जंंगली हात्तीको समूहले सिरहा लहानसँगै जोडिएको सप्तरीको सुरुङ्गा नगरपालिका-१ चहका मुसहर बस्तीमा डेढ दर्जन बढी घर भत्काएको छ ।
बस्ती नजिकै पर्ने चुरे जंगलबाट गाउँ पसेका पाँचवटा जंगली हात्तीको समूहले शुक्रबार राति ९ बजेतिर घर भत्काउनुका साथै अन्नपात खाइदिएको स्थानीय हात्तीपीडित जतरु सदायले बताए ।

‘खाना खाएर सुतिसकेपछि गाउँ पसेको हात्तीको समूहले घर भत्काउन थालेपछि जहान बालबच्चा घिसार्दै पल्लो गाउँ पुगेर ज्यान जोगायौँ’ सदायले भने ‘हात्तीको समूहले घर भत्काउनुका साथै मजदुरी गरेर राखेको अन्नपात समेत खाइदिएपछि बिचल्ली भएको छ ।’
बस्तीका अर्का हात्तीपीडित रामलोचन सदायले भने ‘बस्तीमा एक घण्टा भन्दा बढी समयसम्म हात्तीको समूहले १८ वटाभन्दा बढी घर भत्काएर बोरा, माटोको कोठीमा राखेको धान, चामल समेत खाइदियो ।’
छिमेकीको घरमा आश्रय लिएर ज्यान जोगाएको भएपनि घर भत्किएकाले चिसोमा कसरी गुजारा गर्ने भन्ने चिन्ता थपिएको उनले बताए ।
बस्तीमा हात्ती पसेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भेडिया, प्रहरी चौकी लक्ष्मीपुरबाट खटिएको प्रहरीले पुगेर स्थानीय बासिन्दाको सहयोगमा आगो बालेर टिन ठटाएपछि हात्ती उत्तरतिर लागेको गाउँलेहरुले बताए ।

मुसहर बस्तीमा जंगली हात्तीको समूहले वितण्डा मच्चाएपछि शनिबार बिहान सुरुङ्गा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरी, सुरुङ्गा १ का कार्यबाहक वडाध्यक्ष इन्द्रसाद आलेसहितको जनप्रतिनिधिहरुको टोलीले बस्तीको अनुगमनसँगै पीडितहरुसँग भेटघाट गरेको छ ।
हात्तीपीडित बस्तीको अनुगमनपछि नगर प्रमुख चौधरीले प्रहरी र वडा कार्यालयसँगको समन्वयमा क्षतिको विवरण यकिन पीडितहरुलाई तत्कालका लागि केही राहतको व्यवस्थापन गरिने बताए ।
पछिल्लो मंसिरको दोस्रो सातादेखि सप्तरीको उत्तर पश्चिमी भेगमा पर्ने सुरुङ्गाको श्रीपुर, खोरिया टोल, लक्ष्मीपुर, दौलतपुर, कडहर्वा, चहका, विषनरिया लगायतका गाउँमा जंगली हात्तीको समूहले घर भत्काउन थालेपछि स्थानीय आतंकित बनेका छन् ।

सिराहा सप्तरीको उत्तरी क्षेत्रमा प्रायः हरेक हिउँदमा पूर्वी भेगबाट चुरे जंगल हुँदै आउने जंगली हात्तीको समूहले स्थानीय बासिन्दाको घर भत्काईदिने, बालीनाली खाइदिने गरेको छ ।
सप्तरीको राजविराजस्थित डिभिजन वन कार्यालयका वन अधिकृत सन्तोष झाले हात्तीको आक्रमणबाट जोगिन सजग रहनुको बिकल्प नरहेको बताए ।
‘संरक्षित जनावर हो, केही गर्न मिल्दैन, यद्यपि मानवीय क्षति हुन नदिन स्थानीय प्रशासन, वन र प्रहरीको टोलीले प्रभावित बस्तीहरुमा पुगेर सजग गराइरहेका छौं’ वन अधिकृत झाले भने ।