कोरोना संक्रमणबाट शैलुङ- ७ का वडाध्यक्ष लामाको मृत्यु

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

दोलखाको शैलुङ गाउँपालिका- ७ फस्कुका वडाध्यक्ष प्रेम भनिने धावा वाङगेल लामाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

एक साताअघि निमोनियाको लक्षण देखिएपछि उपचारका लागि काठमाडौं लगिएका लामाको उपचारको क्रममा मृत्यु भएको हो ।  वडाध्यक्ष लामाको किस्ट मेडिकल कलेजमा मृत्यु भएको शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले जानकारी दिए । 

वडाध्यक्ष लामालाई दुई साताअघि रुघाखोकी देखिएको थियो । उनले सुरुमा स्थानीय स्वास्थ्य संस्थामा उपचार गराए पनि अवस्था गम्भीर बन्दै गएपछि २१ मंसिरमा काठमाडौंको हेल्पिङह्यान्ड अस्पतालमा भर्ना गरिएको थियो । 

५६ वर्षीय लामाको दुई दिन हेल्पिङह्यान्डमा  उपचार गराए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई २३ मंसिरमा किस्ट मेडिकल कलेजमा भर्ना गरिएको पूर्वपर्यटनमन्त्रीसमेत रहेका नेकपाका नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिए । 

वडाध्यक्ष लामाको हेल्पिङह्यान्ड अस्पतालले २१ मंसिरमा गरेको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आए पनि किस्ट मेडिकल कलेजमा २३ मंसिरमा गरेको पिसिआर परिक्षणमा रिपोर्ट पजिटिभ आएको थियो । 

लामा तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् ।

सुझावित समाचार