केजरिवाल दशककै सबैभन्दा ठूला राजनीतिज्ञ हुन्

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

उथलपुथलपूर्ण दशक समाप्त हुँदै गर्दा अरविन्द केजरिवाल वर्तमान समयका सबैभन्दा महत्वपूर्ण राजनीतिक आख्यान हुन्

गत दशकको सबैभन्दा ठूलो राजनीतिक घटना न नरेन्द्र मोदीको शक्तिशाली उदय हो, न त कंग्रेस पार्टीको पतन नै, न राहुल गान्धीको निरन्तर असफलता हो, न त समाजवादी पार्टी र बसपा वा शिवसेना तथा कंग्रेस–एनसिपीजस्ता घोर शत्रुको अप्रत्याशित मिलन । उथलपुथलपूर्ण यो दशक समाप्त हुँदै गर्दा अरविन्द केजरिवाल यो समयका सबैभन्दा महत्वपूर्ण र बिलकुलै नयाँ राजनीतिक आख्यानका रूपमा उदाएका छन् । भारतीय राजस्व सेवाका अधिकारी हुँदै नागरिक समाजका कार्यकर्ता बनेका केजरिवालको कथा त्यस्तो छ, जुन भारतीय राजनीतिमा यसभन्दा पहिले कहिल्यै पनि सुनिएको थिएन । कुनै राजनीतिक आधार, कुनै निर्वाचन अथवा भूगोलको राजनीतिक अनुभव नहुँदा–नहुँदै पनि र कुनै स्थापित संगठनसँग नजोडिएर पनि केजरिवालले अप्रत्याशित प्रदर्शन गरे ।

पहिलो निर्वाचनमै उनले दिल्लीको मुख्यमन्त्रीको कुर्सी कब्जा गरे । त्यसपछि भएको दुइटा विधानसभा निर्वाचनमा उनको उपस्थिति झनै बलियो भएको छ । आम आदमी पार्टी (आप)का प्रमुख केजरिवालले कुनै कुनै कुइनेटामा कमजोरी पनि गरेका होलान् । उनी कुनै विचारधारा या सुसंगत सिद्धान्तसँग भलै नजोडिएका हुन् र कैयौँपटक हैरान पार्ने खालको अपरिपक्वता र प्रशासनिक अनुभवहीनाको भलै परिचय दिएका हुन्, तर उनी ती नगण्य दुर्लभ नेतामध्ये पर्छन्, जसले नरेन्द्र मोदी र अमित शाहको कालमा पनि आफ्नो धरातल बचाएर राखेका छन् । यो त्यति वेला झनै महत्वपूर्ण हुन जान्छ, जति वेला उनी बिलकुलै नयाँ हुन् भन्ने आभास हुन्छ । आफ्नी सहकर्मी नीरा मजुमदारको शब्दमा भन्ने हो भने केजरिवालको उत्कर्ष रातारात उकेरिएको कुनै चामत्कारिक तस्बिरभन्दा कम छैन ।

यसमा कुनै आशंका व्यक्त गर्नु पर्दैन कि मूलधारको राजनीतिमा पहिले पनि यस्ता कैयौँ गैरराजनीतिक व्यक्तित्वले पाइला टेकिसकेका छन्, जसमा सरकारी अधिकारी पनि सामेल छन् । तर, यिनीहरूमध्ये अधिकांशले पहिलेदेखि नै स्थापित कुनै न कुनै राजनीतिक दलबाट राजनीतिमा पाइला चालेका थिए । तर, कसैले पनि केजरिवालले जस्तो तीव्र सफलता हात पार्न सकेनन् । केजरिवाल भारतीय राजनीतिमा चाउचाउजस्तै हुन्– तत्कालै तयार गर्न सकिने । 

केजरिवालको उदय भारतीय राजनीतिक इतिहासमा पछिल्लो दशककै सबैभन्दा ठूलो सफलताको चाखलाग्दो र आकर्षक कथा हो, यसलाई नदेखेझैँ गर्न मिल्दैन

