३२ महिनामा सक्नुपर्ने नलगाडको डिपिआर चार वर्षमा पनि पूरा भएन

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

३२ महिनाभित्र डिपिआरको रिपोर्ट दिने सहमतिका साथ सुरु भएको नलगाड जलविद्युत् आयोजनाको काम चार वर्ष बित्दा पनि सकिएको छैन । तीनपटक म्याद थप गर्दा पनि विद्युत् उत्पादनगृहमा नमुना जाँचका लागि खोलिएको सुरुङ पूरा नभएको नलगाड जलविद्युत् आयोजनाले जानकारी दिएको छ । 

परामर्शदाता कम्पनी एमडब्लुएच कन्सलटेन्टले डिपिआर ३२ महिनाभित्र सक्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए । जाजरकोट नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा आयोजनास्थल रहेको कुल ४ सय १७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको डिपिआरको तयारीमा नै लामो समय लागेको गुनासो आएपछि मन्त्री पुनले निर्देशन दिएका थिए । 

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल लगेजू सहभागी छलफलमा मन्त्री पुनले तत्काल डिपिआर सक्न निर्देशन दिएको भए पनि अझै काम सुरु हुन नसकेको हो ।

छलफलमा मन्त्री पुनले आयोजना निर्माणका लागि वैदेशिक लगानी जुटाउन सरकार प्रयासरत रहेको जानकारी पनि दिए । जापानी सहयोग नियोग (जाइका)ले नलगाडमा लगानीको इच्छा देखाएको भन्दै उनले विभिन्न चरणमा मन्त्रालय र जाइकाबीच छलफल भइरहेको बताए । यस्तै, वन तथा वातावरणमन्त्री बस्नेतले जाजरकोट र समग्र कर्णालीको मुहार फेर्ने आयोजना निर्माणमा ढिलाइ हुन नहुने बताए ।  

आयोजनाको नलगाड गाउँपालिका–७, दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८, अँधेरी खोलामा आयोजनाको बाँधस्थल छ । नलगाड नगरपालिकास्थित नलगाड खोलामा भूमिगत विद्युत्गृह निर्माण हुनेछ । आयोजनाको कुल ६ किलोमिटर लामो जलाशय र २ सय १० मिटर अग्लो बाँध तथा ८.२ किलोमिटर लामो सुरुङ बन्नेछ । बाँधस्थलदेखि विद्युत्गृहसम्मको पहुँचमार्ग निर्माणको काम यसअघि नै सकिएको छ ।

९०% मुआब्जा वितरण
नलगाड जलविद्युत् आयोजनाका लागि कुल ४ हजार ६ सय ५ रोपनी जमिनको मुआब्जा दिनुपर्ने आयोजनाले जनाएको छ । त्यसका लागि २ अर्ब ७६ करोड रुपैयाँ वितरण गर्नुपर्ने भए पनि हालसम्म २ अर्ब ५० करोड रुपैयाँ मुआब्जा दिइसकेको छ । यो कुल मुआब्जाको करिब ९० प्रतिशत हो । ठूलो भेरी नदीको शाखा नदीमा बन्ने आयोजना निर्माणका लागि १ अर्ब ४२ अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान छ । 

सुझावित समाचार