फेवाताल अतिक्रमण गर्ने सल्बलाए : अतिक्रमण गरी बनाइएका संरचना भत्काउन कस्सिए स्थानीय निकाय

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

फेवाताल फैलावट बढाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा ढिलाइ हुँदा भूमाफियाहरूले तालकिनारमा अवैध संरचना बढाउने क्रमलाई तीव्रता दिएका छन् । 

तालको खपौँदी क्षेत्रमा यसरी बनाइएको संरचनालाई पोखरा महानगरले डोजर प्रयोग गरेर शनिबार र आइतबार भत्काएको छ । 

केही दिन अगाडिदेखि बनाउन सुरु गरिएको पक्की पर्खालबारे सामाजिक सञ्जालमा तस्बिरसहित टिप्पणी हुन थालेपछि महानगरले त्यो संरचना भत्काइदिएको हो । 

आफूले निरन्तर आग्रह गर्दा पनि अवैध संरचना बन्ने क्रम नरोकिएपछि डोजर नै चलाउनुपरेको पोखरा– १८ का वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए । 

‘सर्वोच्चको आदेशअनुरूप फटाफट ताल संरक्षणको काम भएको भए अहिले यसरी ताल अतिक्रमण गर्ने आँट नै हुने थिएन । हामीले आग्रह गर्दा पनि अतिक्रमण गरेर पर्खाल लगाउने काम अगाडि बढेपछि बाध्य भएर डोजर चलाएका हाैँ,’ उनले भने । 

स्थानीयका अनुसार खगराज आचार्यको जग्गामा व्यवसायी दीपेश श्रेष्ठले ती संरचना निर्माण गरेका हुन् ।

महानगरले शनिबार अवैध रूपमा बनेको वाल संरचना भत्काइदिएपछि रातारात डेढ सय मानिस जम्मा गरेर पुनः पर्खालको जग राख्ने काम भएपछि आइतबार पर्खाल भत्काइनुका साथै निर्माणका लागि लगिएका सामग्रीसमेत महानगरले उठाएको छ ।

पहारीकाे नाममा लालपुर्जा रहेको उक्त जग्गामा यसअघि प्याराग्लाइडिङ ल्यान्डिङ स्थल थियो । प्याराग्लाइडिङ ल्यान्डिङ गरेबापत विभिन्न प्याराग्लाइडिङ कम्पनीबाट उनले भाडा लिने गरेका थिए ।

तर रेस्टुरेन्ट व्यवसायीले बढी भाडा दिने भनेपछि उनले प्याराग्लाइडिङ ल्यान्डिङ स्थलमा रेस्टुरेन्ट बनाउन दिएका थिए । 

स्थानीय भूपालसिंह ढकालले माफियाहरूले ताल साँघुरिएसँगै निस्कने जग्गामा कब्जा जमाइहाल्ने गरेको नयाँ पत्रिकालाई बताए । 

‘तालको किनारा विभिन्न कारणले खुम्चिन्छ अनि माफियाहरूले यसरी नै भूमि बढाउने काम गर्छन् । यहाँ मात्र होइन, तालको अधिकांश किनारामा यस्तैगरी अतिक्रमण गर्ने काम भएको छ,’ उनले भने । 

वडाध्यक्ष थापाका अनुसार फेवातालको त्यस क्षेत्रमा पछिल्लो क्रममा मापदण्ड मिचेर अवैध संरचना बनाउने होडबाजी नै चल्ने गरेको छ । पहारीको भन्दा ३०–४० मिटर पश्चिमतर्फ पछिल्लो एक महिनामा दुईवटा संरचना बनिसकेको छ।

पछिल्लो ६ महिनामा १० वटा अवैध संरचना बनेको वडाध्यक्ष थापाले जानकारी दिए ।

वडाध्यक्ष थापाले अब फेवातालमा कुनै पनि अवैध संरचना बन्न नदिने दृढता व्यक्त गरे । अवैध संरचना बनेको हामी जनप्रतिनिधि टुलुटुलु हेरेर बस्न सक्दैन, उनले भने, ‘जति बनाउँछन्, त्यति नै हामी भत्काइरहन्छौँ ।’

१६ वैशाख ०७५ मा सर्वाेच्चले दिएको फैसलाको पूर्ण पाठअनुरूप आदेश प्राप्त भएको ६ महिनाभित्र फेवातालको चारकिल्ला सीमांकन गरिसक्नुपर्ने हो । तर, अहिलेसम्म सीमांकनको कामसमेत हुन सकेको छैन । 

सुझावित समाचार