यो दशक नै एक्सनहरूले भरिपूर्ण रह्यो, जसमा पट्यारलाग्दा क्षण निकै कम देख्न पाइए । यसमा सबैभन्दा ठूलो ऐतिहासिक खालको घटना थियो– राष्ट्रिय मञ्चमा नरेन्द्र मोदीको लहलहाउँदो उदय र भारतीय मतदाताबीच उनको अभूतपूर्व लोकप्रियता । अभूतपूर्व यसकारण कि इन्दिरा गान्धी विनासंकोच सबैभन्दा लोकप्रिय नेता रहिन्, तर उनलाई चुनौती दिने राजनीतिक पार्टीहरू त्यति धेरै थिएनन्, जति आजका समयमा मोदीलाई चुनौती दिनका लागि दलहरू छन् । आफ्नो लेफ्टिनेन्ट अमित शाहका साथ एक–एक गर्दै उनले राज्यहरूमा कब्जा गर्दै गए । उत्तरपूर्वसमेत झन्डै ती सबै क्षेत्रमा भाजपाको झन्डा फहरायो, जहाँ उनको कुनै संगठन थिएन । राजनीतिक रिपोर्टरका रूपमा निर्वाचनको समाचार दिँदै गर्दा मैले के देखेँ भने मोदीलाई मध्यप्रदेशदेखि असम र त्रिपुरासम्म कति लोकप्रियता हासिल छ । आफ्ना गम्भीर कमजोरीका बाबजुद उनी बेदाग भइरहे । भलै त्यो नोटबन्दी नै किन नहोस् । यति मात्र होइन, उनले जनतासँग संवाद गर्ने, व्यक्ति केन्द्रित राजनीतिक युगको सूत्रपात गरिदिए । 

यस दशकमा मोदीको उत्कर्षसँगै र सायद त्यसका कारण पनि कंग्रेसको पतन झनै तीव्रतासाथ भएको छ । युपिए–२ का समयमा सुरु भएको यो पतन शृंखला अझै पनि जारी नै छ । कंग्रेसको नेतृत्व पतन यति गम्भीर छ कि त्यहाँ आशाको कुनै किरण नै देखिँदैन । सन् २००४ मा औपचारिक रूपमा राजनीतिमा कदम राखेका राहुल गान्धी पार्टीमा उनले खेलेको भूमिकाका कारण कम अन्य कारणले समाचारमा आइरहे । सन् २०१४ को निर्वाचनमा कंग्रेस जम्मा ४४ सिटमा खुम्चिनु आफैँमा एउटा ऐतिहासिक घटना र यस दशकको उल्लेख्य राजनीतिक परिघटना थियो । यो दशक गठबन्धनको राजनीतिलाई अघि बढाउने मामिलामा एक–अर्काको घोर विरोधीसँग पनि हात मिलाउने दशकका रूपमा दर्ज रहनेछ । र, यो गठबन्धन मुख्यतः मोदी–शाहको सामना गर्नका लागि उभिएको थियो । यसका साथै वाम दलको पतन पनि एउटा ठूलो राजनीतिक परिदृश्य हो । सन् २०११ मा ममता बनर्जीको तृणमुल कंग्रेसले वाम दलको गढ मानिएको पश्चिम बंगालमा कब्जा जमायो भने सन् २०१७ मा त्रिपुरामा भाजपाले कम्युनिस्टलाई सत्ताबाट बेदखल गरिदियो । यति हुँदाहुँदै पनि केजरिवालको निर्माण जुन तत्वले भएको छ, पक्कै पनि त्यसले उनलाई कमजोर बनाइदिएको छ । तर, पनि केजरिवालको उदय भारतीय राजनीतिक इतिहासमा पछिल्लो दशककै सबैभन्दा ठूलो सफलताको चाखलाग्दो र आकर्षक कथा हो, यसलाई नदेखेझँै गर्न मिल्दैन ।

(तिवारी द प्रिन्टकी सह–सम्पादक हुन्)
द प्रिन्टबाट 

सुझावित समाचार