी वायुको प्रभावले काम गरेको छ । तर, यस्तो वायु निरन्तर आइरहने होइन, बरु काठमाडाैँमा उत्पादन हुने धुलो र धुवाँ भने निरन्तर उत्सर्जन भइरहन्छ । यसैले काठमाडाैंलाई स्वच्छ राख्न हावा या पानी पर्खिने बाध्यताबाट हामी मुक्त हुनैपर्छ । यसका लागि प्रदूषणका मुख्य कारणका रूपमा रहेका इँटाभट्टा या कलकारखानाको धुवाँ, सवारीसाधनले फाल्ने धुवाँ, फोहोरमा लगाइने आगोबाट निस्किने धुवाँ, निर्माण भइरहेका सडक या घरबाट निस्किने धुलो, पिच राम्ररी नगरिएका सडकमा सवारीले उडाउने धुलो, हिलो बोकेर कच्ची सडकबाट सहरमा झर्ने सवारीका कारण सडकमा बढ्ने धुलोसमेत प्रदूषणका कारण हुन् । यिनको न्यूनीकरणका लागि अहिलेसम्म सरकारले कुनै ठोस योजना ल्याई कार्यान्वयन गरेको छैन । प्रदूषण नियन्त्रणका लागि जे–जति मापदण्ड र नियम या ऐन छन्, तिनको प्रभावकारी कार्यान्वयन भएको छैन ।
मुख्य कुरा त राज्य या सरकारको राजनीतिक इच्छाशक्तिमा यो निर्भर गर्छ । हामीकहाँ जे–जति समस्या आएका छन्, तिनमा यहाँको राजनीतिक नेतृत्वमा प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्ने सोचाइको नितान्त अभाव मुख्य कारण हो । आमजनता र नागरिक समाजले समेत अब आफ्नै हितका लागि पनि एकपटक सरकारलाई प्रदूषण नियन्त्रणमा प्रभावकारी कदम चाल्नका लागि दबाब दिन जरुरी भइसकेको छ । अन्यथा हामी रोगको थाकमाथि बसेर समृद्धिको सपना देख्ने मूर्खहरूको कोटीमा दर्ता हुनेछौँ ।