विश्वकप लिग– २ तालिका सार्वजनिक, नेपालले ओमानमा खेल्ने

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिज ओमानमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार लिग– २ को खेल ओमानमा २०२१ को १९–२८ मार्चसम्म हुनेछ । यो खेल ओमानको अल अमरितमा हुने आइसिसीले जनाएको छ । कोरोनाका कारण आइसिसीले विश्वकप लिग– २ का स्थगित ९६ खेल तालिका सार्वजनिक गरेको हो । यो २०२१, २०२२ र २०२३ मा गरी १४ सिरिज हुनेछ । यो सिरिजमा २१ त्रिदेशीय एकदिवसीय सिरिज चल्नेछ । 

सिरिजको पुछारमा रहेका चार राष्ट्रले ग्लोबल छनोटबाट आउने राष्ट्रसँग विश्वकप छनोटको प्ले अफ खेल्नेछ । नयाँ खेल तालिकाअनुसार नेपालले जुलाईमा स्कटल्यान्ड र नामिबिया सम्मिलित सिरिजमा समेत सहभागिता जनाउनेछ । गत वर्षको माघमा नेपालले लिग–२ को आयोजना गरेको थियो । जसमा नेपालसहित ओमान र अमेरिकाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोतिगामा ओमानले सबै चार खेलमा जित निकालेको थियो । नेपालले अमेरिकामाथि जित निकालेको थियो । यो सिरिजमा नेपालले दुई हार र जित निकालेको थियो । 

आइसिसीको तालिकाअनुसार २०२२ को फेब्रुअरीमा नेपालले टियू मैदानमा पपुवान्युगिनी र युएईविरुद्ध पनि सिरिज खेल्नेछ । त्यसपछि नेपालले २०२२ को मार्चमा नामिबिया र स्कटल्यान्डसँगको सिरिज खेल्न नामिबियाको यात्रा गर्नेछ । यसैगरी २०२२ को जुलाईमा अमेरिकाले आयोजना गर्ने सिरिजमा नेपाल र ओमानले सहभागिता जनाउनेछन् । त्यसपछि २०२२ को २२ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म नेपालले पपुवान्युनिगनीमा प्रतिस्पर्धा गर्न जानेछ । आइसिसी विश्वकप डिभिजन लिग– २ को अन्तिम सिरिजमा नेपालले युएईमा पपुवान्युगिनी र युएईविरुद्ध खेल्नेछ । यो २०२३ को फेब्रुअरीमा हुनेछ । 

लिग– २ सिरिजम सहभागी राष्ट्रहरूको अन्तिम तालिकामा शीर्ष तीन स्थान आउने राष्ट्रले विश्वकपको मुख्य छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । एकदिवसीय विश्वकप छनोट २०२३ मा हुनेछ । यो प्रतियोगिता जिम्बावेमा १८ जुनदेखि ९ जुलाई २०२३ सम्म चल्नेछ । यहाँ दश राष्ट्रले छनोट खेल खेल्नेछन् । शीर्ष दुई राष्ट्र मात्र विश्वकपमा सहभागी हुनेछन् । 
 

सुझावित समाचार